४ हजार ८ सय विद्यार्थी दीक्षित
लेखनाथ — पोखरा विश्वविद्यालयको १५ औं दीक्षान्त समारोहमा मंगलबार ४ हजार ८ सय २६ विद्यार्थी दीक्षित भएका छन् ।
विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयबाट एमफिल, स्नातक र स्नातकोत्तर उत्तीर्ण हुने विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयमा सञ्चालित व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिकशास्त्र संकायमा उत्तीर्ण विद्यार्थी दीक्षित भए । वरिष्ठ साहित्यकार तथा प्राज्ञ वैरागी काइाला (तिलविक्रम नेम्बाङ) ले विद्यार्थीलाई दीक्षान्त प्रदान गरे । उनले भाषा, संस्कृति तथा जीवनशैलीका विविधतालाई पाठयक्रममा समावेश गरी विद्यमान अपरिचयको पर्खाल भत्काउने शिक्षामा जोड दिनुपर्ने बताए ।
दीक्षान्त समारोहमा स्नातकोत्तरमा सबैभन्दा उच्चतम अंक ल्याउने ४ विद्यार्थीले कुलपति पदक पाए । विज्ञान तथा प्रविधि संकायका हेमप्रभा रामप्रताप कर्ण र गणेश पौडेल, व्यवस्थापन संकायका समीप पाण्डे र स्वेता तिमिल्सिनाले सिजिपिए ४.०० ल्याएर कुलपति पदक पाएका हुन् । पाण्डे र तिमिल्सिनाले व्यवस्थापन संकायको व्यवसाय प्रशासनमा सबैभन्दा उच्च अंक ल्याएर लक्ष्मी विद्या पदकबाट समेत विभूषित भए । स्नातकतर्फ विज्ञान तथा प्रविधि संकायका निपेश श्रेष्ठले सबैभन्दा उच्च अंक ल्याएर उपकुलपति पदक पाए । विज्ञान तथा प्रविधि संकाय अन्तर्गत कम्युटर एप्लिकेसनमा उच्च अंक ल्याएर आयुष श्रेष्ठले ओसिम स्वर्णपदक प्राप्त गरे । विभिन्न संकायका ३ सय ४७ विद्यार्थी डिन लिस्टको उपाधिबाट सम्मानित भए ।
विश्वविद्यालयको हाल ४ आंगिक र ५८ सम्बन्धनप्राप्त महाविद्यालय छन् । आंगिक महाविद्यालयहरूमा स्नातक तहमा १०, स्नातकोत्तरमा ९ र विद्यावारिधमा २ गरि २१ कार्यक्रम सञ्चालनमा छन् । आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयमा ५२ कार्यक्रम सञ्चालन भइरहेको उपकुलपति चिरञ्जीवीप्रसाद शर्माले जनाए । उनका अनुसार चालु शैक्षिक सत्रमा आंगिकतर्फ २ हजार ८० र सम्बन्धनप्राप्ततर्फ २७ हजार ४ विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयमा हाल १ सय ३८ स्थायी शिक्षक र १ सय ४० प्रशासनिक कर्मचारी कार्यरत छन् । ०५४ मा स्थापित विश्वविद्यालयले यसअघिका १४ दीक्षान्त समारोहमा २७ हजार २ सय ३४ विद्यार्थी दीक्षित भइसकेका छन् ।
प्रकाशित : फाल्गुन ९, २०७४ ११:२३