२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रदेशसभामा १० करोडको संरचना

कान्तिपुर संवाददाता

मकवानपुर — प्रदेशसभा सचिवालयमा विभिन्न प्रयोजनका लागि करिब १० करोड रुपैयाँबराबरको स्थायी भौतिक संरचना निर्माण गरिने भएको छ । 

प्रदेश सरकारले ०७६/०७७ मा प्रदेशसभा सचिवालयअन्तर्गत प्रदेशसभा भवन, सत्ता र प्रतिपक्षी दलको कार्यालय, सभामुख र उपसभामुखको सचिवालय भवन निर्माण, प्रहरी ब्यारेक, पुस्तकालय तथा मिडिया सेन्टर निर्माणका लागि करिब दस करोड नौ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।


‘चालु आर्थिक वर्षभित्रैमा भौतिक संरचना निर्माण कार्य सम्पन्न हुने गरी काम गर्नेछौं । तत्काल हामी प्रदेशसभाको भवन निर्माण कार्य अगाडि बढाउने तयारीमा रहेका छौं,’ प्रदेशसभा सचिव रामशरण घिमिरेका अनुसार करिब तीन महिनाभित्रै तयार हुने गरी प्रिफयाको भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए ।


प्रदेशसभा भवन निर्माणका लागि प्रेदश सरकारले चार करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । हाल प्रदेशसभा हेटौंडा–१०, टीसीएनरोडस्थित तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ । ‘निकै साँघुरो र समस्याका बीचमा हामीले प्रदेशसभाको बैठक सञ्चालन गरिरहेका छौं ।


विशेषगरी प्रदेशसभा सञ्चालन हुने हलको मध्यभागमा रहेको पिलरले हामीलाई समस्या पारिरहेको छ,’ उनले भने । प्रदेशसभा सांसदहरूले प्रदेशको स्थायी राजधानी र नामकरण नटुंगिँदासम्म भौतिक संरचना नबनाउन पटक/पटक प्रदेशसभा बैठकमा आवाज उठाएको कारण गत आर्थिक वर्षमा उक्त प्रक्रिया अगाडि बढे पनि बीचैमा रोकिएको थियो ।


यसैगरी, प्रदेशसभा सचिवालयभित्रै चालु आर्थिक वर्षमा सत्तापक्ष र विपक्षी दलको कार्यालय निर्माण गर्ने तयारी भइरहेको छ । हाल प्रतिपक्ष दलका लागि सानो भवन उपलब्ध गराइँदै आएको भए पनि सत्तापक्षको कार्यालय अझैसम्म खुलेको छैन । सत्तापक्षको संसदीय दलको बैठक मुख्यमन्त्री क्वार्टर वा नेकपा मकवानपुरको कार्यालयमा बसिरहेको छ । ‘प्रदेशसभा सचिवालयको हाताभित्र नै सत्ता र प्रतिपक्ष दलको भवन निर्माण गर्ने तयारी हामीले अगाडि बढाइरहेका छौं । अब छिट्टै टेन्डर प्रक्रिया पनि अगाडि बढ्छ,’ उनले भने ।


यसैगरी, संसद् सचिवालयले चालु आर्थिक वर्षमा एक करोड २० लाख रुपैयाँ खर्चेर प्रदेशसभाअन्तर्गतका विभिन्न समितिहरूको कार्यालयसमेत निर्माण गर्ने भएको छ । हाल समितिको कार्यालय नहुँदा समितिको बैठकहरू प्रदेशसभाको हल, होटलहरूमा बसिरहेको छ । प्रदेशसभाअन्तर्गत विभिन्न पाँचवटा समिति रहेका छन् ।


प्रदेशसभामा रहेका एक सय नौजना सांसदले उक्त समितिमा प्रतिनिधित्व गर्नेछन् । यसै वर्ष प्रदेशसभामा पुस्तकालय र र ई–लाइब्रेरी निर्माणका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ विनियोजन गरेको र त्यसका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । प्रदेशसभाभित्रै भीआईपीका सवारी तथा साधारण पार्किङ निर्माणका लागि ४० लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?