कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पञ्चकोटमा १४ करोडका संरचना तयार

प्रकाश बराल

बागलुङ — धार्मिक पर्यटनको गन्तव्य बनाउने अभियान सुरु भएपछि सदरमुकामसँगैको पञ्चकोटमा १४ करोडका संरचना निर्माण भएका छन् ।

पञ्चकोटमा १४ करोडका संरचना तयार

हिन्दु र बौद्ध धर्मको प्रमुख गन्तव्य बनाउने गरी कोटहरू संरक्षण, आकर्षक धार्मिक मठमन्दिर निर्माण र गौशालामार्फत गाई संरक्षण अभियानसमेत बनाइएको छ । साथै संसारकै अग्लो कलश बनाउनका लागि प्रारम्भिक काम सुरु भइसकेपछि दाताबाट लगानी भित्रन थालेको छ ।


दुइ वर्षअघि बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माण गरेर पञ्चकोट धार्मिक गन्तव्य बनाउने बृहत् गुरुयोजना बनेको थियो । योजनाले वार्षिक १ लाखभन्दा बढी पर्यटक भित्राउने लक्ष्य लिएको छ । मुक्तिनाथ जाने सबै पर्यटकलाई जिल्लामा एक दिन राख्ने वातावरणका लागिसमेत यो अभियान थालिएको अभियानका सहअध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए । मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यको अगुवाइमा अभियान सुरु भएको हो । ‘भारतीय र नेपाली पर्यटकलाई एक दिन यहीं राख्ने योजनासहित पूर्वाधार निर्माण र प्रवद्र्धनका कार्यक्रम गरिरहेका छौं’ पञ्चकोट पर्यटन समितिका महासचिवसमेत रहेका श्रेष्ठले भने, ‘नेपालकै गतिलो गन्तव्यका लागि हामीले नमूना काम गर्न तम्सेका हौं ।’ १ हजार ५ सय मिटर उचाइको यो स्थानमा १ सय ८ फिट अग्लो तामाको कलश निर्माण हुने उनले बताए । उक्त कलश धौलागरिका अधिकांश स्थानबाट समेत देख्न सकिन्छ । यहाँको सबै पूर्वाधार निर्माणका लागि झन्डै २ अर्ब खर्च हुने अनुमान रहेको श्रेष्ठले बताए ।


निर्माणले पूर्णता पाउन अझै केही वर्ष लाग्ने समितिका प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्माले बताए । पूर्वाधार निर्माणकै क्रममा पनि वार्षिक १ लाख पर्यटक पञ्चकोट हेर्न आएको उनीहरूको अनुमान छ । जिल्लास्थित होटल व्यवसायी संघका अनुसार मुक्तिनाथ जाने पर्यटक बागलुङमा एक दिन बसेर कालिका र पञ्चकोट घुम्ने गरेका छन् । ‘कति पर्यटक यहाँ घुमेर मुक्तिनाथ जान्छन्, जहाजमा गएकाहरू पनि फर्केर बागलुङ घुम्न आउन थालेका छन्,’ होटल संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले भने, ‘कालीगण्डकी कोरिडोरको ट्रयाक खुलेकाले भारतबाट बस चढेर आउने पर्यटकलाई पनि यो मार्ग सहज बन्दैछ ।’ दुई महिनाअघिदेखि कोरिडोरको बाटो हुँदै सुनौली जाने बस चल्न थालेको छ ।

पर्यटक बढेकै कारण जिल्लामा होटल निर्माणमा लगानीसमेत बढेको उनले बताए । अहिले जिल्लामा साना–ठूला गरी २ सय होटलमा लगानी छ । तीमध्ये ठूलो लगानीका दर्जन होटल छन् । पञ्चकोट निर्माण अभियानकै क्रममा करोडौंको कोषसमेत जम्मा भएको छ । उक्त कोषले पहिलो चरणका काम भइरहेका हुन् । यहाँ कलशसँगै राखिने ५ हजार ५ सय ५५ केजीको घण्टा स्थापनाको तयारी भएको छ भने ठूलो हनुमानको मूर्ति स्थापना भइसकेको छ । दक्षिण भारतीय शैलीको सिसा महल, गण्डकी र विष्णु मन्दिर, गरुड शिलासमेत निर्माण भएका छन् । ३ सय ६५ तुलसीका मठ, एकसय ८ बरपीपलका चौतारी निर्माण, तीनवटा स्थानमा कम्तीमा एक सयका दरले ३ सय गाईपालन गर्ने गौशाला निर्माणजस्ता काम पनि सुरु गरिएको छ । अग्लो कलस निर्माण गर्ने स्थानको माटो परीक्षणको काम पनि भएको हो ।


