२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

स्वास्थ्य शिक्षण संस्था मापदण्डविपरीत 

फातिमा बानु

काठमाडौँ — राजधानीमा सञ्चालित केही स्वास्थ्य शिक्षण संस्थाले मापदण्ड मिचेको भेटिएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले शिक्षण संस्थामा गरेको निरीक्षणले ती संस्था मापदण्डविपरीत चलेको देखिएका हुन् ।

परिषद्ले बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेजमा निरिक्षण गर्दा डेन्टल ल्याब विद्यार्थी संख्या र पूर्वाधारबीच तालमेल मिलेको छैन । ल्याब, पुस्तकालय र प्रयोगात्मक कक्षाका लागि चाहिने सामग्री अत्यन्तै न्यून छन् ।


पुस्तकालय भए पनि आवश्यक पुस्तक छैनन् । डेन्टलले मापदण्ड मिचेर एउटै परिसरमा प्लस टु र स्नातक तहका कलेज सञ्चालन गरिरहेको छ । कक्षाकोठा हेर्दा प्रयोग नभएको जस्तो देखिन्छ । शौचालय र परिसरमा न्यूनतम सरसफाइसमेत नराखी कलेज सञ्चालन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।


बानेश्वरको समाज स्कुल अफ डेन्टिस्ट्रीले विद्यार्थीलाई आधारभूत अभ्याससमेत गराएको छैन । कक्षाकोठा साँघुरा र टेबलकुर्सी पुराना छन् । प्रयोगात्मक अभ्यासका कुनै अस्पतालसँग सम्झौता नगरी कलेज चलिरहेको छ । भौतिक संरचना कलेज सञ्चालनका लागि उपयुक्त नभएको भन्दै परिषद्ले पुननिर्माण गरेर मात्रै कलेज चलाउन सुझाव दिएको छ ।


राजधानीको मोडल हस्पिटल अफ ओरल हेल्थले मापदण्ड नपुगेका पाठ्यसामग्री पढाइरहेको छ । हावा र प्रकाश पनि नछिर्ने अँध्यारो कोठामा कक्षा चलाएको छ । भवन पनि कलेजका लागि अनुपयुक्त भएको प्रतिवेदनमा उल्लेख छ । धुम्बाहारीस्थित हिमाल डेन्टल हस्पिटल इन्स्टिच्युटले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउँदैन । 


अभ्यासका लागि कुनै अस्पतालसँग सम्झौतासमेत गरेको छैन । पुस्तकालय र क्लिनिकमा आवश्यक सामग्री छैनन् । बालाजुस्थित स्वास्थ्य तथा वातावरण विकास केन्द्रले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउनका लागि कुनै स्वास्थ्य संस्थासँग सम्झौता गरेको छैन । परिषद्बाट जारी कुनै आचारसंहिता पूरा गरेको छैन । कक्षाकोठा, पुस्तकालय र ल्याब सबैमा मापदण्ड नपुगेको प्रतिवेदनमा उल्लेख छ ।


त्यस्तै वनस्थलीस्थित सामुदायिक स्वास्थ्य प्रतिष्ठानले न्यूनतम पूर्वाधारबिनै संस्था चलाइरहेको छ । पुस्तकालय छ, पुस्तक छैनन् । प्रयोगशाला छ, सामग्री छैनन् । पठनपाठनमा आवश्यक लिड, एप्रोन, मार्करसमेत अपुग छन् । महादेवटारस्थित लर्डबुद्ध कलेज पनि पूर्वाधारबिना चलेको छ । कलेजमा पूर्णकालीन शिक्षक छैनन् । फार्मेसी र ल्याब पनि कमजोर छन् । तीनकुनेस्थित एकेडेमी अफ हेल्थ साइन्सको आफ्नै खेलमैदान नहुँदा भाडामा मैदान दिएर विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराइरहेको छ । जबकि परिषद्द्वारा जारी न्यूनतम पूर्वाधारमा कलेजको आफ्नै मैदान हुनुपर्ने उल्लेख छ ।


राजधानीको बीपी मेमोरियल हेल्थ इन्स्टिच्युट रिसर्च सेन्टरले मापदण्डविपरीत साना कोठामा कक्षा सञ्चालन गरिरहेको छ भने प्रयोगशालामा आवश्यक सामग्री छैनन् । शिक्षकका नियुक्ति फाइल पनि व्यवस्थित गरेको छैन । सानो भर्‍याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले न्यूनतम पूर्वाधार पुर्‍याएको छैन । साँघुरा कक्षाकोठा र पुस्तकालय छन् ।


पूर्णकालीन शिक्षक पनि कम छन् । त्यस्तै प्रयोगात्मक सामग्री अपुग छन्, भएका पनि पुराना छन् । कालोपुलस्थित ओम सञ्जीवनी डाइग्नोस्टिक प्रालिले पनि पुराना पुस्तक भरेर पुस्तकालय चलाएको छ । प्रयोगशाला व्यवस्थित छैनन् । परिषद्ले यी संस्थामा पहिले पनि निरीक्षण गर्दा यस्तै समस्या थिए । परिषद्ले दिएको सुझाव र चेतावनी नटेरी कलेजहरू मापदण्डविपरीत सञ्चालन भइरहेका छन् ।


परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीका अनुसार राजधानीमा शिक्षा र स्वास्थ्य सेवाभन्दा पनि व्यापारका लागि खुलेका संस्था बढी विकृत छन् । उनले भने, ‘जति पाए, त्यति स्वास्थ्य शिक्षण संस्था खुलेका छन् । सरकारले नियन्त्रित हिसाबमा मात्रै कलेज खोल्नुपर्ने नीति लिन आवश्यक छ ।’


सरकारले धेरै कलेज खोलेर स्वस्थ जनशक्ति बढाउनुभन्दा थोरै कलेजबाट गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्ने नीति लिनुपर्ने बताउँदै उनले थपे, ‘नियन्त्रण हुन नसके बेरोजगारी र स्वास्थ्यमा गलत अभ्यास बढ्ने खतरा हुने देखिन्छ ।’

प्रकाशित : श्रावण २७, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?