भरतपुरमा फोहोर फाल्नेलाई जरिवाना

कान्तिपुर संवाददाता

चितवन — भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा जथाभावी फोहोर फाल्ने र बाल्नेलाई जरिवाना गर्न थालेको छ । महानगरले यसका लागि टोली नै खटाउने गरेको छ ।

महानगरले फोहोर व्यवथापनमा हेल्चेक्र्याइँ गर्नेलाई सुरुमा पाँच हजार र त्यसपछि पनि अटेर गरेको भेटिएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने नियम बनाएको छ । सार्वजनिक यातायातमा डस्टबिन नराखेमा सुरुमा एक हजार रुपैयाँसम्म जरिवाना गर्ने महानगरको नियम छ । त्यसैगरी, प्लास्टिक खुला रूपमा बालेमा पहिलो पटक १० हजार, दोस्रो पटक १५ र तेस्रो पटक २० हजार रुपैयाँ जरिवाना हुने छ ।


जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने हानिकारक फोहोर सार्वजनिक स्थान वा सडकमा थुपारे ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवना गर्ने महानगरको प्रावधान छ । महानगरको सामाजिक महाशाखा प्रमुख रहेका उपसचिव प्रद्युम्नप्रसाद उपाध्याय नेतृत्वको टोली यो काममा खटेको छ । उनको टोली बुधबारदेखि बजारमा डुल्न थालेको छ ।


‘महानगर क्षेत्रलाई सफा र सुन्दर राख्न फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन र अन्य योजनाहरू ल्याएका छौं । त्यसैको कार्यान्वयन सुरु भएको हो,’ उपाध्यायले भने । भरतपुर महानगरमा दैनिक ६४ टनभन्दा बढी फोहोर उत्पादन हुने गर्छ ।


०७३ जेठदेखि भरतपुर क्षेत्रमा युवाहरूको एक समूह सरसफाइ अभियानमा संलग्न छ । वे ग्रुप नामक उक्त संस्थाका अध्यक्ष भोजनारायण कँडेल बजार क्षेत्रमा पहिलाको भन्दा सुधार भए पनि फोहोर मैला व्यवस्थापन अझै पनि चुनौतीपूर्ण नै रहेको बताउँछन् ।

प्रकाशित : श्रावण २५, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?