आयो नुन वितरण

कान्तिपुर संवाददाता

बागलुङ — अपांगताको संख्या बढी भेटिएको निसीखोलामा जिल्लाका सरोकारवाला संस्थाले आयोडिनयुक्त नुन वितरण तथा स्वास्थ्य उपचार शिविर सञ्चालन गरेका छन् ।

आयो नुन वितरण

नुनको आधिकारिक बिक्रेता साल्ट ट्रेडिङ कर्पोरेसन, जिल्ला स्वास्थ्य र सुआहारा कार्यक्रमले संयुक्तरूपमा सचेतना अभियान, वितरण र शिविर सञ्चालन गरेका हुन् । आयोडिनयुक्त नुनको अभावले घरघरमा अपांगता भन्ने समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएपछि सरोकारवाला संयुक्त कार्यक्रम लिएर ती क्षेत्रमा पुगेका हुन् ।


निसीखोलाका ५ र ६ नम्बर वडामा धेरैले अहिलेसम्म ढिके नुन प्रयोग गरेको भेटिएको थियो । ती स्थानका घरघरमा आयोडिनयुक्त नुन वितरण गरिएको कर्पोरेसनका बागलुङ शाखा प्रमुख मनोज श्रेष्ठले बताए । निसीमा मात्र ५ सय घरमा नि:शुल्क नुन वितरण गरिएको हो । ढिके नुनको तुलनामा महँगो पर्ने र आयोडिनयुक्त नुनको महत्त्वबारे कसैले पनि जानकारी नदिएकाले प्रयोग नगरेको उनीहरूले बताए । ‘पोकाको नुन नखाँदा अपांगता हुन्छ भन्ने हामीलाई थाहा थिएन, अहिले बल्ल बुझ्न पायौं,’ निसीखोला ५ की श्यामकला बुढाले भनिन्, ‘अब नियमित खानुपर्ला ।’

बुढाले गर्भावस्थामा नियमित खोप नलगाएको, गर्भ जाँच नगरेको र घरैमा सुत्केरी भएको बताइन् । साथै ढिके नुन खाएकाले आफ्नो छोरा अपांग जन्मेको समेत बताइन् । गर्भावस्थामा उनलाई ज्वरोसमेत आएको बताइन् ।


यहाँका महिलाले गर्भ जाँच नियमित नगर्ने, नियमित खोप नलगाएको र स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माउने चलन नभएको भेटिएको थियो । ‘चेतनाको अभावले भएका कमजोरीलाई एकैपटक पूरा गर्न नसकेपनि पहिलोपटक संयुक्त अभियान सञ्चालन गरियो,’ गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले भने, ‘निरन्तर कार्यक्रममार्फत स्वास्थ्य र सुरक्षाबारे बानी पार्नुपरेको छ ।’ स्वास्थ्य संस्था भएर पनि स्वास्थ्यसम्बन्धी चेतना नपुगेको, भौगोलिक कठिनाइले आयोडिनयुक्त पुग्न पुर्‍याउन नसकिएको र हाडनातामा विवाह गरेकाहरूमा बढी यो समस्या देखिएको थियो ।

अंग्रेजी फेबु्रअरी महिनालाई आयोडिन महिनाको नाम दिने गरिन्छ । आयोडिन महिनाको विषेश कार्यक्रम पनि कर्पोरेसनले निसी, बोहोरागाउँ, पाण्डवखानी र ताराखोलामा सञ्चालन गरिरहेको छ । विद्यालय तहका बालबालिकालाई आयोडिनयुक्त नुनबारे जानकारी दिने, त्यससम्बन्धी प्रचार गरिएको झोला वितरण गर्ने तथा प्रचारात्मक र्‍यालीसमेत गरिएको हो । ढिके नुन खाँदा हुने समस्याबारे जानकारी दिइएको हो । त्यस्तै प्रयोगमा आइरहेको ढिके नुन र दुई बालबालिका भएको प्याकेटको नुनमा आयोडिन परीक्षण गरेर देखाइएपछि स्थानीयले चासो राखेको श्रेष्ठले बताए । फेब्रुअरी महिनाभर अन्य गाउँमा पुगेर पनि प्रचारात्मक अभियान सञ्चालन गरिनेछ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?