१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पहाडमा झोलुंगेपुल: कतै प्रयोगविहीन, कतै नभएर सास्ती

दिप्ती सिलवाल

पर्वत — सदरमुकाम कुश्मालाई ज्ञाँदी क्षेत्रसँग जोड्नेगरी ३ सय ४४ मिटर लामो आकाशे पुल बनेपछि मोदीवेणीका तीनवटा झोलुंगे पुलबाट सर्वसाधारण आउजाउ गर्न छाडेका छन् । 

पहाडमा झोलुंगेपुल: कतै प्रयोगविहीन, कतै नभएर सास्ती

कुश्मासहित फलेवास, जलजला, मोदी गाउँपालिकाका अधिकांश खोलाहरूका पुराना झोलुंगे पुल हिजोआज प्रयोगविहीन भएका छन् । कतिपय खोलाहरूमा भने पुलको अभावमा सर्वसाधारण जोखिम मोलेर वारिपारि गर्न बाध्य छन् ।


सदरमुकाम आउजाउ गर्नेलाई कटुवाचौपारीको डिलबाट चार मिनेट पुलको यात्रा गरेपछि सिधै सदरमुकाम आउन सकिने भएपछि डेढ घण्टा उकालो–ओरालो बाटो कसैले हिँड्नै परेन । ‘उकालो–ओरालो बाध्यता थियो,’ कटुवाका राजु विकले भने, ‘पुलले सिधै सदरमुकाम जोडेपछि उकालो–ओरालाको टन्टै हरायो । निकै सजिलो छ ।’ मोदीखोलामै कुश्मा र फलेवास जोड्न अघिल्लो वर्ष ३ सय ५७ मिटर लामो बडागाउँ–मुडिकुवा पुल बन्यो । त्यस्तै कालीगण्डकीमाथि ३ सय ४७ मिटर लामो कुश्मा–कैया पुल बन्यो । यी आकाशे पुलहरूका कारण मोदी र कालीगण्डकीका आधा दर्जन पुल प्रयोगविहीन बनेका छन् ।


सदरमुकाममा मात्रै नभएर जिल्लाका फलेवास, कुर्घा र रानीपानी लगायतमा अग्ला र लामा झोलुंगे तथा मोटरेबल पुल बनेपछि त्यहाँका दर्जनौं पुलहरू प्रयोगविहीन भएका छन् । कुश्मा–ज्ञादी झोलुंगे पुल बनेपछि झाप्रेबगरको पुरानो पुल प्रयोगमा आउन छाडेको स्थानीय विमल अधिकारीले बताए । उनका अनुसार सात वर्षसम्म पुल तर्नकै लागि पालो कुर्नुपर्नेमा हिजोआज झाप्रेबगरको पुल झाडीले ढाकिएको छ । ‘उतिबेला खच्चर र भरियाको भीडले पुल तर्न मुस्किल हुन्थ्यो,’ उनले भने, ‘अहिले झाडीले ढाकेर पुलमा जान डर लाग्छ ।’ वडागाउँ सिर्सुवा पुल बनेपछि मोदीवेनीका दुइवटा पुल पनि प्रयोगविहीन छन् । बडागाउँ कैया झोलुंगे पुल बनेपछि कालीगण्डकी माथिको बगरको पुल पनि प्रयोग हुन छाडेको छ । फलेवास कुर्घा पुल बनेपछि फलेवास ढिकको पुलमा पनि कोही पनि हिँड्दैनन् ।


जिल्लाका ग्रामीण भेगमा जोडिएका सडकमा मोटरेबल पुल बनेपछि स्थानीय खोलाहरूका अधिकांश पुराना झोलुंगे पुलहरू उपयोग हुन छाडेका छन् । जलजला, मोदी, महाशिला र पैयुँ गाउँपालिकाका खोलाहरूका झोलँुगे पुल उपयोग हुन छाडेका हुन् । पैयुँ ४ का हरिप्रसाद न्यौपानेका अनुसार पैयुँ र सेतीखोलाका धेरैजसो झोलुंगे पुलमा हिजोआज मान्छे हिँड्दैनन् । ‘पुराना बाटा घुमाउरा थिए,’ उनले भने, ‘अहिले सिधा बाटोमा गाडी पाइएपछि घुमेर किन हिँड्नु ?’ जलजलाको लुङीखोलामा पक्की मोटरेबल पुल बनेपछि नजिकैका दुईवटा भोलुंगेपुल प्रयोगविहीन बनेको स्थानीय टुंगनाथ आचार्यले बताए । कुश्मा ११ पकुवास्थित जरेखोलामा पक्की पुल बनेपछि दुई वर्षयता स्थानीय रतीखोला र जरेखोलाका पुल पनि उपयोग हुन छाडेका छन् ।


