‘अबको संघर्ष संसद्मा’

प्रतीक्षा काफ्ले

स्याङ्जा — २०६० सालमा तत्कालीन माओवादीले म्याग्दीको बेनी बजार आक्रमण गर्दा खिमबहादुर विक लडाकुका कमान्डर थिए । सुरक्षा फौज र विद्रोहीबीचको गोली हानाहानमा १७ प्रहरी, १४ नेपाली सेना, करिब ९० जना माओवादी र १९ जना सर्वसाधारणको मृत्यु भएको थियो । 

‘अबको संघर्ष संसद्मा’

करीब १७ करोड बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको उक्त घटना मुलुकको इतिहासमै सशस्त्र द्वन्द्वको वीभत्सता सम्झाउनेमध्येमा पर्छ । घटनामा विक गोली लागेर घाइते भएका थिए । यही अवस्थामै उनी भीरबाट हामफालेर रूख च्याप्न पुगे र बाँच्न सफल भए । यिनै विक अब प्रदेश ४ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने आठ जनामध्येका एक भएका छन् ।

२०६२ मा स्याङ्जाको साबिक मनकामना गाविसको मनकामना मन्दिर नजिक गहतेमा माओवादी र नेपाली सेनाबीच भएको भिडन्तमा १९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १७ जना माओवादी र २ जना सेना थिए । पश्चिमबाट आएको माओवादीको ठूलो फौज मनकामनामा केन्द्रित थियो । पार्टीको तमुवान् राज्यको कार्यालय सचिव भएकाले टोली व्यवस्थापन गर्ने जिम्मा विककै थियो । यो भिडन्तमा पनि उनी बाँचे । २०५८ मा सदरमुकाम स्याङ्जा बजारको जिल्ला प्रहरी कार्यालयमा ओवादीले आक्रमण गरेका थिए । घटनामा १२ जना प्रहरीको मृत्यु भएको थियो । आक्रमण योजनाकार विक नै थिए ।

हरिनाश गाउँपालिका ४ का ४८ वर्षीय विक यसपटक दलित कोटामा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । २०४३ देखि राजनीतिमा लागेका उनी ०४६ मा तनहुँका अखिल छैटौंको जिल्ला सचिव भएका थिए ।

स्नातक तहसम्म अध्ययन गरेका उनले २०४६ देखि १२ वर्ष शिक्षण पेसा पनि गरे । माओवादीलाई सहयोग गर ेपनि उनी तत्काल भूमिगत भएनन । राज्य पक्षले बढी शंका गर्न थालेपछि २०५८ देखि भूमिगत भए । मावि तहको स्थायी शिक्षक र २०४४ मा भारतीय सेनाको भर्ती, यी दुवै जागिरमा उनी अडिन सकेनन् । दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य एवं माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका उनी माओवादी केन्द्रका संस्थापक सदस्य हुन् । २०५९ मा उनी पार्टीका लागि स्याङ्जा जिल्ला सेक्रेटरी पनि भएका थिए ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?