३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अवकासपछि माहुरीमा रमाउँदै

दिप्ती सिलवाल

फलेवास (पर्वत) — नेपालमा कर्मचारीहरू ६० वर्ष उमेर पुगेपछि सरकारी सेवाबाट अवकास हुन्छन् । ६० वर्ष कटेपछि जेष्ठ नागरिकको परिचयपत्र र ६५ वर्षपछि सामाजिक सुरक्षा भत्ता समेत दिने व्यवस्था छ । तर, यहाँका एक ६५ वर्षेको जाँगर भने कुनै युवाको भन्दा कमी छैन ।

अवकासपछि माहुरीमा रमाउँदै

फलेवास ४ कमलेबजारका नरेश्वर शर्मा पौडेल प्राथमिक तहका पूर्वशिक्षक हुन् । शिक्षण पेसाबाट ५ वर्षअघि अवकास लिएका पौडेलले अहिले पेन्सन भन्दा बढी आफ्नै पौरखले आम्दानी गरिरहेका छन् । त्यो पनि आफ्नै आँगनबाट । ३ आना जग्गाबाट उनले वार्षिक ४ देखि साढे चार लाखसम्म आम्दानी गर्छन् ।


२०४६ सालदेखि माहुरीपालनमा लागेका पौडेलले आफू शिक्षण पेसामा रहँदा पनि सक्रिय थिए । ०३७ सालमा प्रमाणपत्र तहको परिक्षा दिन भारतको गोरखनाथ जाँदा आधुनिक माहुरीपालन देखेर प्रभावित भएका उनी गाउँ फर्किएर यो पेसा गर्ने सोच बनाएको बताउँछन् । ‘म घर फर्केपछि १० वर्षसम्म आधुनिक घार नेपालमा पाइएन,’ उनले भने, ‘यो घार भेट्नेबित्तिकै मैले एउटाबाट पाल्न सुरु गरेको हुँ ।’ अहिले उनकोमा २६ घार माहुरी छन् । बिहान उठेदेखि साँझसम्म उनले माहुरीको रेखदेखमा बिताउँछन् । अहिले भएका माहुरी सबै जंगलबाट खोजेर ल्याएको हुँ,’ उनले भने । बागलुङको बलेवास्थित एक प्राथमिक विद्यालयमा अध्यापन गर्नेक्रममा बाटोमा पर्ने जंगलबाट माहुरी ल्याएर घार विस्तार गरेका हुन् । उनको यो पेसालाई श्रीमती हरिकलाले साथ दिएकी छन् । ‘दुई छोराहरू आफ्नो बाटो लागे । पेन्सनपछि समय बिताउन गरौं भन्नुभयो । उहाँलाई फुर्सद नहुँदा मैले नै हेर्छु ।’ श्रीमती हरिकलाले भनिन् । उनका दुई छोराहरू पेसा र रोजगारीको सिलसिलामा गाउँबाहिर छन् ।

पौडेलले पालेका माहुरीबाट वर्षमा ३ पटक माहुरी निकाल्छन् । फागुन, मंसिर र जेठमा मह निकाल्छन् । एउटा घारबाट वर्षमा १५ देखि २० किलो मह उत्पादन हुन्छ । अहिले महको बजारमूल्य प्रतिकिलो १२ सय रुपैयाँ छ । मह सहजै बिक्री हुन्छ । फलेवास नगरपालिकामा व्यावसायिक रूपमै माहुरी पाल्ने किसान नरेश्वर मात्रै हुन् । स्थानीय प्राकृतिक जडीबुटी र फूलको रस खाएका माहुरीको मह स्वस्थकर मात्रै नभई विभिन्न रोगको औषधिका रूपमा समेत प्रयोग हुने विश्वास छ ।