प्रयोगविहीन पुलहरू अन्यत्र स्थानान्तरण गर्न मिल्ने भए पनि त्यसतर्फ सम्बद्ध निकायले चासो दिएको छैन । सिंगल स्पानमा बनेका पुलका लट्ठा, फलेक र जाली अन्यत्र समस्या भएका खोलाहरूमा पुल बनाउन प्रयोग हुन सक्छन् । कुश्मा ९ र फलेवास ३ बीचको मल्याङीखोलामा मोटरेबल पुल बन्ने निश्चित भएपछि बगुवाको पुल सिमखेतमा सार्न स्थानीयले तत्कालिन जिविसलाई दबाब दिएका थिए । तर, जिविसबाट चासो नदिँदा उक्त पुल अहिले प्रयोगविहीन छ । ‘यता सिमखेतमा पुल नभएर सास्ती छ,’ फलेवास ३ का वडाध्यक्ष अर्जुनबहादुर कार्कीले भने, ‘बगुवाको पुल सार्न धेरै दबाब दियौं । कसैले चासो देखाएन ।’


कतै पुल नहुँदा सास्ती

आकाशे तथा पक्की मोटरेबल पुलले जिल्लाका दर्जनौं पुराना पुलको अस्तित्व सकिँदै जाँदा केही गाउँका सर्वसाधारण भने खोलामा पुल नभएकै कारण वारपार गर्न निकै सास्ती छ । पुस्तौंदेखि कुश्मा १० र फलेवास ३ सिमखेत जोड्ने पुल नहुँदा समस्या छ । वारी सिमखेत र पारी सिमखेतका करिब दुई सय परिवारलाई पुलकै कारण बर्खामा खोला वारपार गर्न समस्या छ । वर्षौंदेखि साँघुरो र जोखिमयुक्त साँघुबाटै स्थानीय आउजाउ गर्छन । स्कुले बालबालिका पनि यहीँबाट हातखुट्टा टेकेर विद्यालय पुग्ने गर्छन् । ‘यता नजिकमा विद्यालय छैन,’ सिमखेतकी शारदा अधिकारीले भनिन्,’ उता (खोलापारि) जान जोखिम छ । खोला बढ्दा स्कुल छोड्न र लिन जानुपर्छ ।’ कुश्मातर्फको सिमखेतका सय बढी परिवारका बालबालिकाले अध्ययन गर्ने विद्यालय फलेवास ३ स्थित चाउकाको जनसहयोगी मावि हो ।


जनसहयोगीमा आउँदा मल्याङीखोला बीचमा पर्ने भएकाले वर्षाका ७/८ महिना खोलापारीका विद्यार्थी आउन समस्या हुने विद्यालयका प्रधानाध्यापक गणेशबहादुर थापाले बताए । खोलाको दुवै किनारको बस्तीको खेतीपाती दुवैतर्फ छ । पुल नहुँदा खेतीपाती र मेलापात गर्नेहरूलाई निकै समस्या हुने गरेको स्थानीय हेमप्रसाद अधिकारीले बताए ।


खोलामा पुल नभएकै कारण पैयुँ गाउँपालिकाको भोर्लेका सर्वसाधारणलाई पनि समस्या छ । स्थानीय पैयुँ खोलामा पुल नहुँदा आसपासका करिब सय परिवारको दैनिकी निकै असहज भएको स्थानीय टोपप्रसाद बस्यालले बताए । ‘वर्षामा बाढी आउँदा मिलमा अन्न लैजान सकिन्न,’ बस्यालले भने, ‘खोलामा पुल हाल्न धेरैतिर करायौं । कतैबाट सुनुवाइ भएन ।’ नजिकैका मोटरेबल बाटामा पक्की पुल बनाउने बेला भएको सार्वजनिक सुनुवाइमा पनि जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूले पक्की पुल बनेपछि झोलुंगेपुल सार्ने आश्वसन दिएका थिए । तर, सार्वजनिक सुनुवाइमा भएका कुरा कागजमै सीमित भएको स्थानीयको गुनासो छ । जिल्ला समन्वय समितिका सभापति मनोहर बी.पौडेलका अनुसार झोलुंगेपुलको समस्या भएका स्थानहरूको पहिचान गरी समस्या समाधान गर्ने काम भइरहेको छ । ‘प्रयोगविहीन पुल सार्ने विषयमा ठोस निर्णय त भएको छैन,’ उनले भने, ‘समस्या भएका गाउँमा नयाँ बनाउने कि पुराना स्थानान्तरण गर्ने कार्यविधि बनाएर अघि बढ्छौं ।’

प्रकाशित : फाल्गुन १३, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?