१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

किसानलाई अनुदान निरन्तर

रमेशकुमार पौडेल

चितवन — कृषकहरूलाई माडी नगरपालिकाले यो वर्ष पनि अनुदान वितरण गर्ने भएको छ । अघिल्लो वर्ष कृषि क्षेत्रमा ३ करोड ५० लाख रुपैयाँ अनुदान दिएको नगरपालिकाले त्यो कार्यक्रम प्रभावकारी देखिएपछि यस वर्ष पनि निरन्तरता दिने जनाएको हो ।

मेयर ठाकुर ढकालले भने, ‘गत वर्षको प्रभाव राम्रो देखियो । किसानहरू प्रोत्साहित भएको पाइयो । त्यसैले यो वर्ष पनि अनुदान रकमलाई निरन्तरता दिएका छौं ।’ यो वर्ष कृषि क्षेत्रमा अनुदानका लागि साढे ४ करोड रुपैयाँ छुट्याएको उनले जानकारी दिए ।


मेयर ढकालका अनुसार माडी नगरपालिकाले व्यावसायिक कृषि तथा पशुपालनका लागि चार प्रतिशत ब्याजमा ऋण दिने गरेको छ । अघिल्लो वर्ष ३२४ परिवारले साढे ११ लाख रुपैयाँ ऋण लगेको ढकालले बताए । अति विपन्न वर्गका किसानलाई बाख्रा पाल्न साढे २२ लाख रुपैयाँ अनुदान दिइएको थियो । यस्तै ‘एक भाइ एक गाई’ कार्यक्रमअन्तर्गत ४५ जनाका लागि १८ लाख रुपैयाँ लगानी भएको छ ।


माडी नगरपालिकाले सबैभन्दा धेरै दूध उत्पादनमा आधारित अनुदान दिएको छ । नगरपालिकाले दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिने गरेको छ । यसका लागि अघिल्लो वर्ष ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको थियो । माडीमा उत्पादन भएको १२ लाख १६ हजार ६६७ लिटर दूधका लागि उक्त अनुदान वितरण भएको हो । कृत्रिम गर्भधानबाट सुत्केरी हुने गाईभैंसीलाई हजार रुपैयाँ भत्ता दिने व्यवस्था पनि माडी नगरपालिकाले मिलाएको छ ।


विभिन्न सात शीर्षममा कृषिमा अनुदान दिँदै आएको मेयर ढकालले बताए । माडी माछापालनका लागि अग्रणी मानिन्छ । नगरपालिकाले अघिल्लो वर्ष माछा पोखरी निर्माणमा पनि अनुदान दिएको थियो । माछा पोखरी खन्न २३ जनाले ११ लाख ७० हजार रुपैयाँ अनुदान पाएका थिए । पशुपन्छी तथा कृषि बिमाको प्रिमियममा नगरपालिकाले २० प्रतिशत अनुदान दिने गरेको छ ।


व्यावसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज माडी नगरका सचिव गंगा बस्ताकोटी नगरपालिकाको अनुदानले किसानहरूले लाभ लिएको बताउँछन् । उनका अनुसार तीन वर्षअघिसम्म माडीमा दुध उत्पादन खासै फस्टाएको थिएन । तीन वर्षयता धेरैजनाले गाई भैंसी पाल्न थालेका छन् ।


नगरपालिकाले दिएको रकम ठूलै जस्तो देखिए पनि किसानलाई अझै अपुग भएको उनले बताए ।

‘यो अनुदान पनि ठिकै छ । नगरपालिकाले धेरै नै दिए झैं लागेको होला हामीलाई भने अझै पर्याप्त छैन । कृषिलाई व्यवसायीककरण गर्नका लागि आवश्यक सामग्री खरिदमा ५० प्रतिशतसम्म अनुदान र गोठ सुधारजस्ता कार्यक्रममा ध्यान दिनुपर्छ,’ बस्ताकोटीले भने । माडीमा दैनिक ४५ सय लिटर दूध उत्पादन हुने गरेको छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?