कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् अभावले पुँजी पलायन

प्रकाश बराल

काठमाडौँ — जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रमा अहिलेसम्म विद्युत् सेवा नपुगेको सुन्दा अनौठो लाग्नसक्छ । मध्यपहाडी लोकमार्गको १० व्यवस्थित सहरमध्येको एक बुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेको हो । 

बुर्तिबाङदेखि झन्डै ३० किमि पूर्वसम्म पनि विद्युतीकरण नहुँदा स्थानीयले लघुविद्युत् बनाएर काम चलाएका छन् । सदरमुकाममा बिजुली बलेको २५ वर्ष भइसकेको छ । दोस्रो ठूलो व्यापारिक केन्द्रमा बिजुली कहिले पुग्छ भनेर नेपाल विद्युत् प्राधिकरणको बागलुङ वितरण केन्द्रसमेत अन्योलमा छ ।


‘केही वर्षमा बिजुली पुर्‍याउन सबस्टेसनको काम गर्नुपर्नेछ,’ केन्द्र प्रमुख कपिलराज पाण्डेले भने, ‘हामी टेन्डरको प्रक्रियामा गइरहेका छौं ।’ खरबाङमा सबस्टेसन बनाएमा बुर्तिबाङसम्म विद्युत् विस्तार गर्न सकिने उनले बताए । त्यसका लागि अन्य पूर्वाधारको काम गर्दा

कम्तीमा ५ वर्ष लाग्न सक्ने स्थानीयको अनुमान छ । मध्यपहाडी लोकमार्गको व्यवस्थित सहर बनाउने राष्ट्रिय गौरवको आयोजना भएकाले

बुर्तिबाङमा सहरीकरण भने तीव्र छ । जसका कारण उद्योग व्यवसाय स्थापनाको काम धमाधम हुँदैछ । तर त्यसका लागि ऊर्जा नहुँदा व्यवसायीले मार खेपेका छन् । ‘दर्ता गरेर करोडौं लगानी गरेका व्यपारीको लगानी डुबेको छ’ बुर्तिबाङ उद्योग वाणिज्य संघका अध्यक्ष

चिन्तामणि शर्माले भने, ‘विद्युत् नहुँदा धेरै लगानी खेर गइरहेको छ ।’ लगानी अभावमा सयौंले गाउँबस्ती छाडेर बुटवललगायतका सहर पसेको र पुँजी पलायन भएको उनले बताए ।


ढोरपाटन नगरपालिकाले यो समस्या समाधानका लागि थालेको पहल पनि अझै पूरा भएको छैन । ‘विद्युतीकरण समस्याले पुँजी पलायन हुन नदिन प्राधिकरणमा कुरा गरेका छौं तर सुनुवाइ भएको छैन’ बुर्तिबाङ नगरप्रमुख देवकुमार नेपालीले भने, ‘स्थानीय लगानीमा केही

आयोजना गरौं भन्दा पनि झोलामा खोला ओगटेर बसेकाहरूले अवरोध गरेका छन् ।’ व्यवसायी र नगरपालिकाले निसी खोलाको सेरामा ९ सय ५० किलोवाटको विद्युत् निकाल्ने योजनासहित दर्ताका लागि जाँदा दशकअघि नै दर्ता भएर झोलामा रहेको भेटिएको हो ।


दर्ता गरेका दामोदर भुषाल र हरि आचार्यले आफ्ना नाउँमा दर्ता भएकाले अरूले उत्पादन गर्न नपाउने भनेपछि व्यवसायी फर्केका थिए । ‘विद्युत् आपूर्ति नभएपछि व्यवसायमा लगानी गर्नु बालुवामा पानी हाल्नुजस्तै भएको छ’ शर्माले भने, ‘समस्या समाधानका लागि

झोलामा खोला राख्नेहरूलाई कारबाही गर्नुपर्छ ।’ नगरपालिकाभित्रका झन्डै २० हजार घरले बिजुली बाल्न पाएका छैनन् । ढोरपाटन नगरपालिकाको मुख्य बजारमा अहिले भुजीखोला र रिठाखोला जलविद्युत् आयोजनाको लघुजलविद्युत्ले बिजुली बाल्न मात्र पुगेको छ ।

लघुजलविद्युत्बाट उत्पादित बिजुलीले उद्योग सञ्चालन भने हुँदैन । ठूलो सहर भएकाले ग्रिल, इँटा, कपास, होटल, फर्निचरलगायत ठूलो लगानीमा व्यवसाय सञ्चालनका लागि लगानीकर्ता आए पनि विद्युतकै समस्याले पलायन भएको शर्मा बताउँछन् । विद्युत् अभावका कारण उद्योग सञ्चालन नहुने र पुँजी पलायनको समस्या समाधान गर्न स्थानीय सरकार हस्तक्षेप गर्ने निष्कर्षमा पुगेको नगर प्रमुख नेपालीले बताए । ‘नगरपालिका अब कतिन्जेल अन्धकारमा बस्ने ?’ उनले भने, ‘दुई वर्षभित्र कुनै योजना निर्माण गरेर उज्यालो बुर्तिबाङ बनाउँछौं, खोला ओगटर बसेकालाई अब हस्तक्षेप गर्ने हाम्रो सोचाइ छ ।’

प्रकाशित : फाल्गुन ७, २०७४ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?