संक्रमित आमाका स्वस्थ बच्चा

कान्तिपुर संवाददाता

भरतपुर — भरतपुर अस्पतालमा एचआईभी संक्रमित आमाले स्वस्थ बच्चा जन्माएका छन् । एन्टिरेट्रो भाइरल थेरापी (एआरटी) रेजिमेन लिइरहेका गर्भवती महिलाले एचआईभी संक्रमणरहित बच्चा जन्माएका हुन् । 

भरतपुर अस्पतालमा रहेको एन्टिरेट्रो भाइरल थेरापी (एआरटी) केन्द्रका अनुसार हरेक वर्ष १२ देखि १५ जनाले सुरक्षित बच्चा जन्माउने गरेका छन् । सन् २०१९ को जनवरीदेखि जुलाईसम्म ४ जना संक्रमित आमाले जन्माएका बच्चामा एक जनामा संक्रमण देखिएको केन्द्रले जनाएको छ । भरतपुर अस्पतालमा केन्द्र स्थापनाको १० वर्षको अवधिमा ९० जना एचआईभी संक्रमित महिला सुत्केरी भएका थिए ।


तीमध्ये एकजनाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । उनका दुवै बच्चा एचआईभी संक्रमण मुक्त रहे । ९१ जना बच्चा जन्मिएकोमा ५ जनामा मात्र संक्रमण देखा परेको केन्द्रका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । ती बच्चाका आमाहरूले ढिला गरी (एआरटी) रेजिमेन सुरु गरेकाले उनीहरू संक्रमित जन्मिएको सापकोटाले भने । यस वर्ष ४ जना संक्रमित महिला बच्चा जन्माउने तयारीमा छन् ।


उनीहरूले सुरुदेखि नै (एआरटी) रेजिमेन सुरु गरेकाले उनीहरूबाट जन्मिने बच्चा सुरक्षित रहने सापकोटाले दाबी गरे । तीमध्ये एक जनाको जोडी नै संक्रमित छन् भने अन्य तीन महिलाका श्रीमान एचआईभी संक्रमित होइनन् । जोडीमध्ये एकलाई संक्रमण नभएको अवस्थामा औषधि लिइरहेकाबाट जोडीलाई संक्रमण हुने जोखिम नरहने सापकोटाले बताए ।


‘(एआरटी) रेजिमेन लिइरहेकाबाट पार्टनरलाई एचआईभी सर्ने जोखिम रहँदैन,’ उनले भने, ‘हामी त्यस्ता जोडीले चाहेको अवस्थामा सुरक्षित बच्चा जन्माउन परामर्श दिन्छौं ।’ अस्पतालमा (एआरटी) रेजिमेन लिइरहेका १ सय ७५ विवाहित जोडी छन् । केन्द्रको परामर्शअनुसार बच्चा जन्माउने संक्रमितको संख्या पनि बढ्दो छ ।


अस्पतालमा रहेको केन्द्रबाट हाल ८ सय ९५ जनाले औषधि सेवन गर्दै आएका छन् । तीमध्ये १२ जना समलिंगी, २ जना तेस्रोलिंगी हुन्, ६१ बालबालिकामध्ये ३१ बालिका हुन् । ३ जनालाई अवसरवादी संक्रमक रोग लागेका कारण औषधि दिन मिल्ने अवस्था नरहेको केन्द्रका परामर्शदाता विभा खनालले बताइन् । औषधि सेवन गर्ने धेरै महिला छन् । ४ सय २६ महिला नियमित औषधि सेवनका लागि आउने गरेको खनालले बताइन् । पुरुषको तुलनामा महिला बढी औषधि खानका लागि विश्वस्त हुने गरेको उनको अनुभव छ ।


‘महिला आफ्नो ख्याल नराखे अरूले राख्दैनन् भन्ने सोचेर औषधि खान सजिलै विश्वस्त हुनुहुन्छ,’ खनालले भनिन्, ‘पुरुषलाई परिवार सदस्यले साथ नदिने हो भने औषधिसमेत खान मान्नु हुन्न ।’ सन् २००७ मा स्थापना भएको केन्द्रमा हालसम्म १ हजार ७ सय २९ संक्रमित सम्पर्कमा आएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?