मानहुङकोट आन्तरिक पर्यटकको गन्तव्य बन्दै

प्रताप रानामगर

दमौली — आन्तरीक पर्यटक घुमघामका लागि जहिल्यै नजिकका रमाइला गन्तव्यको खोजीमा रहन्छन् । यस्ता ठाउँ खोज्नेहरूको रोजाइमा मानहुङकोट परेपछि दिनदिनै यहाँ पुग्नेहरू बढ्न थालेका छन् । 

 मानहुङकोट आन्तरिक पर्यटकको गन्तव्य बन्दै

सदरमुकाम दमौलीबाट पश्चिमतिर डेढ घण्टामा हिँडेरै पुग्न सकिने यो कोट पृथ्वी राजमार्गबाट करिब ७ किमिको दूरीमा पर्छ । यहाँसम्म पुग्न कच्ची बाटो छ । मोटरसाइकल र जिपमा आधा घण्टामै सजिलै पुगिने भएकाले आन्तरिक पर्यटकका लागि यो नयाँ गन्तव्य बन्न थालेको छ । पर्यटकको रोजाइमा पर्न थालेपछि यो क्षेत्रको विकासका योजना ल्याउन २०६४ मा स्थानीयले मानहुङकोट क्षेत्र विकास समिति गठन गरेका थिए । त्यसपछि यसमा सबैको चासो बढ्दो छ । ‘विस्तारै सडक आयो, विद्युतीकरण पनि भएपछि यता आउनेलाई धेरै सजिलो छ,’ समिति अध्यक्ष वीरबहादुर थापाले भने, ‘यहाँ आउनेहरू सूर्योदय र सूर्यास्त हेर्न रमाउँछन् ।’

ऋषिमुनिको तपोभूमि मानिने मानहुङकोट आदिकवि भानुभक्त आचार्यको मावली गाउँ पनि हो । यहाँ मगर बहुल बस्ती छन् । साप्ताहिक र अन्य बिदाका दिन यहाँ दिनमा करिब १ सय ५० जना हाराहारीमा घुमन्ते पुग्ने गरेका छन् । आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेपछि समितिले भ्युटावर बनाउने योजना अघि

सारेको छ ।

पर्यटकको ओइरोले स्थानीय उत्साहित छन् । ‘अतिथि सत्कारले आम्दानी हुन थालेपछि गाउँलेको चेतना पनि बढेको छ,’ मानहुङकोट आमा समूहकी अध्यक्ष रेवती आलेमगरले भनिन्, ‘बिहानै टोली–टोलीमा आइपुग्नेलाई खाजा, खाना बेचेर राम्रो आम्दानी भइरहेको छ ।’ सहरी क्षेत्रका परिवारले सधैं खानेभन्दा फरक परिकार खुवाउन ध्यान दिइएको उनले बताइन् । ‘लोकल कुखुरा, ढिंढो र मकैको च्याख्ला भात धेरैले मन पराउँछन्,’ उनले भनिन् । खानेकुराका परिकार बेच्नेहरूले सरदर मासिक ५० देखि ७० हजार रुपैयाँको आम्दानी घरै बसेर लिनसक्ने भएको उनको भनाइ छ ।

मानहुङकोट घुमन्तेको रोजाइमा पर्न थालेपछि यहाँका धेरै महिलाले खाना खुवाउने होटल चलाउन थालेर रोजगारीको नयाँ बाटो पाएका छन् । रेवतीजस्तै मधुमाया, सकुराम र गोपीराम पनि पर्यटकलाई सत्कारमा व्यस्त हुन्छन् । कुखुराको मासु र भात एक छाकको ४ सय र सादा कोदोको ढिँडोलाई २ सय ५० लिने गरेका छन् । स्थानीयस्तरमै उत्पादित खाद्यान्न पर्यटकले रुचाएपछि यहाँका गाउँलेलाई पनि सजिलो भएको छ । बिक्री हुने ठाउँमा छेउछाउका गाउँबाट कोदो, मकै, कुखुरा र तरकारी बेच्नेहरू यहाँ आइपुग्ने गरेका छन् । पर्यटकलाई आकर्षित गर्न मानहुङकोटमा साहसिक हवाई खेल प्याराग्लाइडिङको उडान सञ्चालन गर्न परीक्षण पनि थालिएको छ । पर्यटन विकास समिति तनहुँले जिल्लाका पर्यटकीय क्षेत्र घुमघाम रुचाउनेका लागि बनाएको २ वा ३ दिनको प्याकेजमा मानहुङकोटसँगै दमौली र वरपरका क्षेत्रलाई समावेश गरेको छ ।

व्यासको परासर क्षेत्रको पुलबाट हाइकिङमा मानहुङकोटको रुट तयार पारिएको समिति अध्यक्ष हरिसिं गुरुङले बताए । ‘आँखाले भ्याएसम्म लहरै हिमाल, तल तरेली परेका फाँट, हरिया डाँडाकाँडा देखिने भएकाले एकपल्ट मानहुङकोट पुगेको मान्छे फेरि जान रमाउँछ,’ उनले भने, ‘यो रुटमा हेर्ने कुरा पनि धेरै छन् । हामीले बनाएको प्याकेजमा घुम्नेहरू विस्तारै बढेका छन् ।’ मानहुङकोटमा पुग्ने पर्यटक होमस्टेमा बास बसेर छाब्दीवाराही मन्दिर, व्यास परासर क्षेत्र, निर्माणाधीन तनहुँ हाइड्रोपावर हेर्दै घुम्न सक्ने उनले बताए । ‘भित्री एरियामा सुन्न, हेर्न पाइने पुराना भाका र नाच आदि संस्कृति पनि सहरियाका लागि नौलो छ,’ उनले भने, ‘अहिले बल्ल अब गाउँलेले आफ्नो ठाउँको महत्त्व बुझेर पाहुनालाई आकर्षित गर्न थालेकाले मानहुङकोटको विकासले गति लिन्छ भन्ने लाग्छ ।’ मानहुङकोटमा अझै सहज बनाउन सडक स्तरोन्नति र खानेपानी सुविधा पुर्‍याउनुपर्ने आवश्यकता रहेको स्थानीय सकुराम थापाले बताए । ‘यहाँ आउनेले खाना र कौराहा, झाझुरा नाच आदि मन पराएका छन्,’ उनले भने, ‘बाटो सजिलो भयो, खानेपानी पर्याप्त भयो भने मानहुङकोट पुग्ने अझै बढ्छन् ।’

प्रकाशित : फाल्गुन १, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?