यातायात विधेयकप्रति प्रदेश सरकारको आपत्ति

सुवास बिडारी

मकवानपुर — संघीय सरकारले प्रदेश सरकारको क्षेत्राधिकार मिचेर जबर्जस्ती विधेयक ल्याएको भन्दै प्रदेश ३ सरकारले आपत्ति जनाएको छ । 

संघीय सरकारले राष्ट्रियसभामा पेस गरेको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयकले प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने काम भएको भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले आपत्ति जनाएका छन् ।


प्रदेश सरकारले प्रदेश सवारी तथा यातायातसम्बन्धी ऐन जारी गरिसकेको अवस्थामा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय काठमाडौंले राष्ट्रियसभामा पेस गरेको उक्त विधेयकको कुनै औचित्य नभएको उनले बताए । राष्ट्रियसभाको सैद्धान्तिक छलफलको क्रममै विरोध भएको उक्त विधेयकप्रति प्रदेश सरकारले पनि असन्तुष्टि जनाएसँगै संघ र प्रदेशबीच अधिकार क्षेत्रको विषयलाई लिएर विवाद देखिएको छ ।

‘संविधानमा भएको व्यवस्थाअनुसार संघीय सरकारलाई राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापनको जिम्मेवारी मात्रै तोकिएको छ । यातायातको कानुन बनाउने निकाय प्रदेश सरकार हो,’ प्रदेशमन्त्री जम्मकट्टेलले भने, ‘संघीय सरकारले हाम्रो अधिकार क्षेत्र मिचेर अगाडि बढ्न खोजेको छ ।’


मन्त्री जम्मकट्टेलले संघीयता कार्यान्वयनको चरणमा रहेको अवस्थामा संघीय सरकारबाट यस्तो किसिमको हस्तक्षेप हुनु गलत भएको टिप्पणी गरे । ‘संघीय सरकार संघीयता कार्यान्वयन र अधिकारको प्रयोग नगरेर किन तलतिर ओर्लिरहेको छ । यसले संघीयता कता गइरहेको छ भनेर चिन्ता थपिएको छ,’ मन्त्रीले भने ।


‘उपत्यकाभित्रका तीन जिल्ला संघीय सरकार मातहत हुने व्यवस्था गरेर कानुन ल्याए मात्रै हो । अन्यथा यो विधेयक पूर्णरूपमा संविधानको विरुद्धमा रहेको छ,’ मन्त्री जम्मकट्टेलले आक्रोश व्यक्त गर्दै भने, ‘संघीय सरकारले हामीलाई उपलब्ध गराएको कार्य विस्तृतीकरणको समेत विरुद्धमा रहेर विधेयक ल्याइएको छ ।’


प्रदेश यातायात ऐनमा यातायात व्यवस्थापन समिति गठन गर्ने, सडक सुरक्षा परिषद्, अस्थायी मार्ग तथा भाडा निर्धारण समिति, परीक्षा समिति, यातायात निरीक्षकको नियुक्तिको व्यवस्था गरिएको छ ।


त्यसलाई बेवास्ता गर्दै संघमा दर्ता भएको विधेयकमा काठमाडौंभित्रका सार्वजनिक यातायात क्षेत्र सुधारका लागि प्राधिकरणको गठनको प्रावधान गरेसँगै प्रदेश सरकार थप आक्रोशित भएको हो । समान कामका लागि उस्तै प्रकृतिको समिति गठन प्रस्ताव संघीय ऐनमा हुनु दुःखद् भएको उनले टिप्पणी गरे ।


प्रदेश सरकारले सवारी करबापत् वार्षिक करिब १० अर्ब रुपैयाँ संकलन गर्दै आइरहेको छ । यसअघि पनि यातायात करको बाडँफाँटको विषयलाई लिएर प्रदेश र संघबीच मतभेद रहेको थियो । यातायात कर प्रदेश सरकारले ५० प्रतिशत र संघीय र स्थानीय सरकारले २५/२५ प्रतिशत गरी बाडँफाँट हुने व्यवस्था रहेको छ ।


प्रदेश ३ अन्तर्गत्काठमाडौं उपत्यकामा आठवटा, चितवनको भरतपुर र मकवानपुरको हेटौंडामा यातायात व्यवस्था सेवा कार्यालय रहेका छन् ।


हाल नवीकरण शुल्कका कारण विरोध भएसँगै प्रदेश यातायात तथा सवारी व्यवस्था ऐन–२०७५ संशोधनको क्रममा रहेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णयबाट सवारी ऐन संशोधन गर्ने निर्णय भएअनुसार प्रदेशसभा दर्तासमेत भइसकेको छ ।


प्रदेश ऐनमा आर्थिक वर्ष कटेपछि नवीकरण गर्दा सवारीसाधन करको दोब्बर दस्तुर तिर्नुपर्ने व्यवस्थाको विरोध भएसँगै कानुन संशोधनको प्रक्रियामा अगाडि बढेको र हाललाई नवीकरण कार्य बन्द गरिएको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख पोषण थापा जानकारी दिए ।

प्रकाशित : श्रावण ३१, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?