कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पोखरामा इन्डोनेसियन ‘साल’

पोखराको बजारमा बार्षिक करिव २० करोड रुपैंयाँको इन्डोनेसियन साल, करिव ४ करोड रुपैंयाँको सल्ला खपत हुने व्यवसायी बताउँछन् ।
पूर्ण विके

पोखरा — बढो सहरीकरणसँगै तीव्र रूपमा घर निर्माण हुन थालेपछि झ्याल, ढोका र फर्निचरका लागि आवश्यक साल प्रजातिको काठ विदेशबाट ल्याउनुपर्ने वाध्यता रहेको व्यवसायीले बताएका छन् ।

अन्य काठ भन्दा टिकाउ हुने भएकोले ईन्डोनेसियाबाट साल झिकाएर बिक्री गर्नु परेको नेपाल वन पैदावर उद्योग व्यवसायी समिति कास्कीका सदस्य उपेन्द्र अधिकारीले बताए । उनले ईन्डोनेसियन साल झिकाएर पोखरा, बागलुङ र म्याग्दीको बजारमा करिव साढे दुई बर्षदेखि बिक्री गर्दै आएका छन । ‘पोखराको बजारमा सालको काठको माग धेरै छ,’ अधिकारीले भने, ‘काठै नपाईएपछि ईन्डोनेसियाबाट आयात गर्नुपरेको हो ।’


इन्डोनेसियन साल झिकाउँदा करिव २ देखि ६ महिना समय लाग्ने व्यवसायी बताउँछन् । पोखराको बजारमा व्यवसायीले स्वदेशी सालको प्रति क्युफिट ५ हजार तीन सय, इन्डोनेसियन सालको ४ हजार २ सय, सल्लाको ७ सय रुपैंयाँमा बिक्री गर्दै आएका छन् । स्वदेशी साल सर्लाही र तराईका विभिन्न जिल्लाबाट र सल्ला प्रजातीको काठ अर्घाखाँची, प्युठान लगायत जिल्लाबाट ल्याईने व्यवसायीको भनाइ छ । बजारमा इन्डोनेसियन साल र सल्ला मासिक करिव ५/५ हजार क्युफिट र स्वेदेशी साल करिव २ हजार क्युफिट खपत हुने गर्छ । पोखराको बजारमा बार्षिक करिव २० करोड रुपैंयाँको इन्डोनेसियन साल, करिव ४ करोड रुपैंयाँको सल्ला खपत हुने व्यवसायी बताउँछन् । स्वदेशी साल भने करिव १ करोड रुपैंयाँको खपत हुने गर्छ ।


‘वनमा काठ नभएपछि बाहिरी जिल्लाबाट झिकाउँदै आएका छौं,’ अर्का वनपैदावर व्यवसायी श्रीराम श्रेष्ठले भने, ‘काठ नभएपछि इन्डोनेसियन साल र सल्लाको भर पर्नु परेको हो ।’ स्वदेशी सालजस्तै टिकाउ र देख्दा दुरुस्तै हुने भएकोले पोखराको अलावा बागलुङ र म्याग्दीसम्म इन्डोनेसियन सालको बजार पुगेको छ । पोखराको बजारमा चौकोस, झ्यालको फ्रेम बनाउन साल र झ्यालको खापा र भित्री ढोका बनाउन सल्ला प्रयोग गर्ने चलन छ ।


सालमात्रै प्रयोग गर्दा महँगो पर्ने भएकोले विकल्पमा सल्ला प्रयोग गर्ने चलन बढेको पोखरा– २६ बुढीबजारस्थित विरेन्द्र फर्निचर उद्योगका संचालक विरेन्द्र विकले बताए । ‘स्वदेशी सालको काठको माग धेरै छ,’ उनले भने, ‘तर नपाएपछि आयातित सालको भर पर्नुपर्छ ।’

इन्डोनेसियन साल काम गर्न सजिलो हुने उनको बुझाइ छ । काठको अभाव भएपछि चिलाउनेको काठको कुर्ची समेत बनाउने गरिएको उनले जानकारी दिए । काठ अभावपछि पोखरामा स्टिल र फलामबाट समेत झ्यालढोकाको फ्रेम बनाउने क्रम बढो छ ।


पोखरामा कुल २ लाख १७ हजार हेक्टरमध्ये ९३ हजार हेक्टर क्षेत्रफल वन क्षेत्र पर्छ । ६५ हजार हेक्टर क्षेत्रफल अन्नपूर्ण संरक्षण अन्र्तगत र २८ हजार हेक्टर क्षेत्रफल जिल्ला वन कार्यालय अन्र्तगत पर्ने जिल्ला वन कार्यालयले जनाएको छ । कास्की चिसो ठाँउ भएकोले साल प्रजातीको रुख कम भएको जिल्ला वन कार्यालयका प्रमुख केदार बरालले बताए । कास्कीको हंसपुर, थुम्की, निर्मलपोखरी, ढिकुरपोखरी लगायतका तातो हावा वहने केही स्थानमा मात्रै सालको वन रहेको उनले जानकारी दिए । ‘चिसो ठाउँ भएकोले यहाँ सालको वन थोरै छ,’ उनले भने, ‘त्यसैले आयातित काठबाट कास्कीको माग धान्नुपरेको छ ।’

प्रकाशित : फाल्गुन ८, २०७४ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?