कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

किसानलाई नगरपालिकाको ऋण

प्रतीक्षा काफ्ले

गल्याङ (स्याङ्जा) — गल्याङ नगरपालिकाले नगर क्षेत्रभित्रका दुग्ध किसानको लागि ५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउन थालेको छ । नगर कार्यपालिकाले दुग्ध कृषकहरूलाई आत्मबल बढाउने र जिल्लालाई नै दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यस्तो अभियान ल्याएको हो । अभियानबाट किसान लाभान्वित भएका छन ।

किसानलाई नगरपालिकाको ऋण

गल्याङ ३ का हिमलाल भण्डारी भन्छन्, ‘यो हाम्रो लागि ठूलो अवसर हो । आफूले लगानी गरेर व्यवसाय गर्न सकिँदैनथ्यो । घरमा एक–दुईवटा भैंसी पालेर निर्वाहमुखी बने पनि दूध बेच्ने इच्छा भने हराउँदै गएको थियो ।’ उनी ५ प्रतिशत ब्याजदरमा ऋण लिन पाउँदा निकै खुसी छन् ।


नगरपालिकाको सहकार्यमा साना किसान सहकारी संस्थाले ऋण लगानी गरेको हो । नगर प्रमुख भूपराज अधिकारीले करिब ३ सय दुग्ध किसानलाई अनुदान दिने लक्ष्य रहेको बताए । ‘अहिलेसम्म ३० किसानले ऋण लगेका छन्’ उनले भने, ‘अन्यले विस्तारै लैजान्छन् ।’ आगामी वर्षभित्र जिल्लालाई नै दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले काम गरेको उनको भनाइ छ । साना किसान सहकारीका पूर्वअध्यक्षसमेत रहेका उनले दोहोर्‍याए, ‘सहकारीले ९ प्रतिशतमा लगानी गर्दै आएकोमा अहिले नगरभित्रका किसानलाई ४ प्रतिशत छुट दिएको हो ।’ नगरपालिकाले गाई–भैंसीको बिमा नि:शुल्क गरिदिएको छ । अहिले गल्याङ नगरभित्र दैनिक ८ सय लिटर दूध संकलन हुन्छ ।

भण्डारीले पनि गल्याङ ७ पेलाकोटमा फर्म दर्ता गरी सञ्चालन गर्ने तयारीमा छन् । ‘पहिले व्यावसायिक रूपले अगाडि बढ्न सकिएन,’ उनले भने, ‘यति सस्तो ब्याजमा ऋण पाउनु भनेको व्यवसायमा हौसला थप्नु हो । निर्वाहमुखी कृषक पनि लगानीप्रति लोभिएका छन् ।’ नगरपालिकाले भैंसीको संख्या, जात र मूल्य हेरी लगानी गर्छ । किसानले टोलमा रहेको दूध संकलन केन्द्रमा माइन्युट उठाएर सोही माइन्युट लिई नगरपालिकामा बुझाएपछि ऋण लिने काम एकै दिनमा सकिनेछ । लामो समयदेखि भैंसी पालेर दूध बिक्री गर्दै आएका करादीका टीकाराम अधिकारी पनि नगरपालिकाले कृषकलाई सम्बोधन गर्नु खुसीको कुरा भएको बताउँछन् । ‘हामी खुसीले गदगद छाैं,’ उनले भने, ‘लामो वर्ष भैंसी पालेर दूध बेचियो तर अनुदान सहयोग भन्ने कुरा कहीं कतै पाइएको थिएन । भौगोलिक रूपले पनि पिछडिएका हामी राज्यको सेवासुविधामा समेत पिछडिएका थियौं । नगरपालिकाले एकदमै प्रशंसनीय काम गरेको छ ।’ ५ प्रतिशतमा बिनाधितो ऋण दिनु भनेको कृषकलाई लगानी गरिदिएको बताउँदै उनले भने, ‘समस्या नै पैसाको हो । अब ठूलो व्यवसाय गर्न सकिन्छ ।’ उनले तराईबाट थप भंैसी ल्याएर व्यवसायमा फडको मार्ने योजना सुनाए ।


उनी मात्र होइन दैनिक एक सय ३० लिटर दूध बेच्दै आएका पीताम्बर डुम्रेकोमा गाईभैंसी गरी ४० वटा छन् । दूध बेचेर नै राम्रो आम्दानी गरेका डुम्रेले ५ प्रतिशतमा ऋण पाउँदा गाईभैंसीको संख्या थप्ने बताए । गाईभंैसी खरिदमा पनि नगरपालिकाले नै समन्वय गरिदिन्छ । नगरपालिकाले आगामी वर्षभित्र एक हजार भंैसी भित्राउने लक्ष्य लिएको छ । जसमा आठदेखि १० हजार लिटरसम्म दैनिक दूध संकलन हुनेछ । ‘ठूलो मात्रामा दूध संकलन भएर जिल्लालाई आत्मनिर्भर बनाउन सकिन्छ’ नगर प्रमुख अधिकारी भन्छन्, ‘उत्पादित सबै दूध जिल्लाले मात्र थेग्न सक्दैन । अन्यत्र पनि पठाउन सकिन्छ ।’ उनले आगामी वर्षसम्म दूधबाट बन्ने विभिन्न परिकार (दही, पनिर, आइसक्रिम) हरू बनाएर बिक्री गर्ने लक्ष्य रहेको सुनाए । गल्याङ नगरलाई घाँस र भैंसीको पकेट क्षेत्र बनाउने योजनाले काम गरेको अधिकारी बताउँछन् ।

गल्याङमा दूध संकलन केन्द्र

यसैबीच गल्याङमा दूध संकलन केन्द्र सञ्चालनमा आएको छ । नगर कार्यपालिकाले नगरभित्रका किसानको दूध बिक्रीलाई सहज बनाउन केन्द्र स्थापना गरेको हो । गल्याङ नगरपालिका, तुल्सीभञ्ज्याङ साना किसान सहकारी संस्था र अन्य विभिन्न संघ–संस्थाको समन्वयमा संयुक्त रूपमा संकलन केन्द्र सञ्चालनमा ल्याइएको हो ।


‘गाउँबाट दूध बजार ल्याउनुपर्ने बाध्यता थियो’ पिँडीखोलाकी दीपा भण्डारी भन्छिन्, ‘बजारसम्म दूध ल्याउन सम्भव पनि थिएन । गाउँमै संकलन केन्द्र बन्ने भएपछि दूधले पहिलो पटक बजार पाउने भएको छ ।’ उनले अब दूध बिक्रीसँगै आम्दानीको पनि स्रोत बढ्ने बताइन् । पकवादीकी नथुदेवी खनाल अब दूधबाट नियमित आम्दानी हुने अवस्था आएको बताउँछिन् । उनीलगायत किसान दूध संकलन गर्न पाउँदा उत्साह थपिएको छ ।


नगर कार्यपालिकाले आर्थिक वर्ष २०७४/७५ को दुग्ध संकलन केन्द्र निर्माण शीर्षकमा ९० लाख रुपैयाँ छुट्याइएको थियो । नगरपालिकाको ९० लाख, तुल्सीभञ्ज्याङ साना किसान सहकारी संस्था र अन्य संघ–संस्थाको करिब ३० लाख लगानी गरी १ करोड २० लाखमा संकलन केन्द्र स्थापना भएको हो ।


नगरपालिकाले १३ सहायक केन्द्रका लागि नि:शुल्क मिल्क एनलाइजर (दूध मापक यन्त्र) वितरण गरेको छ । चित्डाँडा दूध उत्पादक सहकारी, गौमुख उत्पादक दूध उत्पादक सहकारी, कालीगण्डकी दूध संकलन केन्द्र, जनकल्यण दूध उत्पादक सहकारी, जनप्रिय दूध उत्पादक, साना किसान दूध उत्पादक सहकारी, आँधीखोला पुलचोक उपभोक्ता समिति, गह्रौंकालिका दूध उत्पादक, कालीगण्डकी दूध संकलक केन्द्र गल्याङ ११ तुल्सीभञ्ज्याङ, बज्रे दूध उत्पादक संस्थामा सहायक संकलन केन्द्रहरू स्थापना गरिएको अधिकारीले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?