१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बजेट अभावमा प्रशासनिक र पुस्तकालय भवन अलपत्र

प्रताप रानामगर

दमौली — बजेट अभावमा तनहुँको भिमादस्थित जनज्योति क्याम्पसको प्रशासनिक र सहिद कल्याण खनाल स्मृति पुस्ताकलय भवन निर्माणको काम अलपत्र परेको छ । निर्माणमा अहिलेसम्म ४३ लाख ४१ हजार रुपैयाँ खर्च भइसकेको छ ।

बजेट अभावमा प्रशासनिक र पुस्तकालय भवन अलपत्र

तत्कालीन निर्वाचन क्षेत्र विकास कोष, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, संस्थागत कार्यालय, महायज्ञबाट संकलित रकमबाट उक्त भवन निर्माण सुरु गरेको तर अहिले बजेटको स्रोत नहुँदा निर्माण अलपत्र भएको क्याम्पसले जनाएको छ ।


‘चन्दा र संस्थागत कार्यालयबाट पुस्ताकलय भवन निर्माण गरेका छांै’, क्याम्पसका अध्यक्ष जितप्रकाश आलेले भने, ‘तर बजेट अभावमा भवन अधुरै छ ।’ तल्लो तल्लामा कोठासहित भवन निर्माण भएको छ भने मथिल्लो तल्लामा पिल्लर र ढलान मात्र गरिएको छ । अझै माथिल्लो तल्ला थप्न बाँकी नै रहेको उनले बताए । भिमाद नगरसभाले पारित गरेको १० लाख रुपैयाँको बजेटले थप भवनको निर्माण तयारी गरिरहेको छ ।


दुवै भवन सम्पन्न गर्न २ करोड रुपैयाँ बजेट लाग्ने अनुमान छ । यसले अझै डेढ करोड रुपैयाँ आवश्यक पर्छ । स्थानीय तह, प्रदेश तथा संघीय सरकार, दातृनिकाय, विश्वविद्यालय अनुदान आयोगसँग बजेट विनियोजन गरिदिन अध्यक्ष आलेले आग्रह गरे ।


उक्त भवन नहुँदा कम्प्युटर ल्याब, पत्रपत्रिकासहित पुस्ताकलय र लेखा शाखा एउटै कोठामा सञ्चालन गर्न बाध्य भएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताए । उनले भने, ‘नयाँ भवन बने व्यवस्थित हुने थियो । लेखा र पुस्तकलय एकै ठाउँमा हुँदा विद्यार्थीको अध्ययनमा समस्या देखिएको छ ।’ भवन समयमा निर्माण सम्पन्न भएमा पुस्ताकलयमा विज्ञान प्रविधि, नयाँ पाठ्यपुस्तकको राखेर अध्ययनलाई अझै सहज हुने विद्यार्थीको अपेक्षा छ । पुस्तकालय जस्तै प्रशासनमा उतिकै समस्या देखिएको छ । प्रशासन शाखा, क्याम्पस प्रमुख कक्ष, र बैठक कक्ष एउटै कोठामा सञ्चालन गरिएको छ । यसले प्रशासन शाखा व्यवस्थित हुन सकेको छैन ।


२०६४ सालमा स्थापति क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायमा स्नातक तहको पढाइ हुन्छ । क्याम्पस जिल्लाको दक्षिणी क्षेत्रमा एउटै हो । क्याम्पस सञ्चालन भएदेखि भिमाद, म्याग्दे, घिरिङ्ग, ऋषिङ्ग, स्याङ्जा, पाल्पा, नवलपरासीका विद्यार्थीले उच्च शिक्षा हासिल गर्न पाएका छन् । अहिले क्याम्पसमा ३ सय विद्यार्थी छन् । २०६६ सालमा महायज्ञको आयोजना गरी १ करोड ४३ लाख रुपैयाँ दान संकलन गरी क्याम्पस सञ्चालन हुँदै आएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७४ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?