कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याग्दीमा झोलुंगे पुलले छोट्टियो दूरी

४७ वटाको सामान्य मर्मत र २१ वटाको बृहत् मर्मत गर्नुपर्ने अवस्था छ
घनश्याम खड्का

म्याग्दी — घुमाउरो बाटो स्कुल पुग्न चार घण्टा लाग्ने रघुगंगा गाउँपालिका १ बान्दुककी मञ्जु पुनलाई झोलुंगे पुलले सजिलो भएको छ । उनलाई अब महादेव मावि आउजाउ गर्न एक घण्टा मात्रै लाग्छ । 

म्याग्दीमा झोलुंगे पुलले छोट्टियो दूरी

साबिकको जिल्ला विकास समितिले रघुगंगा १ को बेग र बान्दुक बस्ती जोड्न बेग खोलामाथि निर्माण गरेको पुल ३ सय ६६ मिटर लम्बाइको छ । पानीको सतहदेखि १ सय ४८ मिटर अग्लो पुल निर्माणले दुवै बस्तीका बासिन्दाको दैनिक जीवन सहज भएको छ । सबैभन्दा खुसी स्कुले बालबालिका छन् । बेगखोला झोलुंगे पुलसहित चालु वर्ष म्याग्दीमा यस्ता ११ वटा पुल बनेर सञ्चालनमा आएका छन् ।


‘अभिलेखअनुसार पहाडको वल्लो र पल्लो पाखोमा अवस्थित बेग र बान्दुक बस्ती जोड्ने बेग खोला झोलुंगे पुल नेपालको सबैभन्दा लामो हो,’ जिल्ला प्राविधिक कार्यालयका सबइन्जिनियर बालकृष्ण पौडेलले भने, ‘देशको कुनै पनि ठाउँमा अहिलेसम्म यत्तिको अग्लो झोलुंगे पुल अन्त बनिसकेको छैन ।’ २ करोड ८० लाखको लागत रहेको पुल ठेकेदार कम्पनी पोखराको मुक्तिनाथ–श्रीगीता जेभीले निर्माण गरेको हो । पुलमा प्रयोग भएका लट्ठा र बुल्डोरग्रिप भने छुट्टै स्वीस विकास नियोगअन्तर्गतको हेल्वेटासको आर्थिक सहयोगमा स्थानीय मामिला तथा संघीय मन्त्रालयको ट्रेल ब्रिज सपोर्ट युनिटले उपलब्ध गराएको हो ।


ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य लगायतका आर्थिक लाभका सेवा लिन जनताले हिँडेर तर्न नसक्ने नदी वा खोला पार गर्न बनाइएका झोलुंगे पुल म्याग्दीमा अझै धेरै छन् ।


जिल्ला समन्वय समितिको अभिलेखअनुसार म्याग्दीमा झोलुंगे पुको संख्या १ सय ९१ वटा छ । यिनमा ९९ वटा मात्र सुरक्षित छन् । ४७ वटाको सामान्य मर्मत र २१ वटाको बृहत् मर्मत गर्नुपर्ने अवस्था छ । गाउँ–गाउँमा निर्माण भएका मोटरबाटाले जिल्लाका २४ वटा झोलुंगे पुल विस्थापित गरेकाले प्रयोगहीन छन् ।


‘जिल्लाभरिका सबै झोलुंगे पुलको अवस्था, माग र संख्याको यकिन तथ्यांक राखेका छौं, प्राथमिकताका आधारमा काम पनि गरिरहेका छांै,’ प्राविधिक कार्यालयका झोलुंगे पुल हेर्ने सबइन्जिनियर पौडेलले भने, ‘यो वर्षको बजेट प्राविधिक कार्यालयमा आए पनि अब नयाँ माग अनुसार निर्माण गर्ने, पुनर्निर्माण, मर्मत र संरक्षणको काम स्थानीय सरकारलाई दिने सम्भावना छ ।’ जीर्ण पुल मर्मत गर्न माघ दोस्रो साता मात्र मन्त्रालयले बजेट निकासा दिएको छ । जिल्ला प्राविधिक कार्यालयका अनुसार यो वर्ष झोलुंगेको साधारण मर्मत गर्न ११ लाख ४६ हजार र बृहत् मर्मत गर्न १० लाख ४७ हजार बजेटको अख्तियारी आएको छ । नयाँ पुल निर्माण गर्न थप ३२ लाख ७८ हजार रुपैयाँको छुट्टै अख्तियारी आएको छ ।


मन्त्रालयले ट्रेल ब्रिज सपोर्ट युनिटमार्फत सहयोग गरेका पुलको मात्र अभिलेख राखेको छ । जिससका अनुसार जिल्लामा थप दुई सयवटा त्यस्ता पुलको माग छ ।


पुराना अधिकांश पुलहरू स्थानीय फलामको काम गर्नेहरूले तयार पारेका डिजाइनमा आधारित छन् । बेनीको पश्चिम मंगलाघाटमा म्याग्दी नदीमाथि निर्मित र चालु अवस्थाको झोलुंगे पुल बागलुङको गल्कोटका लालबहादुर शेरचनले विसं १९२५ मा म्याग्दीको रुमको खानीबाट निकालिएको फलामलाई साङ्लो बनाएर निर्माण गर्न लगाएका थिए । यो नै चालु अवस्थामा रहेको जिल्लाको सबैभन्दा पुरानो पुल हो ।


मुलुकमा आधुनिक झोलुंगे पुलको अवधारणा भने डा. टोनी हागनले भित्र्याएको मानिन्छ । सुरुमा झोलुंगे पुलमा काठका फलेक प्रयोग गरिन्थ्यो । हिजोआज वन विनाश रोक्न स्टिलका पाता प्रयोग गरिन्छ । अझै दुर्गमका गाउँहरूका पुलमा काठकै उपयोग गरिएका छन् । झोलुंगे पुलमा पनि सस्पेन्सन, सस्पेन्डेड र ट्रस गरी तीन प्रकारको प्रचलनमा रहेको प्राविधिकहरूले बताएका छन् ।

जिल्लाका सबै झोलुंगे पुलको रेखदेख, सामान्य मर्मत र समस्याको सरोकारवाला निकायमा तत्काल खबर गर्न कर्मचारी ‘हेरालु’ नियुक्त गरिएका छन् । प्राविधिक कार्यालयको अभिलेख अनुसार जिल्लाका सबै १ सय ९१ वटा झोलुंगेमा हेरालु छन् । सरकारले हेरालुमार्फत पुलको रेखदेख र सरसफाइ गर्न प्रतिपुल वार्षिक ६ हजार उपलब्ध गराउँछ । तर, स्थानीय तहले हेरालुको पारिश्रमिक सबै आन्तरिक कोषमा रूपान्तरण गरी अन्यत्र खर्च गर्ने गरेका छन् ।

प्रकाशित : फाल्गुन ४, २०७४ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?