बालुवा निकाल्दा बनाएको खाल्डोमा डुबेर मृत्यु भएका परिवारलाई ५/५ लाख

हरिहरसिंह राठौर

धादिङ — गजुरी–६ स्थित दरिगाल खोलामा बालुवा झिक्न बनाएको खाल्डोमा डुबेर ज्यान गुमाएका परिवारलाई पाँच/पाँच लाख क्षतिपूर्ति दिइने भएको छ । 

बालुवा निकाल्दा बनाएको खाल्डोमा डुबेर मृत्यु भएका परिवारलाई ५/५ लाख

एस्काभेटरले खाडल खनेर बनाएको खोलाको ठूलो तालमा डुबेर गत २५ गते ज्यान गुमाएका २ युवाका परिवारलाई क्षतिपूर्ति दिने भएपछि आफन्तले शव पनि बुझेका छन् ।

गजुरी–७ भस्मेखर्क का २१ वर्षीय भिमबहादुर तामाङ र २३ वर्षीय सुमन स्याङ्तान गहिरो खाडलमा परेर मृत्यु भएपछि आक्रोशित भीडले तीनवटा एस्काभेटरमा आगजनी गर्दै क्षतिपूर्तिको माग गरेका थिए ।

छलफलमा व्यवसायीकातर्फबाट दुवै परिवारलाई ५ लाख दरले क्षतिपूर्ति दिने सहमति गरेपछि मृतकका आफन्तले पोष्टमार्टमपछि शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका दिन आगजनीमा उकास्ने आफन्तजनले क्षतिपूर्ति रकम पाए पछि प्रहरीमा आफूहरुले स्काभेटरमा आगजनी नगरेको निवेदन दिएका छन् ।

घटनास्थल वरपर आगजनी गरिएका ३ वटा उपकरणका मालिकहरुले कांग्रेसका स्थानीय कार्यकर्ता विमला चेपाङ, भिमसेन भण्डारी, नारायण श्रेष्ठ, राधिका चेपाङ लगायत ९ जनाका नाममा उजुरी दिएका छन् । उक्त आगजनीमा संलग्नहरु बारे छानबिन भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?