१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुख्यमन्त्री र मन्त्रीहरू गेष्टहाउसमै 

लालप्रसाद शर्मा

पोखरा — पाँच दिन अघिमात्रै पद तथा गोपनीयताको शपथ खाएर कार्यभार सम्हालेका मुख्यमन्त्री पृथ्वीसुब्बा यतिबेला राष्ट्र बैंकको गेष्टहाउसमा बसिरहेका छन् । उनकालागि तय गरिएको पोखरा लेखनाथ महानगरको गेष्टहाउस तयार भइनसकेकाले अहिले ‘कामचलाउ’ हिसाबले राष्ट्र बैंक गेष्टहाउसमा राखिएको हो । 

मुख्यमन्त्री र मन्त्रीहरू गेष्टहाउसमै 

त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा पार्दीस्थित नेपाल प्रहरीको क्षेत्रीय सशस्त्र प्रहरी गणमा बसिरहेका छन् । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेत क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा बस्दै आएका छन् ।

मुख्यमन्त्रीलगायत मन्त्रीहरूको निवास पूर्णरूपमा तयार भइनसकेको भन्दै अस्थायी व्यवस्थापन गरिएको हो । अहिले मन्त्रीहरूको निवास धमाधम मर्मत र रंगरोगन भइरहेको छ । ‘मुख्यमन्त्री अहिलेसम्म राष्ट्र बैंकको गेष्टहाउसमा हुनुहुन्छ’ प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भने, ‘शुक्रबारसम्म आफ्नै निवासमा सार्ने तयारी हुँदैछ ।’ स्रोतहरूका अनुसार महानगरको उक्त गेष्टहाउसमा निकै खर्च गरी मर्मत र रंगरोगन गरिएको छ । राष्ट्र बैंकको गेष्टहाउसमा यसअघि पोखरा आउने ‘भीआईपी’ बस्ने गर्थे । उनीहरूको खर्च राष्ट्र बैंकले नै तिर्दै आएको थियो । अहिले पनि मुख्यमन्त्रीको खर्च राष्ट्र बैंकले नै तिर्ने स्रोतहरूले जनाएका छन । प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्यालले तत्काललाई अस्थायी हिसाबले मात्रै गेष्टहाउसमा राखिएको बताए । ‘खासै ठूलो खर्च छैन । भोलि राष्ट्र बैंकको नियमानुसार तिर्न पनि सकिन्छ’ उनले भने ।

क्षेत्रीय सिंचाइको क्वार्टरमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार बिकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको क्वार्टर तोकिएको छ । अहिले त्यहाँ मर्मत र रंगरोगनको काम चलिरहेको छ । बढीमा ५ दिनभित्र पूर्वाधारको काम सकेर थप ३ दिनमा फर्निसिङ र पार्केटिङलगायत आन्तरिक सजावटको काम सकेर मन्त्रीलाई राख्ने तयारी भइरहेको छ । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई हालको जिल्ला कृषि कार्यालयको क्वार्टर र सामाजिक बिकास मन्त्रीलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयको क्वार्टरमा राख्ने तयारी भएको छ ।

मन्त्रीद्वय चुमान र थापालाई क्षेत्रीय प्रहरी गणले नै खाना र बस्नको व्यवस्था गरेको छ । बस्नेतलाई भने क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रले नै व्यवस्थापन गरेको छ । ‘हाललाई अतिथि व्यवस्थापन अनुसार मन्त्रीलाई राखिएको छ’ एक सरकारी अधिकारीले भने, ‘केही दिनमै स्थायी व्यवस्था हुन्छ ।’ प्रमुख सचिव अर्यालले बजेट आइसकेकाले सबै मन्त्रीलाई स्थायी निवासको तयारी भइरहेको बताए । ‘अहिलेलाई बास बस्ने व्यवस्थामात्रै गरिएको हो’ उनले भने, ‘छिटै स्थायी व्यवस्थापन हुन्छ ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?