कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘उद्यमशीलताले नेपालको विकास’

संयुक्त राष्ट्रसंघीय विकास परियोजना अनुगमन गर्न उक्त टोली नेपाल आएको हो ।
कान्तिपुर संवाददाता

लेखनाथ — स्वीडेनका सांसदको एक टोलीले उद्यमशीलताबाट नेपालको विकास सम्भव भएको बताएका छन् । उनीहरूले लघुउद्यमले नेपालीको जीवनस्तरमा परिवर्तन ल्याएको बताए । 

नेपाल भ्रमणको क्रममा पोखरा आइपुगेको ६ सदस्यीय टोलीले सोमबार सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै यस्तो बताएको हो । संयुक्त राष्ट्रसंघीय विकास परियोजना (यूएनडीपी) ले नेपालमा गरेका कामको अनुगमन गर्न उक्त टोली नेपाल आएको हो । टोलीले फेवातालको जलकुम्भी झार प्रशोधन गरी हस्तकलाका सामान र कम्पोस्ट मल बनाउने उद्योगको अवलोकन गरेको छ । अन्तक्र्रियामा स्वीडेनको सत्ताधारी ग्रिन पार्टीकी सांसद एम्मा नोरेनले साना परियोजनाले स्थानीयको जीवनस्तरमा ल्याएको परिवर्तन उल्लेख्य भएको बताइन् । ‘लघु उद्यमले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ,’ उनले भनिन्, ‘स–साना परियोजनाले नै समाजमा परिवर्तन ल्याउँछ ।’ उद्यमशीलतालाई प्रवद्र्धन गर्न सके नेपालसँग थुप्रै सम्भावना भएको उनले बताइन् । यूएनडीपीका कार्यक्रम र स्वीडेनको सहयोगलाई निरन्तरता दिन संसदमा अपिल गर्ने भनाइ उनले राखिन् । नेपालको फोहोर व्यवस्थापन र पर्यटन प्रवद्र्धनमा आफ्नो देशको चासो रहेको उनले बताइन् ।


कुनै पनि देश विकसित हुन शिक्षा प्रमुख आवश्यकता भएको बताएकी उनले भनिन्, ‘नेपालमा विवाहपछि नारीले शिक्षाबाट वञ्चित हुनुपरेका घटना थाहा पाउँदा दु:ख लागेको छ ।’ विवाह गरेर बच्चा जन्माइसकेपछि पनि महिलाले शिक्षालाई निरन्तरता दिन सक्ने बताउँदै उनले भनिन्, ‘त्यसका लागि धेरैभन्दा धेरै शिशु स्याहार केन्द्रको व्यवस्था गरिनुपर्छ ।’ आफ्नो देशमा पुरुषभन्दा शिक्षित महिलाको संख्या बढी भएकाले हरेक सूचकांकमा अघि रहेको उनको भनाइ थियो । नेपालको कानुनले तेस्रो लिंगीको अधिकार सुरक्षित गरेको कार्यबाट स्वीडेनले सिक्नुपर्ने उनको धारणा थियो ।


मोडरेट पार्टीकी सांसद मारगरेता सेडरफेल्टले नेपालको लघुउद्यममा महिला सहभागिता प्रशंसायोग्य भएको बताइन् । महिलाले लघुउद्यमबाट मुनाफा कमाएर परिवार पाल्ने, बालबच्चा पढाउने गरेको देख्दा आफू प्रभावित भएको उनले सुनाइन् । ‘कुनै पनि तरिकाले उत्पादनमा सहभागी हुने हो भने त्यसले रोजगारीको अवसर सिर्जना गर्छ,’ उनले भनिन्, ‘विकासको पहिलो खुट्किलो नै उद्यमशीलता हो ।’ उनले मुलुको समृद्धिमा भ्रष्टाचारले विषको भूमिका खेल्ने धारणा राखिन् । स्वीडेन विश्वमै कम भ्रष्टाचार हुने मुलुक भएको जनाउँदै उनले कर्मचारीले समाजको विश्वास जित्न सक्नुपर्ने सुझाव दिइन् । टोलीमा एम्मा र मारगरेतासहित सेन्टर पार्टीकी केर्सटिन लन्डग्रेन, सोसल डेमोक्रेटिक पार्टीकी मेरी लुइस रोनमार्क, स्वीडेन डेमोक्रेट्सका मार्कुस विचेल र लिबरल पार्टीकी टिना एक्टोफ्ट सहभागी छन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?