कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बेंसीसहरमा खानेपानी अभाव

‘नजिकै मूल पनि छैन । जाँदाआउँदा १ घण्टा हिँडेर खानेपानी ल्याउनुपर्ने अवस्था छ’
आश गुरुङ

लमजुङ — सदरमुकाम बेंसीसहरमा खानेपानीको अभाव सुरु भएको छ । बेंसीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दिउँसो र साँझको समय खानेपानी वितरण गर्दै आए पनि धारामा पानी नआउने उपभोक्ताको गुनासो छ । हिउँद लागेसंगै पानीको मुहान सुकेका कारण पानीको अभाव भएको हो । 

बेंसीसहरमा खानेपानी अभाव

कतै धारामा पानी आउने कतै नआउने समस्या रहेको दुखेसो उपभोक्ताको छ । बेंसीसहर नगरपालिका ७ सातबीसेकी सुकमाया तामाङले २ महिनायता धारामा खानेपानी नआएको बताइन् । ‘नजिकै मूल पनि छैन । जाँदाआउँदा १ घण्टा हिँडेर खानेपानी ल्याउनुपर्ने अवस्था छ’ उनले भनिन् । उपभोक्ता समितिले दिउँसो र साँझको समय खानेपानी जम्मा गरेर उपभोक्तालाई वितरण गर्दै आएको छ ।


खानेपानी अभावमा बजारका होटल तथा रेस्टुरेन्ट संकटमा परेका छन् । ठूला लगानीका होटल झन् समस्यामा परेका छन् । गेटवे हिमालय रिसोर्टका सञ्चालक भेषबहादुर पौडेलले ट्यांकरको पानी किन्न बाध्य भएको बताए । पानीको अभावमा अहिले स्विमिङपुल बन्द छ । ‘अब पर्यटकको सिजन सुरु हुन लाग्यो । होटलमा पानी छैन’ उनले भने, ‘पानीको अभाव खड्किएकाले आफैंले मुहानबाट पानी ल्याएको छु, त्यसले पनि पुगेको छैन ।’ रिसोर्टमा दैनिक कम्तीमा ६ हजार लिटर पानीको आवश्यक पर्ने उनले बताए । होटल टुकुचेका सञ्चालक रामकुमार श्रेष्ठले अन्य समय पनि धारामा पानी नचढ्ने समस्या रहेको बताए । ‘भुइँमै पानी जम्मा गरेर मोटरले पानी तान्नुपर्छ’ उनले भने, ‘अहिले झन् भुइँमै पानी आउँदैन । पानी ट्यांकरमा किन्नुपर्छ ।’


धारामा पानी नआएपछि गृहिणी, विद्यार्थी तथा कर्मचारीलाई बढी समस्या परेको छ । गृहिणी सिर्जना पियाले खानेपानी किनेर खान बाध्य भएको बताइन् । ‘धारामा पानी आउँदैन । कहिले बिहान र कहिले साँझ चुहिएको जसरी आउँछ । त्यही पनि धमिलो’ उनले भनिन् । घरघरमा वितरित पाइपमा पानी आउन छाडेपछि उपभोक्ता पुराना धारा, कुवा र पँधेरा खोज्दै हिँड्ने गरेका छन् । यही बेला पुराना धारा तथा पँधेरोमा पनि सुक्दै गएपछि समस्या झन थपिँदै गएको उपभोक्ता बताउँछन् । बेंसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख विष्णुबहादुर अधिकारीले ‘टाइमिङ’ मिलाएर खानेपानी वितरण गर्दै आएको बताए । ‘दिउँसो र राती रिजर्भ हुन्छ । साँझ–बिहान खानेपानी वितरण गर्दै आएका छौं,’ उनले भने, ‘खानेपानीको स्रोत छैन । अहिले भएको स्रोतबाट यति नै हो ।’ उनले मनाङेचौतारादेखि ओख्लेसम्म बिहान साढे ५ देखि ११ बजेसम्म र शेरातर्फ दिउँसो ३ बजेदेखि ८ बजेसम्म खानेपानी वितरण गर्दै आएको बताए । लभ्ले, महभीर, डुँढखोला, पुमाखोला, ठूलापँधेरोबाट जम्मा हुन सकेको पानीलाई ल्याएर वितरण गरिएको उनले बताए ।


खानेपानी उपभोक्ता समितिका अनुसार दैनिक करीब ३५ लाख लिटर खानेपानीको आवश्यक पर्ने भए पनि अहिले १६ लाख लिटर मात्रै आपूर्ति भइरहेको छ । उपभोक्ता घरसंख्या २ हजार ६ सय ५० छन् । औषतमा एउटा घरमा ४ जना छन् । भाडामा बस्ने, कर्मचारी लगायत गरी अनुमानित ४५ हजार बढी स्थानीयलाई खानेपानी पुर्‍याउनुपर्ने बाध्यता रहेको खानेपानी समितिले जनाएको छ ।


दमकलबाट पानी ल्याउँछन् प्रहरी

आगलागीजन्य घटनालाई तत्काल रोक्न प्रयोग गरिने दमकललाई प्रहरीले खानेपानी ओसार्न प्रयोग गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयमा खानेपानी नआएपछि दमकल प्रयोग गरिएको डीएसपी पदमबहादुर विष्टले बताए ।


दमकलमा ४ हजार लिटर पानी अट्छ । पानीलाई बेंसीसहर नजिकैका विभिन्न मूलमा गएर ल्याउने गरिएको उनले बताए । ‘पहिले ट्रकमा ड्रम राखेर पानी ओसारेका थियौं । त्यसले पुगेन । अनि दमकल प्रयोग गर्‍यौं’ उनले भने, ‘पानी फेरिरहने पनि हुने । मेसिन पनि सञ्चालन भइरहने । हामीलाई पानी पनि आपूर्ति भइरहने । त्यसैले दमकल प्रयोग गर्‍यौं ।’ प्रयोग नगर्दा पानी दमकलमै भइरहने र सकेपछि फेरि भरेर ल्याउने गरिएको उनले बताए । प्रहरी कार्यालयका करिब डेढ सय प्रहरीलाई दमकलबाट ल्याइएको पानीले २/३ दिन पुग्ने गरेको उनले बताए ।


खानेपानीको अर्को आयोजना

बेंसीसहरका उपभोक्ताको आवश्यकतालाई मध्यनजर राखेर नयाँ खानेपानी आयोजनाको निर्माण सुरु गरिएको बेंसीसहर, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए ।


बेंसीसहर नगरपालिका १०, भाचोक खोलामा बेंसीसहर सह–लगानी खानेपानी आयोजनाको निर्माणकार्य सुरु भएको उनले बताए । भाचोकखोलाबाट पानी ल्याउन २८ करोड ८३ लाख ५ हजार ३ सय २० रुपैयाँको योजना सुरु भएको हो । गत असार २० गते २ बर्षमा सक्ने गरी सम्झौता गरिएको उक्त आयोजनाको भौतिक संरचना निर्माण सुरु भएको छ । आगामी आर्थिक वर्षभित्र सक्नेगरी आयोजना सुरु गरिएको अध्यक्ष प्रधानले बताए । उनका अनुसार अहिलेको योजना १५ वर्षसम्मको लागि जनसंख्या वृद्धि दरको अनुपातले निर्माण गरिन लागेको हो ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?