कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खबराको डिल बन्यो ‘लभर्स हिल’

फोदिमा पुलिसले खेदेपछि डाँडामा जोडी
घनश्याम खड्का

म्याग्दी — नाम नै काफी छ, लभर्स हिल । तन्नेरी पुस्ताको सालीन र भद्र शैलीमा मायापिरती साट्ने लभ मेकिङ स्पट अर्थात् प्रेम बगैंचा ।

सदरमुकाम बेनीको ठीक पारिपट्टि छ हाँडेभीर । भीरको टुप्पोमा अवस्थित खबराको पाखो । अहिले यो पाखो लभर्स हिलको नामले परिचित छ । लभर्स हिल बेनीबाट भर्टिकल हाइट २ सय ५० मिटर पैदल यात्रा गर्दा करिब १ किलोमिटर माथि अवस्थित छ ।

होटल र पार्कहरूमा जोडी भेटिए ‘अश्लील हर्कत’ गरी सामाजिक सद्भावमा असर पारेको आरोपमा प्रहरीले कारबाही गर्छ । सदरमुकाम र वरपरका होटल, रेस्टुरेन्टमा छापा मार्दै बैंस साट्न आतुर प्रेमी–प्रेमिकालाई प्रहरीले पक्राउ गर्न थालेपछि सुरक्षित स्थल खोज्दै म्याग्दी खोला, हाँडेभीरको पाखो र जंगलमा पुगेका हुन् । यो ठाउँ प्रहरी र आफन्त नजरबाट जोगिएर उन्मुक्त प्रेम गर्ने थलो बनेको छ । जोडी नै धेरै पुग्ने र धेरैबेर बसिरहने भएकाले पछिल्लो ५/६ वर्षमा हाँडेभीर–खबराको डिललाई समाजले लभर्स हिलको नयाँ नाम दिएको हो । युवा तथा अधबैंसे जोडीको प्रेम साट्ने गन्तव्य बन्न थालेपछि स्थानीयवासी लभर्स हिललाई पर्यटकीय गन्तव्य बनाउन जुटेका छन् । धु्रवराज कार्कीको अध्यक्षतामा लभर्स हिल पर्यटन पूर्वाधार विकास समिति सक्रिय छ । समितिले पर्यटन कार्यालय पोखराको ५ लाख, बेनी नगरपालिकाबाट ४ लाख २५ हजार, बेनी–२ वडा कार्यालयबाट ५ लाख र श्रमदान ७५ हजार जुटाएर डाँडाको डिलमा ५ सय मिटर लामो दुई र तीन लाइन भएको रेलिङ राख्नुका साथै घामपानीबाट ओत लाग्न गोलघर बनाएको छ । डाँडाको बीच–बीचमा छुट्टै १५ वटा आरामकुर्सी राखेको छ ।

‘केही वर्षअघिसम्म यो डाँडाको कसैलाई वास्ता थिएन । अहिले तन्नेरीको आकर्षण छ,’ समिति अध्यक्ष ध्रुवराज कार्कीले भने, ‘लभर्स हिलको पर्यटन विकास गर्न डिटेल प्रोजेक्ट रिपोर्ट बनाउने क्रममा छौं । सामुदायिकरूपमा काम गर्ने कि लभर्स हिललाई प्राइभेट क्षेत्रलाई दिने छलफल गर्दैछौं ।’ उक्त डाँडालाई लक्ष्य गर्दै पर्यटन प्रवद्र्धन गर्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय समितिले बेनीदेखि लभर्स हिलसम्म रेलिङसहितको पदमार्ग र चुचुरोमा प्रेमपार्क बनाउन लिखित प्रतिबद्धता गरेको छ । काठमाडौंको चन्द्रागिरी हिलजस्तै लभर्स हिललाई पनि बेनी आउँदा पुग्नैपर्नेमध्येको गन्तव्य बनाउन व्यापारिक समूह केही वर्षका लागि लिजमा लिने प्रयासमा छन् । ‘लभर्स हिल आकर्षक भ्यू पोइन्ट पनि रहेछ,’ मोना आईसीसीका अध्यक्ष चक्रबहादुर थापाले भने, ‘जिल्लाको विकासमा सहयोग जुटाउँदै आएको मोनाले लभर्स हिलमा आकर्षक प्रेमपार्क बनाउन प्रतिबद्ध छ ।’

समुदाय र प्रवासी म्याग्देलीले मात्र होइन स्थानीय सरकारले पनि लभर्स हिलको पर्यटन पूर्वाधार निर्माण र प्रेम पार्क बनाउन थप बजेट विनियोजन गरेको छ । बेनी नगरपालिकाले छुट्टै लभर्स हिलसमेतका पर्यटकीय गन्तव्यलाई समेटेर रामायण पार्क बनाउने गुरुयोजना बनाउन ५० लाख बजेटसमेत विनियोजन गरेको छ ।

‘लभर्स हिललाई प्रेम जोडीले फुर्सदको उपयोग गर्ने थलो मात्र होइन घुमघामको राम्रो गन्तव्य बनाउन चाहेका छौं,’ बेनी नगरपालिकाको युवा तथा भौतिक पूर्वाधार समिति संयोजक कृष्णकुमार विकले भने, ‘बेनी नगर क्षेत्रमा सबै खाले उमेर समूहका लागि पार्क आवश्यक छ । बालउद्यान, प्रेमबगैंचा, वृद्धवृद्धाहरूका लागि भजन चौतारीजस्ता पार्क निर्माण योजनामा काम भइरहेको छ ।’

लभर्स हिलबाट पर धौलागिरि हिमशृंखलामुन्तिर तरेली परेका पहाडका हरिया फाँटको मनोरम दृश्य देखिन्छ । दायाँ र बाँयाबाट नागवेली भई बग्दै झरेका काली र म्याग्दी नदी देखिन्छन् । म्याग्दी र कालीगण्डकी नदीको संगममा बेनीको बजार क्षेत्र पर्छ । डाँडाबाट यो सहरको राम्रो दृश्य देखिन्छ । लभर्स हिलको बीचमा पूर्व–पश्चिम फैलिएको जंगल छ ।

‘लभ गर्नेहरूका लागि स्पट बनाउने कुरा उठाउँदा मान्छे हाँस्छन् तर यो समाजका लागि पनि जरुरी कुरा चाहिँ हो,’ लभ मेकिङ स्पटका अभियन्ता तथा म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले भने, ‘सहरीकरणले सार्वजनिक स्थल मासिए, तन्नेरीहरू भेला हुने, भेट्ने पार्क आवश्यक छ ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?