खानेपानीको चर्को सास्ती

बजेट अभावले आयोजना अलपत्र
ठाउँठाउँमा विवादले काम रोकियो
प्रकाश बराल

बागलुङ — यहाँका दुईटा ठूला आयोजना १८ वर्षदेखि अझै अपूरा छन् । क्रमागत योजनामा पर्याप्त बजेट नआएपछि यस्तो भएको हो । 

बागलुङको भकुन्डेस्थित धारामा पानी थाप्दै उपभोक्ता । तस्बिर : प्रकाश/कान्तिपुर

रायडाँडा र बुर्तिबाङ खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा स्थानीयले पानीका लागि सास्ती खेप्नु परिरहेको बताएका छन् । राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आएका योजनामै बजेट अपुग भएपछि अपूरा आयोजना कहिले सम्पन्न हुने भन्ने टुंगो पनि छैन । खानेपानीकै समस्याले कतिपयले बसाइँ सरिसकेको समेत स्थानीयले गुनासो गरे ।
निर्माण थालनी हुँदा १ करोड ८० लाख लागत रहने भनिएको रायडाँडा खानेपानी आयोजनाको लागत २ करोड ९० लाख पुगिसकेको डिभिजन प्रमुख पूर्णप्रसाद उपाध्यायले बताए । ‘उतिबेला बजेट आएर बनाउन पाएको भए धेरैले राहत पाउने थिए, अपूरै भएकाले अहिलेसम्म समुदायलाई हस्तान्तरण गर्न पाइएको छैन,’ उनले भने, ‘कनिका छरेजस्तो बजेटले आयोजना पूरा हुँदैनन् । उपभोक्ता बसाइँ सरेर कतिपय धारा नै बेकामे हुने अवस्थामा पुगिसके ।’
रायडाँडाका लागि ७ वटा सहआयोजना बनाएर काम भएको थियो । तीमध्ये ५ वटा पूरा भए पनि दुईवटा अझै अपूरै छन् ।
चालु वर्षका लागि २१ लाख रुपैयाँको बजेटमा त्यहाँ काम भइरहेको छ । तर, कम्तीमा ३० लाखसम्म बजेट भए मात्रै निर्माण सम्पन्न हुने अवस्था छ । ‘त्यसैले यो वर्ष पनि सम्भव छैन,’ उनले भने, ‘बर्सेनि आयोजना थपिँदै जाने र सबैमा थोरै बजेट मात्र विनियोजन हुने समस्या छ ।’ जिल्लाबाट गएका योजना छाडेर केन्द्रबाट रातो किताबमा योजना पर्ने समस्याले आयोजनाहरू प्रभावित भएको उनले टिप्पणी गरे ।
त्यस्तै बुर्तिबाङ बजारका लागि खानेपानी पुर्‍याउन २०५६ सालमा निर्माण थालिएको आयोजना पनि अहिलेसम्म पूरा भएको छैन । लामो दूरी र ठूलो आयोजना भए पनि बजेट अभावले अलपत्रजस्तै भइरहेको उनले बताए । बजेट अभावले निर्माण सम्पन्न हुनै नसक्ने, हरेक वर्ष लागत बढ्ने समस्या भएपछि नगरपालिकाले रिजर्भ ट्यांकी बनाएर चालु वर्षभित्रै सक्नेगरी दुवै पक्षबाट काम भएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । ‘रिजर्भ नबनाए पुग्दैन, केन्द्रीय बजेटको भर पर्दा अझै कहिले खान पाउने हो थाहा नभएपछि हामीले पनि पहल गरेका छौं,’ उनले भने, ‘अन्य स्रोत खोजेर बढदो जनसंख्यालाई पानी खुवाउने तयारी गर्दैछौं ।’
