कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

डेंगु नियन्त्रण अभियानमा प्रशासन

कान्तिपुर संवाददाता

मकवानपुर — जिल्लामा डेंगुका बिरामी बढेसँगै स्थानीय प्रशासनले नियन्त्रणको अभियान थाल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निःशुल्क डेंगु परीक्षण गर्नाका साथै हेटौंडा उपमहानगरपालिका, स्थानीय तह, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय, हेटौंडा अस्पतालसँग सहकार्य गरेर नियन्त्रणमा लाग्ने भएको छ । 

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङकोअध्यक्षतामा बसेको बैठकले डेंगुको परीक्षण निःशुल्क गर्ने र नियन्त्रणका लागि समुदायस्तरमा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको छ ।


त्यसैगरी वडाहरूमा डेंगु सार्ने लामखुट्टे तथा लार्भा उत्पादन स्थल नष्ट गर्न आवश्यक कार्य तत्काल सुरु गर्ने निर्णय पनि गरिएको छ । ‘डेंगुको परीक्षण गर्न १ हजार शुल्क लाग्ने गरिएकोमा प्रदेश ३ को स्वास्थ्य निर्देशनालयले परीक्षण किट उपलब्ध गराई जिल्ला स्वास्थ्य कार्यालयबाट निःशुल्क परीक्षण गराउने तयारी सुरु भइसकेको छ,’ प्रजिअ अधिकारीले भने, ‘बढी प्रभावित क्षेत्रमा शिविर नै सञ्चालन गरेर परीक्षण गरिने छ ।’


डेंगुको महामारी फैलिएपछि विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गर्न लागिएको उनले बताए । हेटौंडा उपमहानगर क्षेत्रमा मात्र देखिएको डेंगु रोग अहिले फैलिएर क्रमशः मनहरी, भीमफेदी, बकैया र वाग्मती गाउँपालिकामा समेत देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिंहले जानकारी दिए । उनका अनुसार हालसम्म मकवानपुरमा करिब १ सय २५ जनाभन्दा बढीमा डेंगु भेटिसकिएका छन् ।


गत आर्थिक वर्षमा हेटौंडामा जम्मा पाँच जना मात्र डेंगुका बिरामी भेटिएकामा यस वर्षको लगातारको वर्षापश्चात् एक्कासि डेंगुको संक्रमण देखिएको थियो । डेंगु रोग सार्ने लामखुट्टे सफा पानी जम्ने स्थानमा बस्ने भएकाले वडाका हरेक टोलटोलमा पुगी पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानीको डम्बा, भाँडा, फ्याँकिएका टायर हटाउने अभियान सञ्चालन गरिएको प्रदेश ३ का सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।

प्रकाशित : श्रावण ३१, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?