कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जनप्रतिनिधिबीचको द्वन्द्वले गाउँपालिकाको काम ठप्प

कान्तिपुर संवाददाता

रामेछाप — जनप्रतिनिधिको आपसी द्वन्द्वका कारण रामेछापको लिखु तामाकोसी गाउँपालिकामा दुई सातादेखि काम ठप्प भएको छ ।

गाउँपालिकाको बैठकमा दुरागाउँका लागि विद्युत् विस्तार गर्दा खर्च भएको बजेट विनियोजनबारे मतभेद भएपछि झैझगडाको रूप लिएको हो । अध्यक्ष र केही सदस्य एकातिर छन् भने उपप्रमुखलगायत कार्यपालिकाका बहुसंख्यक सदस्य अर्को पक्षमा छन् ।


गाउँ कार्यपालिकाको बैठक भएको दिन अध्यक्ष गोविन्दबहादुर खड्काले कुर्सी उचालेर आक्रमणको प्रयास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राई जिल्ला सदरमुकाममा आएर बसेका छन् । उनले प्रमुख जिल्ला अधिकारीलाई असुरक्षा भएको समेत जानकारी गराएका छन् ।


अध्यक्ष खड्का काठमाडौंमा पुगेका छन् भने उपाध्यक्ष दीपशिखा दाहाल पनि गाउँपालिका फर्केकी छैनन् । दुरागाउँमा गरिएको विद्युतीकरणमा रकम अपुग भएको भन्दै अध्यक्ष खड्काले यस आर्थिक वर्षको बजेट बनाउने क्रममा ६ करोड ९५ लाख रुपैयाँ विनियोजन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । तर अनुगमन समितिकी संयोजक एवं उपप्रमुख दाहाल र अधिकांश कार्यपालिकाका सदस्यले उक्त योजनाको अनुगमन गरी निश्चित लागत यकिन गरेपछि मात्र बजेट विनियोजन गर्ने तर्क राखेपछि विवादले झगडाको रूप लिएको हो ।


अनुगमन समितिको बैठकले अनुगमन गरेपछि मात्र बजेटको व्यवस्था गर्ने निर्णय गरेपछि खड्काले त्यसविरुद्ध खनिएका थिए । अध्यक्षले गरेको कामको अनुगमन गर्नु नपर्ने उनको तर्क थियो । ‘मैले अनुगमन नगरौं भनेको हैन, गरौं तर तोकिएको पदाधिकारीले गरौं भनेको हो,’ खड्काले भने, ‘तर उनीहरूले अनुगमनको नाममा अडाउने काम गरे, यसैमा मेरो असहमति हो ।’


खड्काले झन्डै ४ महिना लगाएर दुरागाउँका विकट बस्तीमा विद्युत् बाल्दा सामान खरिद र कामदारको पैसा दिन नसकेको बताए । उनले आर्थिक ऐन नियमको पूर्ण पालना नभए पनि काममा कुनै किसिमको भ्रष्टाचार नभएको दाबी गरेका छन् ।


उपप्रमुख दाहाल र वडा अध्यक्षले भने गाउँपालिकाबाट करोडौं रुपैयाँको बजेट खर्च हुँदा सार्वजनिक खरिद ऐन नियमअनुसार खरिद प्रक्रिया नभएको, प्रतिस्पर्धा र पारदर्शिता नभएको दाबी गरेका छन् । ‘अख्तियारमा उजुरी परेको भन्ने सुनेकाले सबै हामी परिएला कि भन्ने त्रास बढेपछि हामीले विधिमा जाऊँ भनेका हौं,’ वडा अध्यक्ष सुवास बोहोरोले भने, ‘त्यस्तो भन्दा अध्यक्ष खड्का जाइलागेका हुन् ।’


विवाद मर्ने–मार्नेसम्म

अध्यक्ष खड्कालाई २ करोड चन्दा नदिए उनको र परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिने उक्त गाउँपालिकाकै लोप्सन (बाबुराम तामाङ ) लाई प्रहरीले गोली हानेर काठमाडौंबाट नियन्त्रणमा लिएपछि गाउँपालिकाको विवाद अन्यत्र मोडिएको छ ।


तिल्पुङ घर भएका लोप्सनलाई चन्दा नदिए मार्नेसम्मको धम्की दिन लगाउने योजनाकार वडा अध्यक्ष बोहोरा नै हुन् भन्ने आरोप खड्काले लगाएका छन् । प्रहरीले अनुसन्धान गरिरहेको उक्त विषयमा वडा अध्यक्ष बोहोराले त्यस घटनामा कुनै संलग्नता नभएको भन्दै प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । उनले गाउँपालिकाको बैठकमा भएको झैझगडाको विषयलाई तोडमोड गरी यहाँसम्मको आरोप लगाउने अध्यक्षको रबैयाप्रति घोर भर्त्सना गरेका छन् ।


बजेट पास भएको छैन

कानुनबमोजिम गाउँपालिकाले असारको १० गते गाउँसभासमक्ष पछिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रम र त्यसका लागि आवश्यक बजेटको तर्जुमा गरी पेस गर्नुपर्छ । उक्त गाउँपालिकामा असार १० गते नीति तथा कार्यक्रम पेस भयो ।


पेस भएको नीति तथा कार्यक्रमलाई दफावार छलफल गरी गाउँसभाबाट पारित भएको छैन । असार मसान्तसम्म गाउँसभाबाट नीति कार्यक्रम र बजेट पारित नगराउने स्थानीय सरकारलाई बजेट रोक्ने चेतावनी संघीय सरकारले दिइरहेका बेला गाउँपालिका पदाधिकारी भने विवादमै अल्झेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?