सडकभरि खाल्डैखाल्डा

कालोपत्रे भत्किएर खाल्डो मात्रै बनेको छैन, पहिरो गएको ठाउामा स्तरोन्नति नहुादा सडक हिलाम्मे छ
कान्तिपुर संवाददाता

रसुवा — पासाङल्हामु मार्गको स्याउबारीदेखि स्याफ्रुसम्मको सडक खण्ड मर्मत नहुँदा जीर्ण बनेको छ । सडकमा कालोपत्रे भत्किएर खाल्डाखुल्डी बनेका छन् । पहिरो गएको ठाउँमा स्तरोन्नति भएको छैन । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडकमा दैनिक सयौं सवारीसाधन आवतजावत गर्छन ।

सडकभरि खाल्डैखाल्डा

वर्षात्को समयमा पासाङल्हामु मार्गको यात्रा झनै कठिन हुने गरेको छ । अहिले पासाङल्हामु मार्ग सडक खण्डको विभिन्न ठाउँ हिलाम्मे छ । हिलोमा दिनहुँ सवारीसाधन बाटोमै फसेर सडक अवरुद्ध हुने गरेको छ ।

अहिले खोपाङ भीरमा खाली सवारीसाधन उक्लनै नसक्ने अवस्था छ । सडकमा फसेका सवारीसाधनहरूलाई यात्रु र चालकहरूले डोरीले तानेर निकाल्ने गरिएको छ । ‘सडक हिलाम्मे हुन्छ र खाली गाडी उकालोमा चढ्न सक्दैन,’ कन्टेनर चालक प्रेम बुलुनले भने, ‘खाल्डाखुल्डी नपुरिँदा स्याउ बोकेको लोड कन्टेनर कोल्टिएर दुर्घटना हुने गरेको छ ।’ पासाङल्हामु मार्गको स्याउबारी, राम्चे, ग्राङ र मूलखर्क, खोपाङको भीर, सानो भार्कु लगायत धेरै ठाउंमा पहिरोको समस्या छ ।


त्यस्तै, स्याफ्रुबेंसी रसुवागढी सडक खण्डको अवस्था पनि उस्तै छ । उक्त सडक खण्डमा पहिरोको जोखिम धेरै रहेको छ । सडक जीर्ण हुँदै गएपछि यो खण्डको यात्रा निकै जोखिमपूर्ण बनेको यात्रुहरू बताउँछन् । साँघुरो सडक गाडीलाई साइड दिनका लागि पासिङ जोन नहुँदा चालकहरूले अनेकौं समस्या झेल्नुपरेको छ । ठाउँठाउँमा बनेको खाल्डाखुल्डीले यात्रा झन् जोखिमपूर्ण रहेको चालकहरू गुनासो गर्छन् । पासाङल्हामु मार्ग सिंगल लेनको कच्ची सडक हो । सडकको बीच बाटोमै पुगेर ट्रक तथा कन्टेनर बिग्रन्छन्, साइड दिने ठाउँ हुँदैन घण्टौंसम्म जाम हुने गरेको छ ।


भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही मार्गको प्रयोग गरिएको छ । भारतले नाकाबन्दी गर्दा पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने विषयमा पनि निकै चर्चा चलेको थियो । नाकाबन्दीको बेला चीन सरकारले दिएको अनुदानको तेल यही मार्ग हुँदै काठमाडौं पुगेको हो ।


साँघुरो कच्ची सडक त्यसमाथि भूकम्प र ठाउँठाउँमा गएको पहिरोको कारण तहसनहस भएको छ । सडक मर्मत तथा सुधारमा सम्बन्धित निकायले चासो नदिँदा सडक जीर्ण बन्दै गएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उक्त सडक सदरमुकाम जोड्ने सडक पनि हो । ‘सडकको दयनीय अवस्थाको कारण यात्रुहरूले पनि समस्या झेल्नुपरेको छ,’ उनले भने ।


नाकाबन्दीताका भूकम्पका कारण बन्द भएको रसुवागढी नाका खोल्न र पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने भन्दै मन्त्रीहरू नाकासम्म पुगेका थिए । सडक स्तरोन्नति गर्ने र ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि तत्काल पासिङ जोन बनाउने त्यति बेलाको सरकारले योजनासमेत सार्वजनिक गरेको थियो । नाका त सञ्चालनमा आयो तर सडकको अवस्था भने जस्ताको तस्तै छ ।

सरकारले त्यति बेला गरेको सडक स्तरोन्नति गर्ने घोषणा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । ‘साँघुरो भीरको बाटोबाट गाडी चलाउनुपर्दा ज्यानकै बाजी थाप्नुपर्छ,’ चालक रामशरण आचार्यले बताए । ‘यो सडकमा खाल्डाखुल्डी धेरै छन्,’ उनले भने । ‘पासाङल्हामु मार्गका लागि पर्याप्त मात्रामा बजेट नआएकाले ठूलाखाले मर्मत हुन नसकेको सडक डिभिजन कार्यालय नुवाकोटले बताएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?