बेलायतका नेपालीले दिए एम्बुलेन्स

कान्तिपुर संवाददाता

लमजुङ — बेलायतमा बसोबास गर्दै आएका इलमपोखरी, राइनास मोहोरियाकोट, गौंडालगायत क्षेत्रमा मूल घर रहेका प्रवासी नेपालीले गाउँमा एम्बुलेन्स सहयोग गरेका छन् । 

बेलायतका नेपालीले दिए एम्बुलेन्स

इलमपोखरी समाज युकेमा आबद्ध उनीहरूले संस्थाको अगुवाइमा रकम संकलन गरेर उनीहरूले एम्बुलेन्स खरिद गरेर गाउँलेलाई दिएका हुन् । बेलायती सेनाका सेवानिवृत्त, बहालवाला, रोजगारीको लागि बेलायत पुगेर स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका स्थानीयले सहयोग दिएका हुन् ।


राइनास नगरपालिका ९, मोहोरियाकोटको मोहोरियाकोट स्वास्थ्य चौकीको मातहातमा रहने गरी उनीहरूले एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेका छन् । एम्बुलेन्स संकलनको लागि उनीहरूले बेलायतमा कार्यक्रम गर्नुका साथै स्वस्फूर्त चन्दा सहयोग गरेका थिए । इमलपोखरी समाज यूकेले एम्बुलेन्स खरिदका लागि १० लाख ६७ हजार सहयोग गरेको थियो । राइनास–९ का वडाध्यक्ष देवबहादुर थापाले आफ्नो वडामा एम्बुलेन्स भित्र्याउने योजनालाई बेलायतवासी इमलपोखरी समाजले पूरा गरिदिएको बताए । ‘हामी आफैंले किन्न सक्ने अवस्था थिएन, हामी आभारी छौं,’ उनले भने । स्थानीय खड्गबहादुर गुरुङका अनुसार गाउँदेखि बजारसम्म ग्राभेल सडक बनेको छ । उक्त सडकमा सवारीसाधन राम्रोसँग गुड्छ । ‘हिजो बाटो थिएन । ट्रयाक खुल्दै अहिले ग्राभेल बाटो बनेको छ । अब बिरामीलाई सहर पुर्‍याउन सजिलो हुन्छ,’ उनले भने ।


एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष नन्दबहादुर गुरुङले एम्बुलेन्स चलाउन छुट्टै कार्यविधि बनाइने बताए । ‘एम्बुलेन्स आएको छ । हामीले सञ्चालनमा ल्याइसक्यौं । यसको व्यवस्थापनका लागि छुट्टै कार्यविधि, कार्ययोजना बनाइनेछ,’ उनले भने । इलमपोखरी समाजका तर्फबाट बिहीबार एम्बुलेन्स हस्तान्तरण भएको उनले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?