कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बैसाखीकै भरमा नाच्छन् लालबहादुर

आश गुरुङ

लमजुङ — मञ्चमा चलचित्र ‘गोर्खा पल्टन’ को ‘लाहुरे म त सोल्टिना, छुट्टीमा आको’ बोलको गीत गुञ्जिन सुरु भयो । अपांगता भएका एक अधबैंसे दुईवटा बैसाखी टेकेर लाहुरे भेवेशमा उक्लिए । धेरैले उनी नाच्लान् भन्ने ठानेकै थिएनन् । तर, उनले दर्शकलाई नाचेर देखाउँदै अचम्ममा पारे । 

बैसाखीकै भरमा नाच्छन् लालबहादुर

बायाँ खुट्टा नभएका उनी बैसाखीको सहारामा मुस्कुराउँदै मञ्चमा उभिएका थिए । त्यसअघि उनले खाली कागजमा सादा पानी राखिएकोमा घोल्दै जुसपानी बनाएर अतिथिहरूलाई खुवाएका थिए । आफ्नो कलाबाटै उनले दुई छोरीलाई स्टाफ नर्स पढाएको जानकारी दिँदा ताली र हुटिङ आउनुको सट्टा मञ्च र दर्शकदीर्घामा हाँसो सुनियो । छोरालाई काठमाडौंकै राम्रै स्कुलमा पढाएका छन् । दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएको छोटो जानकारी दिँदै उनले स्याहार गर्नुपर्ने पत्नीले छाडेर गएको पीडा सुनाए । ‘बाध्यताले पनि अर्को ल्याउनुपर्ने अवस्था आयो । हो, मैले अकी बूढी ल्याएको छु,’ शनिबार नेपाल तामाङ घेदुङले बेंसीसहरको फूलबारी मञ्चमा आयोजित बृहत् सांस्कृतिक उत्सवमा उनले भने, ‘मेरो एउटा खुट्टा नभए पनि म पैसा मागेर खाँदिन । मेरो कलालाई मन पर्‍यो भने दिनुहोला, नभए मलाई नदिँदा पनि हुन्छ । बाँचुन्जेल कलाले खान्छु ।’

उनी हुन्, सुनसरीको इटहरी ४ का ५६ वर्षीय लालबहादुर तामाङ । बैसाखी टेकेर स्टेजमा आएका उनले ५ मिनेटसम्म एउटै खुट्टाको भरमा एकपटक पनि नलडी छमछमी नाचे । बैसाखी छाडेर दायाँ हातमा खादा बाँधेर बायाँ हातमा मुरली लिई उनले कलात्मक शैलीमा नृत्य प्रस्तुत गरे । गीतको बीचमै कागजको टुक्रालाई कार्टुनभित्र राखेर जादू गरी निकालिएको खादालाई उनले सुरुमा कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन तामाङलाई लगाइदिए । त्यसपछि नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समितिका अध्यक्ष अजय तामाङ, ४ नम्बर प्रदेश उपाध्यक्ष हरिजंग तामाङलगायतलाई पालैपालो खादा लगाइदिए । गीत सकियो, दर्शकबाट ‘वान्स मोर’ भने पनि उनीसँगै आएर अतिथिहरू खादा लगाउन व्यस्त थिए । अन्तिममा जलेको कागज सानो फलामे बाकसभित्र राखेर खुला गर्दा परेवा निस्किएपछि अतिथि र दर्शक उनका सामु झुम्मिए । तामाङ सांस्कृतिक घेदुङका जिल्ला अध्यक्ष आशिष तामाङले उडाएको परेवा राज्यमन्त्री तामाङको शिरको टोपीमाथि गएर बस्दा गन्यमान्य तामाङले आउँदो वर्ष देशमा शान्ति छाउने बताए । कलाकार तामाङले देशमा शान्तिको कामना गरे । ‘म ७ वर्षदेखि यही कर्ममा छु,’ थकित मुद्रामा आफ्नो लुगा फेर्दै उनले भने, ‘चिल्ड्ेरन, रोमान्टिक र डेन्जर गरी ३२ वटा जादू देखाउँछु । यहाँ देखाइएको जादू रोमान्टिक हो ।’काठमाडौं, पोखरा साथै पूर्वमा रात्रिकालीन सवारी चलाउँदै आएका उनी २०४८ असारमा काठमाडौं बसपार्कबाट बस झिक्ने क्रममा च्यापिएर दुर्घटनामा परेका थिए । बायाँ खुट्टा च्यापिएर उनले उपचारार्थ तीन वर्ष अस्पतालमा बस्नुपर्‍यो । खुट्टा काम नलाग्ने भएर काट्नु परेको उनले बताए । ‘यस्तो अवस्था छाडेर बूढी पोइल गइन् । पछि उनकै भदैनीलाई ल्याएँ,’ उनले भने, ‘यसपछिको मेरो जीवन कसरी बिते होला ?, आफैं कल्पना गर्नोस् ।’ मेला महोत्सवमा गएर आफ्नो प्रतिभा देखाउँदै आएका उनले आफ्नो कमाइबाट जेठी छोरी एलीलाई स्टाफ नर्स पढाएको बताए । कान्छी छोरी पनि लाहानमा स्टाफ नर्स पढ्छिन् । छोरा ९ कक्षामा पढ्छन् ।

‘म रमाइलो गरी हिँड्छु । अरूलाई हँसाउँछु । मनभित्र पीडा त हुन्छ नि,’ उनले भने, ‘जीवन सहज तरिकाले जिउनुपर्छ । मेरो एउटा खुट्टा मात्रै पो छैन, अरू सबैथोक छ । म सबैथोक काम गर्न सक्छु ।’ कला देखाउँदै देश–विदेश घुमेका उनले भारत, अमेरिका, जापान, स्वीट्जरल्यान्ड र जर्मन लगायत धेरै ठाउँ घुमेको बताए । ‘म देश–विदेश गएँ, कला देखाएँ । विदेशमै पनि केही सिक्ने मौका पाएँ । धेरै भारत र केही नेपालमै सिक्ने मौका पाएँ’ उनले भने, ‘म कसैलाई ढाँटछल गर्दिनँ । यो मेरो कला हो । मन पराउनुहुन्छ भने सहयोग गर्नुस् । मन पराउनु हुन्न भने पनि हामीजस्ता अपांगता भएकालाई कला देखाएर खाने वातावरण बनाइदिनोस् भन्ने हो ।’

प्रकाशित : फाल्गुन १, २०७४ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?