उक्त स्थानमा पुग्न सदरमुकामदेखि झन्डै ५ किमि सडक पक्की बनेको छ । नगरपालिकाकाका लगानीमा बनेको उक्त सडकसँगै धर्मशाला, पाहुना घर, पक्की सिंढी मार्ग पनि बनेका छन् । २०७१ सालदेखि हरेक वर्ष फागुन पहिलो साता यहाँ धनधान्याञ्चल महायज्ञ पनि गरिँदै आइएको छ । ती यज्ञमा आएका भक्तजन र राष्ट्रिय तहका व्यक्तिले पनि आर्थिक तथा जिन्सी सहयोग गरेका छन् ।उक्त स्थानदेखि पश्चिममा रहेका पाँचवटा कोटको संरक्षण गरी पर्यटक नियमित जाने बनाउने, केबुलकार निर्माण गरी पाँचवटै स्थानमा पुग्न सकिने बनाइने योजना पनि छ । उक्त योजना अनुसारका काम भइरहेको श्रेष्ठले बताए । ‘धार्मिक आस्था हराएको र पुरातात्त्विक स्थानहरू लोप हुन लागेको समयमा यो अभियानले संरक्षण आन्दोलन पनि ल्याएको छ’ श्रेष्ठले भने, ‘करोडौं भारतीय पर्यटक घुमफिरमा निस्कन्छन्, त्यसको एक–दुई प्रतिशत हामीले भित्राउँदा पनि समृद्ध बन्न सक्छौं ।’ यहाँका कोटमा महालक्ष्मी, सम्यलक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी र मोक्षलक्ष्मी गरी पाँच महालक्ष्मीका मन्दिरसमेत बनाइनेछ ।


सुमार्गीको एक करोड उठेन

धनाढ्य अजयराज सुमार्गीले तीन वर्षअघि बोल कबोल गरेको एक करोड रुपैयाँ अहिलेसम्म दिएका छैनन् । पञ्चकोटमा आयोजित महायज्ञमा उनले रकम दिने घोषणा गरेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी ओलीसहित आएको कार्यक्रममा बोलेको रकम नपाएपछि योजना अनुसारको काम गर्न नसकिएको पञ्चकोट पर्यटन समितिका प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्माले बताए । ‘अहिलेसम्म बोलकबोल भएको १६ करोडमध्ये १४ करोड संकलन गरेर पूर्वाधार पनि बनाएका छौं, सुमार्गीको १ करोड आउन बाँकी छ’ शर्माले भने, ‘बाँकी एक करोड भने धेरै मानिसको थोरै–थोरै पैसा हो ।’ सम्पर्क गरेर रकम माग्दा आश्वासन मात्र दिएको उनले बताए ।


चौथोपटक महायज्ञ सुरु

पञ्चकोटमा नियमित गरिँदै आएको धनधान्याञ्चल महायज्ञअन्तर्गत बुधबारदेखि चौथो महायज्ञ सुरु भएको छ । धार्मिक गन्तव्यको रूपमा निरन्तर चिनाउने, आर्थिक संकलन गर्ने तथा पूर्वाधार निर्माणमार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको सन्देशका लागि महायज्ञ आयोजना गरिएको श्रेष्ठले बताए । ‘यहाँको विकास गुरुयोजना र उद्देश्यबारे राज्यले चासो राख्न सक्नुपर्छ,’ श्रेष्ठले भने, ‘विदेशी पर्यटक र भक्तजन आउने भएकाले सरकारी लगानी पनि भित्रन जरुरी छ ।’ यहाँ आयोजित महायज्ञमा प्रधानमन्त्रीदेखि सबै दलका प्रमुखहरू, मन्त्री, मुख्य सचिवलगायतले भ्रमण गरिसकेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?