२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

तराई र पहाडको होमस्टेबीच मितेरी

आश गुरुङ

लमजुङ — पहाड र मधेसका होमस्टे व्यवसायीले एक अर्काको प्रचार गर्ने गरी व्यवसायको मितेरी साइनो गाँसेका छन् । 

तराई र पहाडको होमस्टेबीच मितेरी

बेंसीसहर ३ गाउँसहरस्थित काउलेपानी होमस्टे र कावासोती नगरपालिका १५ बाघखोरस्थित अमलटारी मध्यवर्ती होमस्टेका व्यवसायीले मितेरी साइनो गाँसेका हुन् । काउलेपानी लमजुङमा पर्छ भने अमलटारी मध्यवर्ती नवलपुरमा पर्छ । ४ नम्बर प्रदेशको माथिल्लो पहाडी क्षेत्रमा पर्ने लमजुङको काउलेपानी र तल्लो क्षेत्र मधेसमा पर्ने नवलपुरको अमलटारी मध्यवर्ती होमस्टेले एक अर्काबीच मितेरी साइनो गाँसेको काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देउबहादुर गुरुङले बताए । उनका अनुसार दुवै होमस्टे र यसक्षेत्रको ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्ने हिसावले मितेरी साइनो गाँसिएको हो । राजा कालु शाह तथा यशोब्रम्ह शाहको इतिहाससँग जोडिएको काउलेपानी र चितवन राष्ट्रिय निकुञ्जको छेवैमा पर्ने अमलटारी मध्यवर्तीको आ–आफ्नै विशेषता छन् ।


अध्यक्ष गुरुङका अनुसार अध्ययन तथा अवलोकन भ्रमणका लागि अमलटारी बाघखोर पुगेका समितिका पदाधिकारी तथा होमस्टे सञ्चालक र अमलटारी मध्यवर्ती होमस्टेका पदाधिकारी तथा सञ्चालकबीचको होमस्टे केन्द्रित अन्तक्र्रियापछि मितेरी साइनो गाँसिएको हो । यी दुई ठाउँका होमस्टे सञ्चालकले आफ्ना गाउँका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक, सामाजिक तथा व्यावसायिक विशेषता, होमस्टे सञ्चालनको तौरतरिका र व्यावसायिक अनुभव आदानप्रदान गरेका थिए । काउलेपानी गुरुङ बाहुल्य ठाउँ हो । मगर, नेवार समुदायको पनि होमस्टे छ । अमलटारी मध्यवर्ती थारू बाहुल्य ठाउँ हो । यहाँ बोटे र मुसहर समुदायको पनि होमस्टे छ । ‘अमलटारी थारू गाउँको होमस्टेबारे धेरै चर्चा सुनेका थियौं । चर्चामा जे सुन्यौं, त्यही देख्यौं,’ भ्रमण सकेर फर्केका अध्यक्ष गुरुङले भने, ‘संरक्षित क्षेत्र भएकाले त्यहाँको प्रकृति, संस्कृति, परिकार, व्यवस्थापनले हामी मोहित भयौं र मितेरी साइनो गाँस्यौं ।’


मितेरी साइनो गाँसेसँगै अमलटारी मध्यवर्ती होमस्टेका सञ्चालकलाई काउलेपानीका होमस्टे सञ्चालकले भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेको छ । अमलटारीका तर्फबाट होमस्टे व्यवस्थापक धनीराम महतो र काउलेपानीका तर्फबाट होमस्टे अध्यक्ष देउबहादुर गुरुङले मितेरी साइनोलाई थप प्रभावकारी बनाउन एकअर्काको होमस्टेले पर्यटकलाई आकर्षित बनाउने तौरतरिका, विशेषता, सांस्कृतिक आदानप्रदान तथा व्यावसायिक अनुभव आदानप्रदान गरिरहने प्रतिबद्धता जनाएका छन् । दुई पर्यटकीय गाउँबीचको मितेरी सम्बन्धले होमस्टे र ग्रामीण पर्यटनको क्षेत्रमा सकरात्मक सन्देश जाने काउलेपानीकी होमस्टे सञ्चालक तिलमाया गुरुङले बताइन् । उनका अनुसार मितेरी सम्बन्धले व्यावसायिक अवस्थामा समेत सुधार हुनेछ ।


काउलेपानीमा पहाडको प्रकृति, गुरुङ, मगर तथा नेवार समुदायका सामाजिक तथा सांस्कृतिक विविधता र अमलटारी मध्यवर्ती होमस्टेमा समथर भौगोलिक भूभाग, थारू, बोटे, मुसहर समुदायको संस्कार संस्कृति, वेशभूषा, रहनसहनको छुट्टै स्वाद भेटिन्छन् । ‘दुवै गाउँको आ–आफ्नै विशेषता छन् । काउलेपानीमा पहाडको स्वाद छ । अमलटारीमा तराईको स्वाद छ,’ अमलटारी मध्यवर्तीका होमस्टे सञ्चालक धनीराम महतोले भने । एकपटक लमजुङको बेंसीसहर आएको भएपनि पहाडको होमस्टेको स्वाद चाख्न भने छुटेको उनले बताए । ‘आँखैअगाडि हिमाल देख्न पाउँदा निकै खुसी भएँ । अब छिट्टै पहाडको होमस्टे बुझ्न आउनेछु,’ उनले भने, ‘मेरो समूहलाई काउलेपानी लानेछु । सकिन्छ भने अरू होमस्टेमा पनि जानेछौं ।’ लमजुङको घलेगाउँको होमस्टे पनि निकै चर्चामा रहेको र आउन इच्छुक रहेको उनले बताए ।


कावासोती नगरपालिकाका उपप्रमुखसमेत रहेका मध्यवर्ती होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेमशंकर मर्दनीय थारूले होमस्टे कार्यक्रम र पर्यटनलाई पर्यावरण तथा वातावरणीय संरक्षणसँग जोडेर मध्यवर्ती क्षेत्रको आदिवासी जनजाति तथा अल्पसंख्यकको सामाजिक र आर्थिक विकासमा लागेको बताए । उक्त क्षेत्रका दुई सय बढी घरधुरीमा छनोट गरेर २५ घरमा होमस्टे सञ्चालन गरिएको उनले बताए । उनका अनुसार २०६९ जेठदेखि होमस्टे सुरु गरिएकोमा ५ वर्षको अवधिमा ४८ हजारभन्दा बढी पर्यटक आइसकेका छन् । थारु, बोटे र मुसहर समुदायको बसोबास रहेको अमलटारी बाघखोरका बासिन्दा राष्ट्रिय निकुञ्जको वन, वन्यजन्तु, जीवजन्तु र पर्यवरणको संरक्षण र पर्या–पर्यटनको विकासमा जुटेको उनले बताए । ‘गाउँमा होमस्टे सञ्चालन तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमकै कारण यहाँको कला, संस्कृति, रीतिरिवाज र संस्कारको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुगेको छ,’ उनले भने ।


व्यवस्थापक महतोका अनुसार गाउँमा पर्यटकलाई स्वागतपछि स्थानीय थारू, बोटे र मुसहर समुदायको संस्कृतिले स्थानीयलाई स्वागत गर्ने चलन छ । उक्त ठाउँमा केही दिन बसेर घुमफिर गर्ने चाहना बोकेर आएका पर्यटकलाई स्थानीय युवाले गाइड गरेर गाउँ, नजिकैका खोलानाला, चौर, वनजंगल, निकुञ्ज आसपास क्षेत्र र नारायणी नदी किनार घुमाइदिन्छन् ।


घुम्ने प्याकेजअन्तर्गत गाउँघुमाई, सामुदायिक वनमा हात्ती, जिप तथा जंगल सफारी, बयलगाढा सयर, बोटिङ, माछा पोखरीमा फिसिङ, जनावर तथा पशुपन्छी अवलोकन लगायत छन् । ‘हामीले पर्यटकको सुरक्षाका लागि रात्रिगस्ती गर्ने गरेका छौं,’ उनले भने । उनका अनुसार प्रत्येक घरमा चारजना पाहुना राख्ने गरी एट्याच बाथरुमसहितको कोठा छ । पर्यटकको रोजाइअनुसार हाँस र लोकल कुखुराको मासु, नारायणीको माछाको परिकार बनाएर खुवाइने गरिएको छ । खाजामा चिंचर वा ढिकरी रोटी खुवाउने गरिएको छ । अनादीको चामल भाँडोमा राखेर वा केराको पातमा पोको पारेर म:म: बनाएझैं स्टिम गरेर चिंचर बनाउने गरिन्छ । चामलको पीठोबाट ढिकरी रोटी तयार पारिने स्थानीय बताउँछन् ।


सन् २०११ देखि होमस्टे सुरु भएको काउलेपानीमा २५ घर छन् । १४ घरमा होमस्टे सञ्चालन गरिएको छ । बेंसीसहरदेखि करिब ७ किलोमिटरको उकालोमा पने काउलेपानीमा ६ वर्षको अवधिमा ६५ हजारन्दा बढी पर्यटक हामेस्टेमा आइसकेका छन् ।


लमजुङ दरबार, सँगैको गाउँसहर कालिका मन्दिर, काउलेपानी मन्दिरलगायत हेर्नलायक ठाउँ हुन् । भ्यूटावरबाट हिमाली दृश्य, वरपरका बस्ती राम्ररी नियाल्न सकिन्छ । घरआँगन र पाहुनाकोठाको दैनिक सरसफाइ, हरेक साता गाउँबस्ती, बाटोघाटोलगायतको सरसफाइ गर्ने गरिएका छन् । पर्यटकलाई लक्षित गरी पैदलमार्ग, पर्यटकको स्वागत सत्कार कक्ष, भ्यूटावर, वनभोजस्थल, काउलेपानी देवी मन्दिर जाने पुल, प्रतीक्षालय, सार्वजनिक शौचालय र पोखरीलगायतका संरचना निर्माण गरिएका छन् । जंगलमा मौसममा फुल्ने लालीगुराँस र प्याउलीफूल, काफल, चुत्रो, मौसमी जंगली फल, जंगली जनावर, चरा अवलोकन पाइन्छ ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?