ठेउलेखोला जलविद्युत परीक्षण तयारी

प्रकाश बराल

बागलुङ — जैमिनी–५ मा निर्माण सम्पन्न ठेउलेखोला जलविद्युत् आयोजना परीक्षणको तयारीमा पुगेको छ । 
बाराही हाइड्रो पावर प्रालिले ३ वर्षअघि थालेको काम पूरा गरेर परीक्षणको तयारीमा पुर्‍याएको हो ।

३१ करोड रुपैयाँको लागतमा निर्माण भएको आयोजनाले परीक्षणका लागि अस्थायी रूपमा राष्ट्रिय प्रसारणमा जोड्ने व्यवस्थासमेत गरिसकेको छ ।


परीक्षणको तयारी भइरहेको समयमा स्थानीय जग्गाधनीले झिकेको बखेडाले परीक्षण तयारीको काम भने एक महिनादेखि रोकिएको छ । बिनामारेका खगराज आचार्यले मुआब्जा विवाद झिकेर जग्गा नदिएपछि एक महिनाअघि सकिएको आयोजनाले परीक्षण गर्न नपाएको हो । प्रतिरोपनी २ लाख ५० हजार रुपैयाँ मुआब्जा दिइएकोमा ३ रोपनी जमिनको दस गुणा बढी मुआब्जा मागेपछि आयोजनाले दिन नसकेको हो । ‘प्रभावित क्षेत्रका सबैले पूर्व सहमति अनुसारको मुआब्जा बुझेर काम अगाडि बढाइएको हो,’ वाराही हाइड्रो पावर प्रालिका अध्यक्ष सूर्यप्रसाद अधिकारीले भने, ‘उहाँसँग थप सहमतिको प्रयास भइरहेको छ । सहमति भएमा एक सातामा परीक्षण गर्न सक्छौं ।’ कम्पनीले ३१ करोड रुपैयाँको लागतमा जलविद्युत् आयोजना निर्माण गरेको हो ।


आयोजनास्थलको १ हजार ८ सय ९० मिटर लामो पेनस्टक पाइप लाइन बिछ्याउने स्थानमा परेका उपभोक्तालाई ९० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको थियो । प्रभावित क्षेत्र भए पनि आचार्यको जमिनमा १६ मिटर पाइपलाइन पर्छ । लामो समयदेखि बखेडा झिकेर आयोजनालाई अप्ठ्यारोमा पारेपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा दुवै पक्षका दुई–दुई जना रहने जग्गा मूल्यांकन समिति गठन गरेर मुआब्जा दिने निर्णय भएको निमित्त प्रअिज नारायण पाण्डेयले बताए ।


उक्त समितिले थप अध्ययन गरिरहेकाले प्रतिवेदन आएपछि मात्र यकिन हुने पाण्डेयको भनाइ छ । ‘हिजो के कति लिए दिए भन्ने भन्दा यो समितिले ल्याएको प्रतिवेदन दुवै पक्षले मान्ने भनेका छन्, त्यसकै आधारमा टुंगो लाग्छ’ उनले भने, ‘निर्माण कम्पनीले केही दिन पर्खेपछि कामले गति लिनेछ ।’ मुआब्जा वितरणको बेला सार्वजनिक बहस र आम सहमति नगरेकाले अहिले विवाद आएको उनले टिप्पणी गरे ।


निर्माणको काम थाल्ने समयमा आयोजनाले प्रतिरोपनी साढे २ लाख रुपैयाँ मुआब्जा वितरण गरेको थियो । आचार्यले भने आफ्नो जग्गाको मूल्य करोड रुपैयाँसम्मको दाबी गर्दै आएपछि विवाद बाहिर आएको हो । अहिलेसम्म आयोजनाले ९० लाख रुपैयाँ वितरण गरिसकेको छ । उक्त निर्धारणमा आचार्यले असहमति जनाएर काममा समेत पटक–पटक अवरोध गर्दै आएका थिए ।

समस्याले उग्ररूप लिएपछि प्रहरीले नियन्त्रणमा लिएर प्रशासनको रोहबरमा सहमति प्रयाससमेत थालेको थियो । ‘जिल्लाकै गौरवको आयोजना भएकाले उत्पादनमा अवरोध हुन नदिने प्रयासमा छौं’ जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलले भने, ‘जनतालाई पीडित बनाउन हुँदैन तर आयोजनालाई पनि अवरोध नपुगोस् भन्ने हेक्का राखेका छौं ।’ पहिला त्रुटी भए पनि अब सच्याएर जाने निर्णय भएको उनले बताए । जैमिनी नगरपालिकाका लागि यो आयोजना लाइफलाइन भएको पनि पौडेलले बताए ।


जिल्लाका सबै राजनीतिक दल, सरोकारवाला र अन्य जग्गावाला समेतले आयोजनालाई छिटो उत्पादनमा लैजान पहल गर्नुपर्ने सहमति गरेपछि मुआब्जामा केही फेरबदल भए पनि स्वीकार्ने कम्पनीका पदाधिकारीले पनि बताएका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?