१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जुँगु पहिरोमा बेपत्ता भएकाहरुको खोजीमा विज्ञ टोली खटाइने

कान्तिपुर संवाददाता

दोलखा — जुँगु पहिरोमा हराइरहेका दुई जनाको खोजी गर्न प्रहरीको विशेष खोजी टोली झिकाइने भएको छ । ७७ घरमा क्षति पुग्नेगरी शुक्रवार राति गौरीशंकर गाउँपालिका–१ स्थित पहिरोमा हराएका ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निशान खड्काको खोजीका लागि विज्ञ टोली झिकाइने भएको हो । प्रहरीले मंगलबारबाट उनीहरुको खोजी गर्नेछ । 

८ वटा बस्तीमा क्षति पुग्नेगरी पहिरो जाँदा उनीहरू बेपत्ता भएका हुन् । पहिरोपछि ७७ घरपरिवारका दुई सय ८२ जनाको बिल्लीबाठ भएको छ । सोमबार जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले ७७ परिवारका लागि स्कुल, स्वास्थ्य केन्द्र र आफन्तको घरहरुमा अस्थायी बसोबास मिलाएको छ ।


उक्त पहिरोले जुँगु आउजाउ गर्ने तीन वटा सडक अवरुद्ध पारेको छ । सडक यातायात टुटेपछि उक्त स्थानमा राहत सामाग्री पुर्‍याउन कठिन भएको प्रमुख पाण्डेले बताए ।

विस्थापितका लागि बासको व्यवस्था गर्न एक साताका लागि विद्यालयहरु बन्द गरिएको छ । स्थायी बासस्थानका लागि उपयुक्त थलोको खोजी गर्न मंगलबारबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिकहरुलाई पहिरोस्थलमा पठाउने पनि बैठकले निर्णय गरेको छ ।


स्थायी बासलगायत अन्य सहायताका लागि सोमबार सङ्घीय सांसद पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल र प्रदेश सांसद पशुपति चौलागाईंसहितको टोली पहिरोस्थल पुगेका छन् ।

प्रकाशित : श्रावण २०, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?