१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विस्थापितहरु बिचल्लीमा, छिमेकीले गाह्रो मान्न थाले 

कान्तिपुर संवाददाता

सिन्धुलीमाढी — बाढीपहिरोले विस्थापित भएकाहरू कष्टकर दैनिकी बिताइरहेका छन् । कमलामाई नगरपालिका ९ काउछेकी बगमाया मगरको घर पहिरोले पुरिएपछि छिमेकमा आश्रय लिएर बसिरहेकी छन् । तर, अब छिमेकीलाई समेत गाह्रो भइसक्यो ।

उनीहरूले विकल्प खोज्न भन्न थालेको मगरले बताइन् । उनले भनिन्, ‘छिमेकीले अब त केही व्यवस्था गर दुई/दुई परिवार हामीलाई पनि गाह्रो भइसक्यो भन्न थालिसकेका छन् । एक महिना हुन लागिसक्यो सधैंभरि त हामी राख्न सक्दैनौ नि भन्छन् । के गर्नु निस्केर कता जानु, बसौँ छिमेकीले किचकिच गरिरहन्छन् ।’

घर बनाएको २ वर्ष बित्न नपाउँदै उनको घर पहिरोमा पर्‍यो । जसोतसो ऋण धन गरेर बनाएको घर माथिबाट आएको पहिरोले पुरिएपछि अहिले उनीहरूको बिचल्ली भएको हो । घर बनाउन साहुबाट लिएको २ लाख रुपैयाँ ऋणसमेत तिर्न बाँकी रहेको उनले बताइन् । ‘खाईनखाई ऋण धन गरेर बल्लबल्ल बनाएको घर २ वर्ष हुनै नपाई पहिरोले पुरिहाल्यो,’ उनले भनिन्, ‘यहाँ बसेर ऋण तिर्न नसकिने भयो भनेर श्रीमान् विदेश जानुभयो । विदेशमा पनि राम्रो कमाइ छैन भन्छन् । त्यही पनि ऋण तिर्न नपाई यता घर पहिरोले पुर्‍यो ।’

काउछेमा मात्र बाढीपहिरोबाट ८ घर पुरिए । काउछेकै विनोद विक पनि पहिरोले घर पुरिएपछि छिमेकीकोमा बास बसेको महिना भइसक्यो । उनी पनि विकल्पको खोजीमा भौंतारिरहेका छन् । त्यस्तै, अर्का स्थानीय गोमा बुढाथोकीको पनि घर पहिरोले पुरिएपछि छिमेकीको घरमा शरणमा छिन् ।

एकल महिला उनी जसोतसो गरेर बनाएको घर माथिबाट आएको पहिरोले पुरिएपछि बिजोग भएको दुःखेसो पोखिन् । जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार जिल्लामा ७० परिवार विस्थापित भएका छन् ।

दुधौली नगरपालिकाका १८ परिवार, सुनकोसी गाउँपालिकामा १७ र कमलामाई नगरपालिकाका १४ परिवार विस्थापित भएका छन् । यसैगरी, गोलन्जोर गाउँपालिकाको १३, फिक्कल गाउँपालिकाको ७ र ध्याङलेख गाउँपालिकाको १ परिवारको घर पूर्ण रूपमा क्षति भएकाले उनीहरू विस्थापित भएको प्रजिअ गौतमले बताए । ‘अहिले उनीहरू आफन्त र छिमेकीकोमा शरण लिएरको बसिरहेका छन्,’ उनले भने ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?