कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भूकम्पपीडितको घर बन्यो 

कान्तिपुर संवाददाता

लमजुङ — भूकम्पले गोरखा जिल्ला सीमानाको कोल्कीका अधिकांश घर ढलेका थिए । नढलेका पनि चिराचिरा परेर बस्नै नमिल्ने भएका थिए । पुरानो ओतबाट विस्थापितहरू अब भने घर बनेपछि खुसी छन् । 

दूधपोखरी गाउँपालिका–५ मा पर्ने कोल्कीका स्थानीयले टौवा, पाल, त्रिपाल हुँदै टहरा बनाएर रातदिन कटाए । ‘कति रात सुतिएन । आफ्नै घरगाउँदेखि उराठ लाग्यो । रोएर, कराएर के नै हुन्थ्यो र,’ कोल्की तस्योकी खमाया गुरुङले भनिन्, ‘ती दिन सम्झिँदा अहिले पनि सिरिङ्ङ हुन्छ ।’ त्यतिबेला गाउँ देखेर दिक्क मान्ने उनी अहिले भने शान्तिसँग निदाउन पाएको बताउँछिन् । ‘घर भत्किएको ठाउँमा अहिले नयाँ घर बन्यो । ओत्ने ठाउँ पाइयो,’ उनले भनिन् । उनका अनुसार भूकम्पले क्षति पुर्‍याएका सबै घर अहिले एकै किसिमको बनेका छन् । ‘पहिलेका घर दुईतले ढुंगा र टीनले छाएका थिए । अहिले एकतले बनेको छ,’ उनले भनिन्, ‘अब भुइँचालो आउँदा पनि घर केही हुन्न भनेका छन् ।’ पतिसहित सात जनाको परिवार अहिले नयाँ घरमा बस्दै आएको उनले बताइन् ।


सुरुमा परालको टौवा, गोठ तथा पालमुनी बसेका भूकम्पपीडित विस्तारै त्रिपालमुनी आए । पछिल्लो समय उनीहरू अस्थायी टहरामा बस्न थाले । अस्थायी टहरामा बस्दाबस्दै उनीहरूले नयाँ घर निर्माण गरेका हुन् । स्थानीय दीर्घ गुरुङका अनुसार भूकम्पले पूरै घर भत्किएको ठाउँमा नयाँ घर निर्माण भएका छन् । भूकम्पले दुईतले घर ढलेकोमा अहिले उनको एकतले तीनकोठे बनाएको उनले बताए । ‘बनाउँदा साढे ३ लाख ऋण लाग्यो तर, घर भने ठडियो,’ उनले भने । तस्यो डाँडाटोलका क्षेत्रबहादुर गुरुङले घामपानी छेक्ने गरी घर बनाएको बताए । छोराबुहारी रोजगारीको सिलसिलामा भारतमा छन् ।


नातिनातिना हेरेर बसेका क्षेत्रबहादुर दम्पती नयाँ घरमा सरेका छन् । ‘दुई वर्ष त टहरामा बिताइयो । घामपानी र हावाहुरी हुँदा समस्या हुन्थ्यो,’ उनले भने, ‘अब भने त्यो समस्या छैन । ढुक्कले बस्न पाएका छौं ।’ स्थानीय धनबहादुर गुरुङका अनुसार साविक कोल्की गाविसको १ र २ नम्बर वडामा पर्ने तस्यो गाउँमा भूकम्पले भत्काएका घर पुनर्निर्माण भएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?