मह र माहुरी अझ विस्तार गर्ने योजनामा छन् । पौडेलले दुई दशकदेखि यो व्यवसायमा लागेर पनि औपचारिक तालिम लिएका छैनन् । सरकारी तथा गैरसरकारी निकायबाट कुनै आर्थिक र प्राविधिक सहयोग पनि उनलाई आएको छैन । पछिल्लो समय एक नयाँ प्रजातिको चरा र अरिङ्गाल माहुरीपालनका चुनौती थपिएका छन् । २ वर्षदेखि हिउँदको समयमा देखिने हरियो चराले नजिकैको बाँसमा बसेर माहुरी खाने गरेको पौडेल दम्पतीले सुनाए । ‘त्यो चराको गन्ध पाएपछि माहुरी सबै लाइन लागेर त्यहाँ पुग्छन् । चराले सबै खाएर सखाप पारिसक्यो ।’ त्यस्ता चरा १०–१२ को हाराहारीमा छन् । त्यसबाहेक कमिला, हुरीबतास, शीत, आकासे वर्षा माहुरीका शत्रु हुन् । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले नगरपालिकामा अन्यत्र व्यावसायिक माहुरीपालन नभएको अवस्थामा नरेश्वरलाई सहयोग मात्रै नभएर प्रोत्साहन गरी अन्यत्र विस्तार गर्ने सोच बनाएको बताए । ‘त्यो फलेवासकै नमुना माहुरीपालन फर्म हो,’ शर्माले भने, ‘उहाँलाई प्रोत्साहन गर्न अनुदान मात्रै होइन । हामीले थप माहुरीपालन गर्न उहाँबाटै सुरुवात गर्छौं ।’


मौहुरीले मालामाल

स्याङ्जा (कास)– निरन्तरका मेहनतले घरमै बसेर मनग्ये आम्दानी गर्न सकिने गल्याङ नगरपालिका– ८ करादीका किसान गणेशप्रसाद अधिकारीले उदाहरण बनेर देखाएका छन । घरमै मौरीपालनबाट उनले वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । उनी जिल्लामै गनिएका किसानमध्ये एक हुन ।


इच्छा लक्ष्मी एग्रो पोडक्टस् एन्ड बिक्री फर्म सञ्चालन गरेर माहुरी, मह र घार बिक्री गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । उनकोमा यतिबेला ३२ माहुरी घार छन । यसबाट वार्षिक २ सय ३५ किलो मह बिक्री गर्छन् । उनले वर्षमा चारपटक मह काढ्छन । ‘स्थानीय एपी सेरना जातको माहुरी रहेको आधुनिक घारमा माहुरी पालन गरेको छु’ उनले भने, ‘एउटा घारबाटै २० किलोसम्म मह निकाल्छु ।’ २०६४ सालमा १० घारबाट आफ्नै लगानीमा माहुरीपालन व्यवसाय सुरु गरेका अधिकारीले २०७० सालबाट बिक्री वितरण सुरु गरेको बताए ।


अधिकारीले उत्पादित मह, माहुरी र घार गल्याङ, वायाटारी र वालिङलगायतका स्थानीय बजारमा बिक्री वितरण गर्दै आएका छन् । उनले शुद्ध आर्गानिक मह प्रतिकिलो एक हजारमा, फ्रेम सहितको घार आठ हजारमा र मह माहुरीसहितको घारलाइ १५ हजार रुपैयाँमा बिक्री गर्छन् । उनका अनुसार माहुरीका लागि खासै स्याहारको आवश्यकता नपरे तापनि घारको सरसफाइ, कमिला, छेपारो, पुतली, माउसुली, खुम्रे, गहते, बारुला लगायतले दुख दिने गरेको छ । उनले दुई वर्षअघि जिल्ला कृषि कार्यालयबाट युवा स्वरोजगार कार्यक्रम अन्तर्गत अगुवा माहुरीपालन कृषक तालिम लिएका छन । तालिमपछि सरकारको दुई लाख रुपैयाँ अनुदान लिएर व्यवसायलाइ व्यवस्थित बनाउँदै आएको उनले बताए । अधिकारी नेपाल माहुरीपालन सहकारी संघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ इकाई समिति गल्याङका सदस्य पनि हुन् । गणेशलाई माहुरी व्यवसायमा बुबा, आमा, श्रीमती विजयालक्ष्मी र भाइहरूले पनि साथ दिएका छन् । ‘बबाको विशेष प्रेरणा र माइलो भाइ सम्भुनारायणको सहयोगका कारण यो व्यवसाय गर्न सकेको हुँ’ उनले थपे । सहकारीको जागिरसँगै व्यवसाय गरेका उनी माहुरीपालनतर्फ उत्साहित भएको बताउँछन् । गणेशका श्रीमती एक छोरा र एक छोरी छन् । माहुरी व्यवसायबाट घरपरिवारको पालनपोषणमा सहज पुगेको उनको भनाइ छ । माहुरीसँगै उनले ५ जातका जडीबुटीहरू उत्पादन गरेर बिक्री वितरण पनि गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?