१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सिलिगुडीमा ‘पानीघट्ट’को स्वागत

आश गुरुङ

सिलगुडी (भारत) — भारतको पश्चिम बंगाल राज्यको सिलगुडीमा सामाजिक नाटक ‘पानीघट्ट’ को टिमलाई स्वागत सम्मान गरिएको छ ।

सिलिगुडीमा ‘पानीघट्ट’को स्वागत

आगामी शुक्रबारदेखि आइतबारसम्म कोलकातामा हुने अन्तर्राष्ट्रिय नाटक उत्सवमा भाग लिन जाँदै गरेको टिमलाई सिलगुडीमा बसेर नेपाली साहित्यको वृद्धि विकासमा लागिपरेका साहित्यकार तथा समालोचकको समूहले बुधबार स्वागत सम्मान गरेको हो । नेपाली टोलीमा १८ जना छन् । २ दशकदेखि नेपाली साहित्यको उत्थानमा लागेका साहित्यकार विजय रुचाल, साहित्यकार तथा समालोचक सुकराज दियालीलगायतले टोलीलाई खादा र उपहारसहित स्वागतसम्मान गरेका थिए । रुचाल र दियाली नेपाल संस्कृति विश्वविद्यालयमा नेपाल साहित्यमा विद्यावारिधि शोधार्थी हुन् ।


नेपाली भाषाको अधिकार र मानकका लागि भारतीय भूमिमा बसेर नियमित लागिपरेका उनीहरूले ‘पानीघट्ट’ नाटकका लेखक/निर्देशक एवं आदि इत्यादिका अध्यक्ष पुरु लम्साल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अशोक थापा, संस्कृतिकर्मी जयराज तिमिल्सिना, नाटकका संयोजक एवं मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहोरा लगायतलाई स्वागतसम्मान गरेका थिए । नाटक फागुन १२ मा साँझ ६ बजे कोलकाताको वेष्ट रवीन्द्रनगरको दमदमस्थित नाट्ययुथ थिएटरमा मञ्चन हुनेछ । मञ्जरी नाट्य समूहले उक्त नाटक माघ १८, १९ र २० गते ३ दिन लगातार मञ्चन गरिएको थियो । उक्त नाटकलाई आदि इत्यादि र मञ्जरीको प्रस्तुतिमा कोलकतामा मञ्चन गर्ने चाँजोपाँजो त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. थापाले मिलाएका हुन् । पानीघट्टको कथालाई निर्देशक लम्सालले २०६४ सालमा लेखेका हुन् । गत वर्ष ‘फडके’ नामक नाटक मञ्चनपछि हौसिएका निर्देशक लम्सालले यस वर्ष ‘पानीघट्ट’ निर्माण गरेका हुन् । ‘यसको कथा, विषयवस्तु, स्क्रिप्टलाई मन पराएर कोलकाताको फेस्टिबलमा ‘पानीघट्ट’ लाई छनोट गरिएको हो,’ उनले भने । ‘पानीघट्ट’ र यसअघिको ‘फडके’ नाटकको संग्रहलाई पुस्तकका रूपमा निर्देशक तथा लेखक पुरु लम्सालले बजारमा समेत ल्याएका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?