१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एउटै नदीमा ७ जलविद्युत् आयोजना

दिप्ती सिलवाल

काठमाडौँ — कास्की र पर्वतको सीमा हुँदै बगेको मोदी खोलामा ७ वटा जलविद्युत् आयोजना बन्ने भएका छन् । छोटो दूरीको खोलामा यति धेरै जलविद्युत् आयोजना बन्न लागेको सम्भवत नेपालमै पहिलो हो । हालसम्म मोदीमा २ आयोजना निर्माण भइसकेका छन् । 

एउटै नदीमा ७ जलविद्युत् आयोजना

अन्य दुई निर्माणाधीन छन् भने ३ आयोजना निर्माणको प्रक्रियामा छन् ।२०४६ सालमा ट्रयाक खुलेको पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएसँगै मोदीखोलामा जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको हो । २०५३ देखि विद्युत् प्राधिकरणले निर्माण सुरु गरेको १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाले २०५७ देखि उत्पादन सुरु गरेको थियो । त्यसैगरी २०६९ मा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।


अहिले मनाङ ट्रेड लिंकको २० मेगावाटको तल्लो मोदी र चौधरी ग्रुपको १५ दशमलव १ मेगावाटको मध्यमोदी आयोजना निर्मांणाधीन छन् । तल्लो मोदीको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । मध्यमोदीको करिब आधा काम सकिएको आयोजनाले जनाएको छ ।

तल्लो मोदीले गत माघमै उत्पादन दिनेगरी काम अघि बढाएको भए पनि प्राविधिक कारणले केही ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले बताए ।


मोदीखोलामै पछिल्लो समय विद्युत् प्राधिकरणले दुई र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले एक गरि ३ जलविद्युत् आयोजना निर्माणको तयारीमा छन् । प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८.२ मेगावाटको अपर मोदी आयोजना निर्माण गर्न लागेको छ । युनाइटेड मोदीले साढे १० मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न २०७३ असोजमा सर्वसाधारणबाट लगानी जुटाएको थियो । जिल्लाबासीबाट १० करोड र सर्वसाधारणबाट १२ करोडको सेयर संकलन गरेको युनाइटेड मोदीले नयाँ आयोजना निर्माणको मिति अन्योलमा परे पनि वातावरणीय प्रभाव मुल्यांकनलगायत आयोजनाका लागि आवश्यक काम अघि बढिरहेकोले आयोजना निर्माण हुनेमा कुनै आशंका नरहेको जनाएको छ । ‘आयोजना नबन्ने कुरामा शंका छैन,’ सञ्चालक उपेन्द्र गौतमले भने, ‘लागत बढेकाले कसरी गर्ने भन्नेमा

अन्योल छ ।’


प्राधिकरणले अपर मोदी ‘ए’ र अपर मोदी जलविद्युत् आयोजना निर्माणको काम अघि बढाएको जनाएको छ । ‘दुवै आयोजनाको डिजाइन स्वीस कम्पनी एएफ कन्सल्टलाई दिइसकिएको छ,’ आयोजना प्रमुख सञ्जीवमान राजभण्डारीले भने, ‘१० महिनाभित्र डीपीआर

आउँछ । त्यसलगत्तै काम सुरु हुन्छ । दुवै आयोजनाको सम्भाव्यता अध्ययन यसअघि भइसकेको उनले बताए । अपर मोदी ‘ए’ बाट निस्केको पानीलाई सीधै अपर मोदीमा पठाएर दुई आयोजना सँगै निर्माण गर्न प्राधिकरण अग्रसर भएको हो ।


७ आयोजनाबाट १३० मेगावाट सात आयोजनाबाट १ सय ३० मेगावाट जलविद्युत् निर्माण हुने भएको छ । हाल सञ्चालनमा रहेका मोदीखोला र युनाइटेड मोदीबाट २४ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । मनाङ ट्रेड लिंकले निर्माण गरिरहेको तल्लो मोदी आयोजनाले यही चैतभित्र उत्पादन दिनेगरी काम भइरहेको आयोजनाप्रमुख यादवले बताए । ०७१ मंसिरबाट निर्माण शुरु भएको मध्यमोदीको आधाजसो काम सकिएको छ । निर्माणाधीन आयोजनाले आगामी दुई वर्षभित्र उत्पादन दिनेछन् । निर्माण सम्पन्न भएका र निर्माणाधीन सबै आयोजनाको उत्पादन जोडा १२९ दशमलव ८ मेगावाट पुग्छ । जुन हाल मुलुकभरमा माग हुने विद्युत्को करिब १० प्रतिशत हो । हाल नेपालमा करिब १४०० मेगावाट विद्युत्को माग रहेको जनाइएको छ ।


२६ अर्बको लगानी

हाल निर्माणाधीन आयोजनाहरूको लागत अनुमानअनुसार एक मेगावाट विद्युत् उत्पादन गर्न २० करोड खर्च हुन्छ । निर्माणाधीन १५.१ मेगावाटको मध्यमोदी आयोजनाको लागत अनुमान ३ अर्बको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले २०७१ मंसिर पहिलो साता

शिलान्यास गरेको आयोजनामा प्रतिमेगावाट १९ करोड ८६ लाख अनुमान गरिए पनि हाल त्यसको लागत बढ्ने अनुमान आयोजनाको छ । तल्लो मोदीको निर्माणलागत साढे ३ अर्ब अनुमान गरिए पनि अहिले लागत बढेको आयोजनाले जनाएको छ । ‘सुरुमा साढे ३ अर्ब

लागत अनुमान गरिएको हो,’ आयोजना प्रमुख यादवले भने, ‘अहिलेसम्म लागत अवश्य बढेको छ । तर, कति बढ्यो भन्ने हामीलाई जानकारी हुँदैन ।’ युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले ५ वर्षअघि निर्माण सम्पन्न गरेको युनाइटेड मोदी–१ आयोजना निर्माण गर्दा उतिबेलै प्रति मेगावाट १७ करोड खर्च भएको थियो । निर्माण सम्पन्न, निर्माणाधीन र निर्माण प्रक्रियामा रहेका सबै आयोजनाको समग्र हिसाब

गर्दा मोदीखोलामा मात्रै जलविद्युत्मा कम्तस्मा २६ अर्व लगानी हुने देखिएको हो ।


रोजगारीको अवसर

चौधरी ग्रुपले निर्माण गर्न लागेको मध्य मोदी आयोजनामा करिव ७० स्थानीय युवाले रोजगारी पाएका छन् । आयोजनामा हाल दक्ष, अदक्ष, प्राविधिक, अप्राविधिक समेत गरि करिब ३ सय कामदार कार्यरत छन् । रोजगारी पाउने स्थानीयमा अधिकांश अदक्ष कामदार

छन् । आयोजना निर्माणका क्रममा स्थानीयसँगको सहमतिमा ‘रोजगारीमा स्थानीयलाई प्राथमिकता’ दिने सम्झौता हुने भए पनि दक्ष जनशक्तिको अभावले बाहिरबाटै ल्याउनुपर्ने बाध्यता रहेको निर्माण पक्षले जनाएको छ ।


निर्माण सम्पन्न

मोदीखोला : १४ मेगावाट

युनाइटेड मोदी : १० मेगावाट


निर्माणाधीन

तल्लो मोदी: २० मेगावाट

मध्यमोदी: १५.१ मेगावाट


निर्माण प्रक्रियामा

अपर मोदी ‘ए’: ४२ मेगावाट

अपर मोदी: १८.२ मेगावाट

युनाइटेड मोदी–२ : १०.५ मेगावाट

प्रकाशित : फाल्गुन ७, २०७४ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?