कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचपोखरीमा ५ हजार पर्यटक

अनिश तिवारी

सिन्धुपाल्चोक — निलम रंगसँगै पाँचवटा तालभित्र देखिने पहाड पर्वत आकाश । कञ्चन पारदर्शी ताल वरिपरि आँखै लोभ्याउने हिमशृंखला ढाक्दै लुकिरहेका बादल । 

पाँचपोखरीमा ५ हजार पर्यटक

जुगल, लाक्पादोर्जे हिमाल हेर्दै चार हजार दुई सय मिटरको उचाइमा रहेको प्रसिद्ध पाँचपोखरी पुग्दा जोकोही रमाउँदै भन्छन्, ‘स्वर्ग छ भने यही नै हो ।’

पाँचपोखरी गाउँपालिका ३ भोताङको छिम्तीगाउँ बजारबाट झन्डै दुई दिनको पैदलयात्रा कष्ट सुन्दरतम पाँचपोखरीको दृश्यले पूरा भुलाइदिन्छ । भीर काटदै बनाइएको ‘एडभेन्चर’ (२२ किलोमिटर) पदमार्गबाट नोस्याम, तप्खर्क, तोरपुली हुँदै लौरीविनायक, भुमेदेवको भीरको कलात्मक द्वारले स्वागत गर्छन् ।

एकादशी र जनैपूर्णिमा लक्ष्य गरेर भव्य मेला लाग्ने पाँचपोखरी धाममा अहिले दर्शनार्थी र विदेशी पर्यटकले ढाकेका छन् । ‘यसपटक मात्रै झन्डै ५ हजारभन्दा बढी पर्यटक पाँचपोखरी भित्रिएको अनुमान गरेका छौं, अधिकांश अघिपछि भक्तजन आइरहेको देखिन्छन्,’ पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख टसी लामा हृयोल्माले भने । वाइबा, तामाङ, हृयोल्मो, गुरुङदेखि बाह्मण, क्षेत्रीको बसोबास रहेको पाँचपोखरी थाङपालको सम्पूर्ण गाउँ क्षेत्रभर मेलाका लागि भव्य तयारी गरेको उनले सुनाए ।

‘पाँचपोखरी जोड्ने केबुलकारका लागि अध्ययन सकेर प्रक्रियामा छौं, हाल पर्यटकका लागि भौतिक संरचना, उपचारदेखि अन्य प्राविधिक तयारी सकेका छौं,’ उनले भने । अन्दाजी करिब २ हजार ३ सय २५ वर्षअगाडि (वाइबाका वंशजका प्रवर्तक) प्रख्यात सिकारी बुम्वा रुवा वाइबाले सिकार खेल्दै जाने क्रममा पाँचपोखरी पत्ता लगाएको मानिन्छ ।

हिउँले ढाकेको पोखरी अगाडि धान रोपाइँ गरिरहेको देखेपछि यस्तो हिउँमा रोपाइँ गर्ने को होला भन्ने सोच्दै अचम्ममा परेका वाइबाले नजिक गएर हेरे । धानखेती गर्नेमध्येका लोग्ने मानिस (महादेव) ले वाइबालाई देख्नेबित्तिकै खेतालासहित अदृश्य भए ।

महादेव र देवगण अलप भएको देखेपछि ईश्वर प्रेमले भावुक भएका वाइबाले मन्दिर स्थापना गर्नुपर्ने सोचे । त्यतिबेला केही नभएपछि आफ्नो सिकारी कुकुरलाई लगाइराखेको घण्टी फुकालेर झुन्ड्याई चढाएर मन्दिर स्थापना गरी वाइबा फर्केको किम्वदन्ती छ ।

‘हर्न्डेड डेस्टिनेसन’ मा परिसकेको पाँचपोखरीसहित हेलम्बु र पाँचपोखरीको सीमाक्षेत्र (हृयोल्मो परम्पराकी धनकी महादेवी ), ढुक रहेन्जेन् वा ड्राइगन , अमिलो पानी, दुख्खाङ गुफासँग जोड्ने लक्ष्य राखेर काम भइरहेको छ । बुद्धमूर्ति होमापे, रैथानेश्वरी, ठूलो ढुंगा, ग्युङ्गर झरना, ज्योज्यो डाँडाजस्ता दर्जनौं पर्यटकीय स्थलले घेरिएको पाँचपोखरीबाट जाने बाटो बनेका छन् ।

पदमचाल, ठूलोओखती, सुनापाती, भोटेधुपी, लेकाली दुबोजस्ता हिमाली जडिबुटीले घेरिएको पाँचपोखरीमा गएर नुवाए सबै पाप मेटिने जनविश्वास छ । बिहान (६ देखि ९ बजेसम्म) तीन घण्टा मात्रै प्रस्ट देख्न सकिने पाँचपोखरीमा अस्थायी होमस्टेको व्यवस्था गरिएको प्रमुख हृयोल्मोले जनाए ।

काठमाडौंबाट मेलम्ची हुँदै पाँचपोखरीको थाङपालधाप, थाङपालकोट हुँदै भोताङको छिम्ती बजारसम्म यात्रुबस सहज छ । सदरमुकाम चौताराबाट रमणीय ओखरेनी, खस्रेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै पैदल मार्ग जान सकिन्छ । भोताङको मनिगाउँ हुँदै छिम्ती बजारपछि २२ किलोमिटर पदमार्ग पैदल पार गर्नुपर्छ ।

नोस्याम, तप्खर्क, तोरपुलीजस्ता दर्जनौं स्थानमा बास र खानपानका लागि व्यवस्था गरिएको पाँचपोखरी ३ का अध्यक्ष निमा छिरिङ लामाले बताए । ‘बाटोमा लौरीविनायक, भुमेदेवको भीरको कलात्मक द्वारले स्वागत गर्दै हिमशृंखला नियाल्न सकिन्छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३२, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?