२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मदिरा बनाउन छाडेर पशुपालन

कान्तिपुर संवाददाता

हेटौंडा — सीतामाया बल तामाङको दैनिकी अहिले फेरिएको छ । बिहान उठ्नेबित्तिकै उनी हातमा हँसिया र नाम्लो लिएर घाँस लिन जंगलतिर जान्छिन् । झमझम पानी परेको होस् कि चर्को घाम उनी राँगालाई घाँस ल्याउन जंगल जाने गरेकी हुन् । उनको केही महिनादेखि यो दैनिकी सुरु भएको हो । 

दशकयता उनी खाद्यान्न कुहाएर मदिरा उत्पादन गरेर बिक्री गर्दै परिवार पाल्दै आएकी थिइन् । मकवानपुर गढी गाउँपालिका ४ की ४२ वर्षीया सीतामायाका आधा दर्जन छोराछोरी छन् । घरेलु मदिरा उत्पादन र बिक्री गरेर जेनतेन परिवारको प्राण धान्दै आएकी थिइन् । अहिले उनको मदिरा उत्पादन गर्ने छाप्रामा तीन वटा राँगा पालिएका छन् ।

त्यही राँगालाई खुवाउन उनी सधैं जंगल गएर घाँस ल्याउने गरेकी छन् । राँगा पाल्न छोराछोरी दुवैले उनलाई सहयोग गरेका छन् । उनको मात्र होइन, छिमेकी अलिमाया मगरको पनि दिनचर्या फेरिएको छ । उनी पनि खाद्यान्नको मदिरा उत्पादन गरेर बिक्री गर्दै आएकी थिइन् ।


घरेलु मदिरा उत्पादन र बिक्री गरेर सिंगो परिवार जेनतेन पालेकी थिइन् । विगत एक महिनादेखि उनले मदिरा उत्पादन र बिक्री गर्ने कार्य बन्द गरेकी छन् । बंगुर हुर्काउन व्यस्त छिन् । उक्त बस्तीकै कृष्णमाया पाख्रिनको दैनिकी फेरिएको छ ।


एक महिना अघिसम्म उनी पनि खाद्यान्नको मदिरा उत्पादन र बिक्री गर्दै आएकी थिइन् । अहिले मदिरा उत्पादन गर्ने छाप्रो भत्काएर बाख्राको खोर बनाएर आधा दर्जन बाख्रा पालेकी छन् । मदिरा बनाउने र बिक्री गर्ने हातले अहिले जंगलमा गएर घाँस काटेर ल्याउने र कहिले बाख्रा गोठाला जाने गर्छिन् । ‘रक्सी बनाउने र बिक्री गर्ने काम छोडियो,’ पाख्रिनले भनिन्, ‘अरू व्यवसाय गर्न पुँजी नभएकाले जाँडरक्सीको काम गरेको हो ।’


हेटौंडा उपमहानगरपालिकासँग जोडिएको मकवानपुरगढी गाउँपालिकाले घरेलु मदिरा उत्पादन र बिक्रीमा नियन्त्रण गर्ने उद्देश्यले उक्त व्यवसायमा रहेकाहरूलाई वैकल्पिक व्यवसाय सञ्चालन गर्न प्रोत्साहन अनुदान कार्यक्रम राखेको थियो । उक्त अनुदान कार्यक्रमअन्तर्गत मकवानपुरगढी गाउँपालिका ४ मा रहेका सीतामाया, अलिमाया र कृष्णमायासहित ११ परिवार घरेलु मदिरा उत्पादन र बिक्री गर्ने व्यवसाय छाडेर अहिले बाख्रा, राँगा र बंगुर पाल्न थालेका छन् ।


वैकल्पिक व्यवसाय प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत उनीहरूलाई गाउँपालिकाले जनही ५०/५० हजार रुपैयाँ अनुदान दिएको थियो । ‘उक्त अनुदान रकमले राँगा, बाख्रा र बंगुर किनेर ल्याएर पाल्न थालेका छन्,’ गापा अध्यक्ष विदुर हुमागाईंले भने, ‘घरेलु मदिरा र बिक्री गर्ने कार्य छोड्छौं भनेकाले गापाले वैकल्पिक व्यवसाय सञ्चालन गर्न ५०/५० हजार रुपैयाँ अनुदान रकम दिएको हो ।’


गापाले उक्त कार्यक्रम अति विपन्न जनजाति महिलाहरूलाई मात्र उपलब्ध गराउने नीति बनाएको थियो । उनीहरूले सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गरेर काम वैकल्पिक व्यवसाय गरिरहेका छन् । ‘अनुदान रकमले उनीहरूले बाख्रा, बंगुर र राँगा किनेर ल्याएका छन्,’वडाध्यक्ष रामप्रसाद तिम्लसिनाले भने,‘अनुदानको रकम हिनामिना गर्लान भनेर वेला वेलामा अनुगमन गर्ने गरेका छौ ।’


घरेलु मदिरा उत्पादनका कारणले खाद्यान्न दुरुपयोग हुने र अर्कोतर्फ गाउँघरमा मदिराकै कारण आपराधिक घटनाहरू हुने भएकाले त्यसलाई नियन्त्रण गर्न गाउँपालिकाले घरेलु मदिरा नियन्त्रण नीति अवलम्बन गरेको गापाको प्रमुख प्रशाकीय अधिकृत भीम परियारले वताए ।


गाउँपालिकाको हालैसम्पन्न चौथो गाउँसभाबाट सामाजिक व्यवहार सुधार ऐन, २०७६ समेत स्वीकृत गरेको छ । जसमा मदिरा ,फजुल खर्च नियन्त्रण तथा जुवातास जस्ता सामाजिक विकृतिहरूलाई नियन्त्रण र निरुत्साहित गर्ने प्रावधानहरू उल्लेख गरिएको छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?