१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मालपोतकै मिलोमतोमा ६३ लाख ठगी

हरिहरसिंह राठौर

धादिङ — जिल्ला मालपोत कार्यालयकै मिलोमतोमा ६३ लाख ठगी गरेको पाइएको छ । लालपुर्जामा जग्गाको क्षेत्रफल बढाई प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाबाट ठगी गरेको हो ।

साविकको बूढाथुम–९ (हाल गंगाजमुना–७) का होमनाथ पौडेलले स्थानीय प्रशाासनले निकालेको सूचनाका बेला चलाखी गरी लालुर्जामा क्षेत्रफल बढाएका थिए । डुबानमा पर्ने जग्गाको बढी क्षेत्र बनाएको लालपुर्जासहित उनले स्थानीय प्रशासनमा मुआब्जा दाबी गरेका थिए । पौडेलले सेवानिवृत्त हुन लागेका तत्कालीन मालपोत अधिकृत रेवतीप्रसाद ढकालसँगको मिलोमतोमा २ रोपनी क्षेत्रफल मात्रै भएको लालपुर्जामा ११ रोपनीभन्दा बढी देखाई ७५ लाख रकम मुआब्जा बुझेको पाइएको हो ।


तत्कालीन बूढाथुम ७ को नापी नक्सा नम्बर नक्सा सिट नं ९ ‘क’ अनुसार ०७३ वैशाख १३ मा नयाँ लालपुर्जा पौडेलले लिएका थिए । वैशाख १३ मा लालपुर्जा जारी गरी मालपोत अधिकृत ढकालले वैशाख २० मा जिल्लाबाटै सेवानिवृत्त भई बिदा भएका थिए ।

पौडेलको उक्त लालपुर्जामा कित्ता नं ५८ को फिल्ड बुकमा रेकर्ड भएको क्षेत्रफल ०–१२–२–१ छ । नयाँ लालपुर्जामा ६ रोपनी ६ आना, कित्ता नं ५९ को फिल्ड बुकमा रेकर्ड भएको क्षेत्रफल ०–११–०–० तर नयाँ लालपुर्जामा बढेर आएका ४ रोपनी ६ आना देखिएको छ । यसैगरी कित्ता नं १४० फिल्ड बुक र नयाँ लालपुर्जा दुवैमा ०–९–२–१ एउटै क्षेत्रफल कायम भएको देखिन्छ ।


जम्मा २–३–०–२ को १४ लाख ८५ हजार चानचुन मात्र मुआब्जा पाउनुपर्नेमा ११ रोपनी क्षेत्रफलको कुल ७५ लाख (करकट्टापछि) बुझेको पाइएको छ ।


‘फिल्ड बुकमा प्वाल पारेर नबुझिने गरी बनाई लालपुर्जामा क्षेत्रफल बढाइएको देखिन्छ,’ आयोजनाका संयोजक कृष्णबहादुर कार्कीले भने । उनका अनुसार पौडेललाई लालपुर्जाअनुसार बढी रकम गएको पत्तो पाएर गल्ती ढाकछोप गर्न साउन ७ मा आयोजनालाई पत्राचार गरी बढी रकम फिर्ता गर्ने व्यवस्था मिलाउन अनुरोधसमेत गरिसकिएको छ ।


उक्त लालपुर्जाको जग्गा ४ भागबण्डा लाग्नुपर्नेमा बढी रकम ल्याएर अरू अंशियारलाई नदिई पौडेल एक्लैले लुकाउन खोजेपछि यो रहस्य सार्वजनिक भएको हो । अरू अंशियारले बढी रकम लिएर होमनाथले छिमेकी जिल्ला काठमाडौंको चन्द्रागिरि ६ मच्छेगाउँमा घर निर्माण गर्न लागेकोले बढी रकम असुल गर्न स्थानीय प्रशासनमा निवेदन दिएका थिए ।


प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले उक्त निवेदन पछि रकम फिर्ता गर्न पौडेललाई पत्राचार गरेको बताए । एक वर्षअघि पनि २ जना व्यक्तिसँग आयोजनाको करिब १ करोड रकम बढी गएपछि असुल गर्न हम्मे परेको थियो ।

प्रकाशित : भाद्र १, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?