सन्तान देखाउने र माग्नेको भीड

कान्तिपुर संवाददाता

लमजुङ — काठमाडौंका प्रकाश लम्साल र उनकी पत्नी टिंकु चापागाईं करापुटारको ईशानेश्वर मन्दिरमा २ वर्ष नपुग्दैकी छोरी शिवानी च्यापेर आए ।

लमजुङको मध्यनेपालमा पर्ने करापुटारस्थित ईशानेश्वर महादेवको मन्दिरमा ठाडो बत्ती बालेपछि जन्मिएकी छोरी देखाउन आएकी काठमाडौंकी टिंकु चापागाइँ (छोरी च्याप्दै गरेकी) । साथमा उनका आफन्त । तस्बिर : कान्तिपुर

विवाह भएको १० वर्षसम्म पनि सन्तान नभएको अवस्थामा ईशानेश्वर मन्दिर आएर ठाडाबत्ती बालेपछि सन्तान सुख प्राप्त भएको उनीहरूको विश्वास छ । ‘पहिले हामीलाई विश्वास लागेन । पछि २/४ जनाले भनेपछि ३ वर्षअघि ठाडाबत्ती बाल्न आएका थियौं’ लजालु स्वभावमा टिंकुले भनिन्, ‘हुन त भगवानप्रति आस्था हो । विश्वास नगरौं भने पनि आफ्नै सन्तान भएपछि गर्न करै लाग्यो । अनि छोरी देखाउन पुन: मन्दिर आएँ ।’ उनीहरूसँगै काठमाडौंबाट शर्मिला पाण्डे आएकी छन् । ‘रातभरि उभिएर ठाडाबत्ती बालेमा सन्तान प्राप्त हुन्छ भन्ने विश्वास छ । म पनि ठाडाबत्ती बाल्न आएकी हुँ,’ उनले भनिन् ।

Yamaha

लमजुङकै मध्यनेपाल थानसिङ नेटाका कृष्ण गुरुङ र सम्झना गुरुङ पनि छोरा कृषलाई लिएर ईशानेश्वर मन्दिरको दर्शन गर्न आए । विवाह गरेपछि छोराको चाहना बोकेका गुरुङ दम्पतीले २ वर्षअघि रातभर जाग्राम बसेर ठाडाबत्ती बालेको बताए । ‘मनमा छोरा नै चिताएर ठाडाबत्ती बालेको थिएँ । रातभरिको कष्टपूर्ण तवरले बत्ती बालेरै उभिएर रात कटाउनु कम दु:ख थिएन । त्यसैले छोरा प्राप्त भो, मनले सोचेको जस्तै भयो’ कृष्णले भने । ईशानेश्वर महादेव मन्दिरमा रातभरि ठाडाबत्ती बालेमा सन्तान प्राप्त हुने वा मनोकामना पूरा हुने विश्वास लिएर मन्दिर दर्शनको लागि आएको कास्की लेखनाथस्थित एभरेस्ट बैंक तालचोक शाखाकी प्रिती बनियाले बताइन् । नबिल बैंक न्यूरोड शाखा काठमाडौंकी देवी खड्काले पनि सन्तान प्राप्त हुने सुनेर ठाडाबत्ती बाल्नआएको बताइन् ।
ईशानेश्वर मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे ‘शास्त्री’ का अनुसार सन्तान प्राप्ति, पुत्रपुत्री लाभका लागि शिवरात्रिको रातभर उभिएरै ठाडाबत्ती बाल्ने गरिन्छ । सन्तान प्राप्त हुने धार्मिक विश्वास छ । ‘रातैभर उभिएर बत्ती बालेमा मागेका कुरा पूरा हुने धार्मिक विश्वास छ,’ उनले भने । मन्दिर परिसरमा मंगलबार राति ७ सय जनाले ५ सय रुपैयाँको टिकट काटेर सुरक्षित तवरले ठाडाबत्ती बालेको समितिले जनाएको छ । यस्तै ४ सयभन्दा बढीले आफ्नै ढंगले ठाडाबत्ती बालेको अनुमान गरिएको छ । ‘यस वर्ष हामी मन्दिर पुनर्निर्माण गर्दैछौं । अझै व्यवस्थित गर्न सकिएको छैन,’ उनले भने । करिब २० हजारको संख्याले पाल टाँगेर रातभर जाग्राम बसी बत्ती बालेको अनुमान मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरका पुजारी दिव्यचन्द्र सोतीका अनुसार सन्तान वा पुत्रपुत्री लाभको कामना गर्दै भक्तजनले रातभर निराहार बत्ती बाल्छन् । सन्तानको इच्छा राखेर ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर बत्ती बाल्ने, सन्तान वा पुत्रलाभ भएपछि मन्दिरमा आएर महादेवलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीका अन्य मनोकामना पनि पूरा हुने विश्वासले शिवरात्रिमा ईशानेश्वर महादेव मन्दिर परिसरमा ठाडाबत्ती बाल्न आउँछन् ।
विशेषगरी महिलाले रातभरि उभिएरै बत्ती बाल्ने गर्छन् । आफ्ना पतिको सुखशान्तिको कामना गर्दै बालिने बत्तीलाई पुरुषबत्ती भनिने पुजारीहरू बताउँछन् । उभिएरै बत्ती बाल्ने भएकाले यसलाई ठाडाबत्ती भनिएको उनीहरूको भनाइ छ । परिवारको सुखशान्तिको कामना गर्दै भक्तजनले लाखबत्ती पनि बालेका छन् । पुजारीहरूका अनुसार विदेशमा रहेका पतिको सुखशान्तिको कामना गर्दै बत्ती बाल्न आउनेको संख्या पनि बढेको छ । ठाडाबत्ती बाल्न र मन्दिरमा दूध चढाउन हिमालदेखि तराईसम्मका भक्तजन आएका पुजारी सोतीले बताए ।
महाशिवरात्रि पर्वको अवसरमा ईशानेश्वरमा हरेक वर्ष मेलाको आयोजना हुँदै आएको छ । मेलामा छेलो हान्ने, ठाडोभाका गाउने, सप्ताह ज्ञान महायज्ञ, भजन गाउने, लोकदोहोरी, भलिबल प्रतियोगिता, कृषि प्रदर्शनी लगायतका कार्यक्रम गरिँदै आएको छ ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खबराको डिल बन्यो ‘लभर्स हिल’

फोदिमा पुलिसले खेदेपछि डाँडामा जोडी
घनश्याम खड्का

म्याग्दी — नाम नै काफी छ, लभर्स हिल । तन्नेरी पुस्ताको सालीन र भद्र शैलीमा मायापिरती साट्ने लभ मेकिङ स्पट अर्थात् प्रेम बगैंचा ।

सदरमुकाम बेनीको ठीक पारिपट्टि छ हाँडेभीर । भीरको टुप्पोमा अवस्थित खबराको पाखो । अहिले यो पाखो लभर्स हिलको नामले परिचित छ । लभर्स हिल बेनीबाट भर्टिकल हाइट २ सय ५० मिटर पैदल यात्रा गर्दा करिब १ किलोमिटर माथि अवस्थित छ ।
होटल र पार्कहरूमा जोडी भेटिए ‘अश्लील हर्कत’ गरी सामाजिक सद्भावमा असर पारेको आरोपमा प्रहरीले कारबाही गर्छ । सदरमुकाम र वरपरका होटल, रेस्टुरेन्टमा छापा मार्दै बैंस साट्न आतुर प्रेमी–प्रेमिकालाई प्रहरीले पक्राउ गर्न थालेपछि सुरक्षित स्थल खोज्दै म्याग्दी खोला, हाँडेभीरको पाखो र जंगलमा पुगेका हुन् । यो ठाउँ प्रहरी र आफन्त नजरबाट जोगिएर उन्मुक्त प्रेम गर्ने थलो बनेको छ । जोडी नै धेरै पुग्ने र धेरैबेर बसिरहने भएकाले पछिल्लो ५/६ वर्षमा हाँडेभीर–खबराको डिललाई समाजले लभर्स हिलको नयाँ नाम दिएको हो । युवा तथा अधबैंसे जोडीको प्रेम साट्ने गन्तव्य बन्न थालेपछि स्थानीयवासी लभर्स हिललाई पर्यटकीय गन्तव्य बनाउन जुटेका छन् । धु्रवराज कार्कीको अध्यक्षतामा लभर्स हिल पर्यटन पूर्वाधार विकास समिति सक्रिय छ । समितिले पर्यटन कार्यालय पोखराको ५ लाख, बेनी नगरपालिकाबाट ४ लाख २५ हजार, बेनी–२ वडा कार्यालयबाट ५ लाख र श्रमदान ७५ हजार जुटाएर डाँडाको डिलमा ५ सय मिटर लामो दुई र तीन लाइन भएको रेलिङ राख्नुका साथै घामपानीबाट ओत लाग्न गोलघर बनाएको छ । डाँडाको बीच–बीचमा छुट्टै १५ वटा आरामकुर्सी राखेको छ ।
‘केही वर्षअघिसम्म यो डाँडाको कसैलाई वास्ता थिएन । अहिले तन्नेरीको आकर्षण छ,’ समिति अध्यक्ष ध्रुवराज कार्कीले भने, ‘लभर्स हिलको पर्यटन विकास गर्न डिटेल प्रोजेक्ट रिपोर्ट बनाउने क्रममा छौं । सामुदायिकरूपमा काम गर्ने कि लभर्स हिललाई प्राइभेट क्षेत्रलाई दिने छलफल गर्दैछौं ।’ उक्त डाँडालाई लक्ष्य गर्दै पर्यटन प्रवद्र्धन गर्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय समितिले बेनीदेखि लभर्स हिलसम्म रेलिङसहितको पदमार्ग र चुचुरोमा प्रेमपार्क बनाउन लिखित प्रतिबद्धता गरेको छ । काठमाडौंको चन्द्रागिरी हिलजस्तै लभर्स हिललाई पनि बेनी आउँदा पुग्नैपर्नेमध्येको गन्तव्य बनाउन व्यापारिक समूह केही वर्षका लागि लिजमा लिने प्रयासमा छन् । ‘लभर्स हिल आकर्षक भ्यू पोइन्ट पनि रहेछ,’ मोना आईसीसीका अध्यक्ष चक्रबहादुर थापाले भने, ‘जिल्लाको विकासमा सहयोग जुटाउँदै आएको मोनाले लभर्सहिलमा आकर्षक प्रेमपार्क बनाउन प्रतिबद्ध छ ।’
समुदाय र प्रवासी म्याग्देलीले मात्र होइन स्थानीय सरकारले पनि लभर्स हिलको पर्यटन पूर्वाधार निर्माण र प्रेम पार्क बनाउन थप बजेट विनियोजन गरेको छ । बेनी नगरपालिकाले छुट्टै लभर्स हिलसमेतका पर्यटकीय गन्तव्यलाई समेटेर रामायण पार्क बनाउने गुरुयोजना बनाउन ५० लाख बजेटसमेत विनियोजन गरेको छ ।
‘लभर्स हिललाई प्रेम जोडीले फुर्सदको उपयोग गर्ने थलो मात्र होइन घुमघामको राम्रो गन्तव्य बनाउन चाहेका छौं,’ बेनी नगरपालिकाको युवा तथा भौतिक पूर्वाधार समिति संयोजक कृष्णकुमार विकले भने, ‘बेनी नगर क्षेत्रमा सबै खाले उमेर समूहका लागि पार्क आवश्यक छ । बालउद्यान, प्रेमबगैंचा, वृद्धवृद्धाहरूका लागि भजन चौतारीजस्ता पार्क निर्माण योजनामा काम भइरहेको छ ।’
लभर्स हिलबाट पर धौलागिरि हिमशृंखलामुन्तिर तरेली परेका पहाडका हरिया फाँटको मनोरम दृश्य देखिन्छ । दायाँ र बाँयाबाट नागवेली भई बग्दै झरेका काली र म्याग्दी नदी देखिन्छन् । म्याग्दी र कालीगण्डकी नदीको संगममा बेनीको बजार क्षेत्र पर्छ । डाँडाबाट यो सहरको राम्रो दृश्य देखिन्छ । लभर्स हिलको बीचमा पूर्व–पश्चिम फैलिएको जंगल छ ।
‘लभ गर्नेहरूका लागि स्पट बनाउने कुरा उठाउँदा मान्छे हाँस्छन् तर यो समाजका लागि पनि जरुरी कुरा चाहिँ हो,’ लभ मेकिङ स्पटका अभियन्ता तथा म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले भने, ‘सहरीकरणले सार्वजनिक स्थल मासिए, तन्नेरीहरू भेला हुने, भेट्ने पार्क आवश्यक छ ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT