कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लोकमार्ग छिचोल्न दबाब

कान्तिपुर संवाददाता

फलेवास (पर्वत) — दशकअघिदेखि चर्चामा आएर पनि कछुवा गतिमा काम अघि बढेको कालीगण्डकी लोकमार्गको ट्रयाक छिचोल्न नगरबासीले दबाब दिनुपर्ने बताएका छन् । २०६२ सालदेखि चर्चामा आएर पटक–पटक सेलाउँदै गरेको कालीगण्डकी करिडोर निर्माण हुनेबेला बाग्लुङ खण्डमा परेपछि पर्वतवासी केही समयअघि निरास थिए ।

लोकमार्ग छिचोल्न दबाब

तर, पछिल्लो समय बागलुङ खण्डमा समेटिएको करिडोर र पर्वत खण्डको लोकमार्गसँगै निर्माण हुने भएपछि केही राहत महसुस गरेका थिए ।


‘पर्वत खण्डको काम हुने खबरले उत्साहित थियौं,’ फलेवास ४ मुडिकुवाका सागर गौंडेलले भने, ‘अहिले जमिन भत्काइएको छ । सडक कताबाट जाने अझै टुङ्गो छैन ।’ लोकमार्गको पर्वत खण्डमा पर्ने ट्रयाक अझै निर्धारण नगराएकोमा आयोजनापक्षसँग पर्वतको दक्षिणवासी रुष्ट छन् ।


‘हामीले रातबिरात नभनी करिडोर ल्याउन खटेको १३ वर्ष पुगेछ,’ बिहादी १ बाच्छाका टीकाराम कुँवरले भने, ‘नेताहरूले लोकमार्गलाई मागिखाने भाँडो बनाए । बागलुङ र पर्वत खण्डको अन्योलले हामी धेरै चिन्तित छौं ।’ २०६२ मा पर्वतको त्रिवेणी–रानीपानी–बाच्छा हुँदै डिजाइन भएको करिडोर ०६४ मा बागलुङ हुँदै ट्रयाक खोल्नेगरी काम सुरु भएको थियो ।


तत्कालीन समय पर्वत खण्डमा ७६ किलोमिटर दूरी समेट्ने यो सडकले दक्षिणका तत्कालिन २९ गाविस (हालका एक नगरपालिका र ३ गाउँपालिका) को बस्ती समेट्छ । लोकमार्गले स्थानीयलाई अवसरको ढोका र विकासको सम्भावना खुल्ने उत्साह धेरैमा थियो । ‘नेताहरूले सबै चुनावमा यसैलाई नारा बनाए,’ फलेवास ६ राहालेका नारायण श्रेष्ठले भने, ‘काम गर्ने नेता कोही आएनन् ।’ नेताहरू चुनावपछि स्थानीयका समस्या बिर्सिने प्रवृत्तिले विकासमा पछि परेको श्रेष्ठले गुनासो गरे । फलेवास र बिहादीपारि बागलुङको जैदी हुँदै खुलेको करिडोरमा अघिल्लो वर्षदेखि नै सवारी गुडे पनि पर्वत खण्डमा अझै ट्रयाक पूरा भएको छैन । पर्वत खण्डको ट्रयाकमा काम भइरहेको लोकमार्गको स्थानीय निरीक्षक दिनेश लामिछानेले बताए ।


लोकमार्ग व्यवस्थित बनेर बाह्रैमास सवारी सञ्चालन भए गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, सामाजिक सुरक्षालगायतमा परिवर्तन आउने अपेक्षा स्थानीयको छ । सडकको असुविधाले कतिपय गाउँका किसानले उत्पादन गरेका कृषि उपज र पशुजन्य पदार्थ गाउँमै खेर गएका छन् । ‘बजारसम्म पुर्‍याउनसके दु:ख अनुसारको आम्दानी हुन्थ्यो,’ रानीपानीका राधाकृष्ण पराजुलीले भने, ‘गाउँमा सबै उत्पादन यत्तिकै खेरगएका छन् । तरकारी, फलफूल, अन्नले भाउ पाउँदैन ।’ लोकमार्गले छोएको बस्तीमा व्यावसायिक उद्यमको विकास गर्नुपर्ने स्थानीयको माग छ । लोकमार्ग रूपन्देही, नवलपरासी, पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, बागलुङ, म्याग्दी र जोमसोम गरी नौ जिल्लामा टुंगिन्छ । स्याङ्जा र पर्वतको आँधीमुहानदेखि पर्वतको अर्मादीसम्म लोकमार्गको ५५ किलोमिटर भू–भाग पर्छ ।


तीनवटा पुल यसै वर्ष

राष्ट्रिय प्राथमिकताप्राप्त कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा तीन मोटरेवल पुल यसै वर्ष निर्माण सुरु भएका छन् । कुश्मा र फलेवासबीचको मोदीखोला, फलेवासकै लमायखोला र बिहादी गाउँपालिकाको सेतीखोलामा एकसाथ पुल निर्माण हुन लागेका हुन् । सबै खोलामा मोटरेबल पुल निर्माण धमाधम अघि बढेको आयोजनाका इन्जिनियर कृष्ण खड्काले बताए । ‘सबै पुलको काम धमाधम अघि बढेको छ,’ खड्काले भने, ‘सेतीखोलामा यो वर्ष नै सकिनुपर्नेमा केहि ढिलाई हुने भयो ।’ ०७६ सम्म सबै पुलको काम सकिने आयोजना कार्यालयले जनाएको छ ।’ मोदीखोलामा ९ करोड १४ लाख रुपैयाँको लागतमा ६० मिटर लम्बाइको पुल बन्न लागेको हो । २५ मिटर लम्बाइको लमायखोला पुलका लागि पाँच करोड ६४ लाख र २५ मिटरकै सेतीखोला पुलका लागि पाँच करोड ८६ लाखमा ठेक्का भएको छ । मोदीखोलाको पुल मुक्तिनाथ कन्स्ट्रक्सनले निर्माण थालेको छ । त्यस्तै लमाएको नयाँ वाटो गौचन जेभि र सेतीखोला पुलको सोएन विल्डर्स कम्पनीले लिएका छन् ।


कालिगण्डकी करिडोरकै बजेट र सोहि बमोजिमको प्राथमिकताप्राप्त यो सडकअन्तर्गत पर्वतको कुश्मादेखि स्याङजाको मिर्मीसम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाउने तथा स्तरवृद्धि भइरहेको छ । स्याङ्जाको आँधीमुहानदेखि पर्वत र बाग्लुङको मालढुङ्गासम्म करिडोरको दाहिने पारेर रेखाङ्कन गरिएको यो सडकबाट पर्वत, स्याङ्जा, गुल्मी र बागलुङ बढी प्रभावित हुन्छन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?