एकजनाको विवादले ८ सय घर प्रभावित
बडिगाढ गाउँपालिकाको ग्वालिचौरमा खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि एक घरपरिवारको अवरोधले ८ सय घरमा लगिएको खानेपानी अवरुद्ध भएको छ । ग्वालिचौर भकभके खानेपानी आयोजनाको निर्माण सम्पन्न भएर इन्टेकमा पानी खसाल्ने समयमा स्थानीय प्रेमलाल खरेल र उनका छोराहरू विष्णु र नारायणले अवरोध गरेपछि दुई करोडको आयोजना अलपत्र परेको छ । निर्माण सम्झौता गर्ने समयदेखि सबै काम सकिँदासम्म सहमति गरेका खरेल परिवारले सम्पन्न भएपछि आफूहरूको जग्गाको पानी लगिएको भन्दै अवरोध गरेका हुन् । उनीहरूले उक्त पानी लैजाने भए आफ्नो घरमा नि:शुल्क र निजी धारा बनाइदिनुपर्ने, मुआब्जा दिनुपर्ने र आफ्नो घरसम्म मोटरबाटो खनिदिनुपर्नेजस्ता माग गरेको इन्जिनियर जनकराज गौडेलले बताए । ‘जग्गाको नजिक पर्छ भनेर आफ्नै हो भन्ने प्रवृत्तिले खानेपानीको आयोजना अलपत्र पार्न नहुने हो,’ उनले भने, ‘राजनीतिक नेतृत्व, गाउँपालिकासमेतको उपस्थितिमा सहमतिको प्रयास भइरहेको छ ।’ उक्त आयोजनाले ग्वालिचौरका ८ सय घरमा खानेपानी पुर्‍याउने लक्ष्य राखेको छ ।
एक घर एक धारा
लामो समयसम्म निर्माण सम्पन्न नहुने समस्या हटाउन र स्थानीयको लगानी पनि थप गर्न डिभिजनले चालु आर्थिक वर्षदेखि एक घर एक धाराको काम थालेको छ । त्यसका लागि उपभोक्ताले पनि लगानी गर्नुपर्छ । ‘रिर्जभ ट्यांकी निर्माण गर्ने र व्यक्तिगत धारा बनाएर घरघरमा वितरण गर्ने योजना अनुसार काम थालिसक्यौं,’ डिभिजन प्रमुख उपाध्यायले भने, ‘अहिलेसम्म झन्डै ६ हजार निजी धारा निर्माण भइसकेका छन् ।’ बागलुङ बजारमा ४ हजार निजी धारा छन् भने बलेवाको नारायणस्थान र पैयुँपाटामा १ हजार, गलकोट, मालिका लगायतमा थप १ हजार धारा बनिसकेका छन् ।
सार्वजनिक धारा भएकै स्थानमा पनि घरघरमै पाइप जोडेर लैजाने गरेकाले निजीको विकल्प नभएको उपाध्याय बताउँछन् । निजीमा जाँदा राजस्व संकलन हुने, चुहावट रोकिने र नियमित मर्मत गर्न सकिन्छ । चालु वर्ष जिल्लामा ७२ वटा खानेपानी आयोजना निर्माणाधीन छन् । ती सबैलाई निजी धाराकै प्रक्रियामा लैजान लागिएको हो । निजी धारामा जाँदा उपभोक्ताले मिटर जडानलगायत ३ हजारदेखि ५ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्छ । धारा जोडे पनि मासिक तोकिएको शुल्क नियमित तिर्नुपर्छ ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बहिरा स्कुलमा ४६ जिल्लाका विद्यार्थी

