कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बहिरा स्कुलमा ४६ जिल्लाका विद्यार्थी

पूर्ण विके

पोखरा — सञ्चालनमा आएको तीन दशक पुग्दा लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा यतिबेला पढ्न आउने विद्यार्थी ४६ जिल्लाबाट २ सय ४० जना पुगेका छन् ।

बहिरा स्कुलमा ४६ जिल्लाका विद्यार्थी

११ र १२ कक्षासम्म बहिरा विद्यार्थी पढाउने मुलुककै यो पहिलो विद्यालय पनि हो । विद्यालयका अनुसार यहाँ पढ्न पठाउन सम्बद्ध अभिभावकको चासो बढेकाले विद्यार्थी बढेका हुन् । मुलुकमै बहिरा विद्यालयतर्फ पहिलोपटक २०६३ सालदेखि ११ र १२ को पढाइ सुरु गरेपछि बाहिरी जिल्लाबाट पनि बहिरा छोराछोरीलाई पढाउन ल्याउने अभिभावकहरूको चाप बढेको प्रधानाध्यापक अनिता सिग्देलले बताइन् ।

छात्रछात्रा गरी १ सय ५० ले छात्रावासमै बसेर पढ्छन् । प्रत्येक विद्यार्थीलाई खाजा, खाना र व्यवस्थापनका लागि राज्यले मासिक ४ हजार रुपैयाँका दरले ११ महिनाको रकम उपलब्ध गराउँछ ।

सैद्धान्तिक शिक्षाको अपेक्षा यहाँ अध्ययनरत विद्यार्थीहरू व्यावहारिक शिक्षाको आशा गर्छन् । राज्यले व्यावहारिक शिक्षाको पाठ्यक्रम ल्याउन सके आफूहरू बेरोजगार हुनु नपर्ने १२ कक्षामा पढ्ने झापाकी सुजना अधिकारीले बताइन् । ‘हामी अरूजस्तो बोल्न सक्दैनौं,’ हातको संकेतबाट उनले भनिन्, ‘त्यसैले व्यावहारिक शिक्षा पाए हामी आफैं केही गर्न सक्ने थियौं ।’ २०४४ सालदेखि सञ्चालनमा रहेको विद्यालयमा मावि तहका ११ जनासहित २४ जना शिक्षक छन् । विद्यार्थीलाई खाना, खाजा र छात्रावासका लागि थप ९ जना कर्मचारी छन् । राज्यले प्रतिशिक्षक १० विद्यार्थी तोके पनि पर्याप्त भौतिक पूर्वाधार नभएकाले समस्या भएको विद्यालयका शिक्षक सुनील भण्डारीले बताए । ‘हातको संकेतबाटै विद्यार्थीलाई पढाउनु पर्दा निकै सावधानी अपनाउनुपर्छ,’ उनले भने, ‘भवन पर्याप्त नहुँदा शिशु र नर्सरीका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परेको छ ।’

विद्यालयमा १७ वटा कक्षा छन् । कोठा अपर्याप्त भएकाले जिल्ला शिक्षा कार्यालयबाट दुई कोठे भवन निर्माणका लागि १६ लाख र महानगरपालिकाको कार्यालयबाट ३ लाख प्राप्त भएको विद्यालयले जनाएको छ । ती भवन निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापन समिति अध्यक्ष विष्णुहरि पाण्डेले बताए । शैक्षिक गुणस्तर वृद्धिका लागि आफूहरूले समेत नियमित परामर्श, छलफल र चासो राख्ने गरेको उनले जानकारी दिए । ‘बहिरा विद्यार्थीले राम्रोसँग सिकुन् र सक्षम होउन् भन्नेमा हामी लागि परेका छौं,’ उनले भने, ‘उच्च शिक्षासमेत यहाँ नै प्राप्त हुने भएपछि विद्यार्थीको चाप यो विद्यालयमा बढेको छ ।’ हावापानीले समेत पोखरा उपयुक्त भएकाले आफूले ८ वर्षीय नाति समिरलाई स्याङ्जाबाट ल्याएर गत वर्ष उक्त विद्यालयको २ कक्षामा भर्ना गरेको मनबहादुर क्षत्रीले बताए । बहिरा विद्यार्थीले नाचगान र नाटक प्रस्तुत गरेर अभिभावकलाई मनोरञ्जन दिए । वार्षिकोत्सवमा संविधानसभा सदस्य खगराज अधिकारीले अपांगता भएका विद्यार्थीलाई राज्यले दक्ष बनाउने शिक्षामा जोड दिइनुपर्ने बताए ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?