मनाङमा पुगेनन् पाठ्यपुस्तक

आश गुरुङ, विना थापा

काठमाडौँ — हिमाली जिल्ला मनाङमा फागुन लागेसँगै शैक्षिक सत्र सुरु भइसकेको छ । तल्लो भेगका नासोङ र चामे गाउँपालिकाका स्कुलमा पढाइसमेत सुरु भइसकेको छ । पाठ्युपस्तक भने अझै पुगेका छैनन् । 

मनाङमा पुगेनन् पाठ्यपुस्तक

माथिल्लो क्षेत्रमा पर्ने नेस्याङ र नारफू गाउँपालिकामा भने चैतदेखि मात्रै पढाइ हुन्छ । तल्लो क्षेत्रमै नपुगेपछि माथिल्लो मनाङमा झन् कहिले पुग्ने भन्ने अन्योल भएको शिक्षक बताउँछन् । पाठ्यपुस्तक अभावमा पढाइ प्रभावित भएको छ । नासोङ गाउँपालिका १ तालस्थित भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले पाठ्यपुस्तक अभावमा पुरानै पुस्तक पढाउन बाध्य भएको जनाएका छन् । उक्त स्कुल

जिल्लाकै सबैभन्दा तल्लो क्षेत्रमा पर्छ । यस वर्ष १० कक्षा पास गरेका विद्यार्थीले एसईई परीक्षाका लागि पाठ्यपुस्तक आफैंसँग लगेपछि नयाँ विद्यार्थीले पुराना किताब नपाएको प्रअ पन्तले बताए ।


सरकारले शैक्षिकसत्र सुरुसँगै हरेक विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्‍याउने घोषणा गर्दै आए पनि हिमाली जिल्लाका विद्यार्थीले भने समयमै पाउँदैनन् । नोसोङ गाउँपालिका शिक्षा शाखाका नासु राजेन्द्र देवकोटाका अनुसार गत वर्षको विद्यार्थी तथ्यांक हेरेर पाठ्यपुस्तक

माग गरिएको छ । पाठ्यपुस्तक ल्याउन लमजुङको भोटेओडारस्थित सापकोटा स्टेसनरीले जिम्मा लिएको छ । उसले ढिलोमा मंगलबारसम्म गाउँपालिका कार्यालयमा पाठ्यपुस्तक पठाउने बताएको देवकोटाले जानकारी गराए । ‘पाठ्यपुस्तक आएका छैनन् । पहिले

गाउँपालिका कार्यालयमा आउँछन् र त्यसपछि मात्रै स्कुलमा पुग्छन्,’ उनले भने । उनले स्कुलबाट पाठ्यपुस्तक प्राप्तसम्बन्धी मागफारम आउनेक्रम जारी रहेको बताए ।


सदरमुकाम चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक सुरेशकुमार थापाले पनि पुस्तक आइनसकेको बताए । पाठ्यपुस्तक नहुँदा विद्यार्थी पढ्न आउन मान्दैनन् । जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले पाठ्यपुस्तक व्यवस्थापको जिम्मा सबै स्थानीय तहलाई

दिएको बताए । ‘अब पाठ्यपुस्तक र त्यसको बजेट व्यवस्थापन सबै स्थानीय तहले हेर्छ,’ उनले भने । मनाङमा ४ मावि, १० आधारभूत र १३ प्रावि गरी २७ सामुदायिक विद्यालय छन् ।


पर्याप्त पठाएका छौं : जनक शिक्षा


पोखरास्थित जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय कार्यालयले मनाङ र मुस्ताङमा माघ अन्तिम सातामै पर्याप्त पाठ्यपुस्तक पठाएको जनाएको छ । कार्यालयका प्रमुख जय अर्यालका अनुसार मनाङबाट ६ कक्षाका लागि २५, ७ कक्षाका ४२, ८ का ५८, ९ का ४८ र

१० का लागि ४९ सेट पाठ्यपुस्तकको माग भई आएको थियो । तर कार्यालयले सबै कक्षाका लागि १–१ सय सेटका दरले किताब पठाएको छ । ‘मनाङका सबै विद्यार्थीलाई पुगेर रहेमा लमजुङ ल्याएर पनि बिक्री गर्न मिल्ने भएकाले मागभन्दा बढी सेट पठाएका हांै,’ अर्यालले

भने, ‘मनाङका लागि बिक्रेता लमजुङका रहेकाले यस्तो गरिएको हो ।’ माघ २६ गते नै पाठ्यपुस्तक पठाइएको र एक–दुई दिनमा सम्बन्धित गाउँपालिकामा पुग्ने अर्यालले बताए ।


मनाङका लागि लमजुङको भोटेओडारस्थित सापकोटा स्टेसनरीले ६ देखि १० कक्षासम्मका पाठ्यपुस्तक पुर्‍याउने जिम्मा लिएको छ । त्यसैअनुुसार ४ हजार ४ सय २६ थान पुस्तक पठाइएको अर्यालले बताए । मुस्ताङमा पनि फागुनदेखि शैक्षिक सत्र सुरु हुने भएकाले पाठ्यपुस्तक पठाइएको र किताब लिन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ । ‘केही दिनमै विद्यार्थीका हातमा पुस्तक पुर्‍याइनेछ,’ मुस्ताङको थासाङस्थित ताग्लुङ आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले भने ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?