२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अस्पतालका बिरामीलाई सित्तैं खाना

कान्तिपुर संवाददाता

लमजुङ — सदरमुकाम बेंसीसहरस्थित जिल्ला सामुदायिक अस्पतालका बिरामीलाई नि:शुल्क खानाको व्यवस्था गरिएको छ । भर्ना भएका विरामीलाई साँझ र बिहान खाना खुवाउन थालिएको अस्पतालले जनाएको छ । 

अस्पतालका बिरामीलाई सित्तैं खाना

अस्पतालका प्रशासन प्रमुख युवराज देवकोटाका अनुसार सुरुमा ३ महिनाको लागि यस्तो व्यवस्था गरिएको हो । फागुन लागेसंगै विरामीलाई खाना दिइएको हो । अस्पतालमा अहिले दैनिक ३० देखि ४० बिरामी भर्ना हुने गर्छन । बिरामीको अवस्था हेरेर दूध र अण्डासमेत खुवाउने गरिएको छ । सरकारी कार्यक्रम अन्तर्गत अस्पताल विकास समितिको निर्णयले बिरामीलाई खाना खुवाउने कार्यक्रम संचालन गरिएको हो ।


कार्यक्रम अन्तर्गत साधारण, प्रसुति साथै बालबालिका वार्डमा भर्ना भएर बसेका बिरामीलाई सहज भएको छ । अस्पताल परिसरको क्यान्टिनसंग ३ महिनाको सम्झौता गरिएको छ । एक छाक बराबर ९० रुपैयाँ बराबरको सम्झौता भएको उनले बताए । ९० रुपैयाँ बराबर हरेक खानामा भात, दाल, तरकारी र साग पर्छ । ‘बिरामी भएपछि ऋण खोजेर आउने धेरै हुन्छन् । उनीहरूसंग न उपचार खर्च हुन्छ, न खानाको नै’ उनले भने, ‘सरकारले तोकेको उमेर समूहका बिरामीलाई नि:शुल्क औषधी उपचारको ब्यवस्था गरेका छौं । सवै प्रकारका बिरामीलाई रुचुञ्जेलसम्मको खानाको ब्यवस्था गरेका छौं ।’


अस्पतालका अनुसार सुरुको बजेट ८ लाख रुपैयाँ छ । अस्पतालले विरामीको अवस्था हेरेर सादा खाना, जाउलो, दूध, चिया, अण्डा लगायत खुवाउने गरेको छ । अस्पतालमा अहिले २ सय ५० देखि ३ सय बिरामी दैनिक जाँचका लागि आउने गर्छन् । ‘ओपीडीमा जाँच गराउन आएका सवै विरामी भर्ना भएर बस्नु पर्दैन । इमरजेन्सीमा आएका बिरामी भने धेरै भर्ना हुन्छन् । ‘भर्ना हुने बिरामीको संख्यामा अहिले कमी आएको छ । मौसम परिवर्तन हुने बेलामा भने धेरैजना भर्ना हुन्छन् । कहिले अस्पतालको बेडमा नअटेर बाहिरी प्यासेसमा राख्नुपर्छ’ उनले भने । अस्पतालमा ६२ शैय्या छन् ।


अस्पतालले पछिल्लो समय स्त्रीरोग सेवा, आङ खस्ने, पायल्स, हर्निया, एपेन्डिक्स, हाडजोर्नी, शल्यक्रिया लगायत सेवा दिँदै आएको छ । अस्पताल व्यवस्थापनको जिम्मा पाएको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) का कार्यकारी निर्देशक डा. नास्तुप्रसाद शर्माले अस्पतालको सेवालाई प्रभावकारी बनाउन र बिरामीको स्वास्थ्य समस्याको निदानमा सहयोग पुर्‍याउन अत्याधुनिक मेसिन जडान गरी संचालनमा ल्याएको बताए । अस्पतालले आफैं किनेर वा देशीविदेशीको सहयोगमा यस्ता उपकरण जडान हुँदै आएको र नयाँ नयाँ मेशिन जडानकै क्रममा रहेको उनले बताए ।


२०३२ मा जिल्ला अस्पतालको रुपमा स्थापना भएको उक्त अस्पताल सरकारको प्रभावकारी स्वास्थ्य नीति नहुँदा सेवा सुविधा खस्किएसंगै २०५८ मा समुदायलाई हस्तान्तरण गरिएको थियो । २०५८ सालमै नेपाल सरकारको पब्लिक प्राईभेट पार्टनरशीप नीति अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मानव विकास तथा सामुदायिक सेवा र लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौता अनुसार ५ बर्ष संचालन गरिएको थियो । पछिल्लो समय २०६९ देखि १० बर्षको लागि अस्पताल नवीकरण भएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?