पूर्ण विके

पोखरा — सञ्चालनमा आएको तीन दशक पुग्दा लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा यतिबेला पढ्न आउने विद्यार्थी ४६ जिल्लाबाट २ सय ४० जना पुगेका छन् ।

पोखरा २९ लेखनाथमा रहेको सिर्जना बहिरा आवासीय माविका विद्यार्थी । तस्बिर : पूर्ण/कान्तिपुर

११ र १२ कक्षासम्म बहिरा विद्यार्थी पढाउने मुलुककै यो पहिलो विद्यालय पनि हो । विद्यालयका अनुसार यहाँ पढ्न पठाउन सम्बद्ध अभिभावकको चासो बढेकाले विद्यार्थी बढेका हुन् । मुलुकमै बहिरा विद्यालयतर्फ पहिलोपटक २०६३ सालदेखि ११ र १२ को पढाइ सुरु गरेपछि बाहिरी जिल्लाबाट पनि बहिरा छोराछोरीलाई पढाउन ल्याउने अभिभावकहरूकोचाप बढेको प्रधानाध्यापक अनिता सिग्देलले बताइन् ।
छात्रछात्रा गरी १ सय ५० ले छात्रावासमै बसेर पढ्छन् । प्रत्येक विद्यार्थीलाई खाजा, खाना र व्यवस्थापनका लागि राज्यले मासिक ४ हजार रुपैयाँका दरले ११ महिनाको रकम उपलब्ध गराउँछ ।
सैद्धान्तिक शिक्षाको अपेक्षा यहाँ अध्ययनरत विद्यार्थीहरू व्यावहारिक शिक्षाको आशा गर्छन् । राज्यले व्यावहारिक शिक्षाको पाठ्यक्रम ल्याउन सके आफूहरू बेरोजगार हुनु नपर्ने १२ कक्षामा पढ्ने झापाकी सुजना अधिकारीले बताइन् । ‘हामी अरूजस्तो बोल्न सक्दैनौं,’ हातको संकेतबाट उनले भनिन्, ‘त्यसैले व्यावहारिक शिक्षा पाए हामी आफैं केही गर्न सक्ने थियौं ।’ २०४४ सालदेखि सञ्चालनमा रहेको विद्यालयमा मावि तहका ११ जनासहित २४ जना शिक्षक छन् । विद्यार्थीलाई खाना, खाजा र छात्रावासका लागि थप ९ जना कर्मचारी छन् । राज्यले प्रतिशिक्षक १० विद्यार्थी तोके पनि पर्याप्त भौतिक पूर्वाधार नभएकाले समस्या भएको विद्यालयका शिक्षक सुनील भण्डारीले बताए । ‘हातको संकेतबाटै विद्यार्थीलाई पढाउनु पर्दा निकै सावधानी अपनाउनुपर्छ,’ उनले भने, ‘भवन पर्याप्त नहुँदा शिशु र नर्सरीका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परेको छ ।’
विद्यालयमा १७ वटा कक्षा छन् । कोठा अपर्याप्त भएकाले जिल्ला शिक्षा कार्यालयबाट दुई कोठे भवन निर्माणका लागि १६ लाख र महानगरपालिकाको कार्यालयबाट ३ लाख प्राप्त भएको विद्यालयले जनाएको छ । ती भवन निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापन समिति अध्यक्ष विष्णुहरि पाण्डेले बताए । शैक्षिक गुणस्तर वृद्धिका लागि आफूहरूले समेत नियमित परामर्श, छलफल र चासो राख्ने गरेको उनले जानकारी दिए । ‘बहिरा विद्यार्थीले राम्रोसँग सिकुन् र सक्षम होउन् भन्नेमा हामी लागि परेका छौं,’ उनले भने, ‘उच्च शिक्षासमेत यहाँ नै प्राप्त हुने भएपछि विद्यार्थीको चाप यो विद्यालयमा बढेको छ ।’ हावापानीले समेत पोखरा उपयुक्त भएकाले आफूले ८ वर्षीय नाति समिरलाई स्याङ्जाबाट ल्याएर गत वर्ष उक्त विद्यालयको २ कक्षामा भर्ना गरेको मनबहादुर क्षत्रीले बताए । बहिरा विद्यार्थीले नाचगान र नाटक प्रस्तुत गरेर अभिभावकलाई मनोरञ्जन दिए । वार्षिकोत्सवमा संविधानसभा सदस्य खगराज अधिकारीले अपांगता भएका विद्यार्थीलाई राज्यले दक्ष बनाउने शिक्षामा जोड दिइनुपर्ने बताए ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT