जोखिम मोल्दै अझै तुइन

तनहुँका अझै तीन स्थानमा तुइन हटाउने योजना पुगेको छैन
प्रताप रानामगर

दमौली — ऋषिङ गाउँपालिका १ तल्लो सेताङकी ५० वर्षीया टीकामाया राना हप्ताको दुईपटक सदरमुकाम दमौली झर्छिन् । नझरे चुलो बल्दैन, झर्दा बाटो जहिल्यै तुइन यात्रा गरेर मात्रै आउजाउ गर्नुपर्छ ।

जोखिम मोल्दै अझै तुइन

उनी अदुवा, खुर्सानी, साग, तरुल, पिंडालु र बोडीजस्ता कृषिउपज लिएर बजार झर्ने गरेकी हुन् । ‘डोको बोक्नभन्दा गाह्रो काम तुइनले खोला पार गर्नु हो,’ उनी भन्छिन्, ‘घुमेर गयो भने ३/४ घण्टा लाग्छ । तुइनबाट पार नतरी सुख छैन ।’ दुलेपहरोस्थित सेतीनदीमा रहेको तुइन तान्न एकदम गाह्रो लाग्ने उनले बताइन् । ‘सामान राखेर तुइन तान्न कम्ती सास्ती छैन,’ उनले हातका ठेला देखाउँदै भनिन्, ‘पारि नतरेसम्म के हो कसो हुने हो भन्ने पनि डर भइरहन्छ ।’ तुइन तान्दातान्दै हात र जीउ दुख्ने गरेको उनले बताइन् ।


एक्लै तुइन तानेर वारिपारि गर्न गाह्रो भएकाले कृष्णमाया, कुलीमाया र सोममाया आले सधैं सँगै दमौली झर्छन् । ‘एक जनाले मात्र तुइन तान्न मुस्किल हुन्छ,’ कृष्णमाया भन्छिन्, ‘साथी भए भर हुन्छ ।’ सरकारले दुई वर्षअघि नै मुलुकलाई तुइनमुक्त गर्ने घोषणा गरेको थियो । तर, अझै यहाँ तुइनको विकल्पमा पुल बनाउने योजना पुगेको छैन ।


तुइन मर्मत र सामान फेर्नका लागि गाउँलेहरूले बर्सेनि चन्दा संकलन गर्छन् । १ सय ५० घरधुरीले आर्थिक अवस्थाअनुसार प्रतिपरिवार दुईदेखि तीन सयका दरले चन्दा संकलन गर्ने गरेका कुलीमायाले बताइन् । ‘तुइनको डोरी, घिर्नी, बक्स वर्ष–वर्षै फेर्नुपर्छ,’ उनले भनिन् । ऋषिङ १ का तल्लो सेताङ, भालबोन र बाँझा गाउँका बासिन्दाका लागि छिटो सदरमुकाम दमौली पुग्न सजिलो बाटो तुइन नै हो । गाउँलेले तुइन हटाएर झोलुंगे पुल निर्माण गरिदिन स्थानीय तहमा माग पनि गरेका छन् ।


दुलेपहरोमा जस्तै खहरे र साराङघाटमा पनि अझै खोला तर्न तुइन नै उपयोग भइरहेको छ । देवघाटका स्थानीय पनि ज्यान जोखिममा राखेर तुइनबाट नदी तर्न बाध्य छन् । यी दुवै स्थानमा भने तुइन हटाएर झोलुंगे पुल हाल्ने योजना भने अघि बढेको छ । खहरेमा करिब ७० लाख र साराङघाटमा ९० लाखको लागत रहनेगरी पुलको निर्माण कार्य अगाडि बढाइएको सबइन्जियिनर सुरेश अधिकारीले बताए । ‘धेरै ठाउँमा तुइन हटाएर झोलुंगे पुल हाल्ने योजना अघि बढाइएको छ,’ उनले भने, ‘खहरे र साराङघाटमा आउने असारसम्ममा तुइन हट्छ ।’ तनहुँका विमलनगर, सिमलताल, आबुखैरेनी, भीरकोटको बलीभञ्ज्याङमा झोलुंगे पुल निर्माण भएपछि त्यहाँका तुइन हटाइएको उनले बताए । ‘चार ठाउँका तुइन हटाइयो, अब तीन ठाउँका अझै बाँकी छन्,’ उनले भने, ‘पर्याप्त बजेटसहितको योजना आए भने बाँकी रहेका ठाउँमा पनि झोलुंगेपुल हालेर तुइन हटाउन सम्भव हुनेछ ।’

प्रकाशित : फाल्गुन १२, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?