१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साढे ५ करोडको ठेक्का ९७ लाखमा दिने निर्णय बदर 

नारायण शर्मा

नवलपरासी — दुई वर्ष अघि साढे ५ करोडमा लगाएको केरुंगे खोलाको ठेक्का कावासोती नगरपालिकाले यस पटक मिलोमतोमा ९७ लाखमा दिन गरेको निर्णय स्थानीयको विरोधपछि रद्ध गरेको छ ।

साढे ५ करोडको ठेक्का ९७ लाखमा दिने निर्णय बदर 

अघिल्लो आर्थिक वर्ष ०७१/७२मा ५ करोड २९ लाख ९५ हजार ठेक्का लागेको खोला यसपटक मिलोमतोमा जम्मा ९६ लाख ८७ हजार ८ सयमा दिने तैयारी गरेर गत पुस ५ गते काठमाडौंबाट प्रकासन हुने र नवलपरासीमा नआउने एक पत्रिकामा सूचना निकालेको थियो । सूचनाका आधारमा ११ वटा फारम बिक्रि भएको थियो ।


टेण्डर हाल्ने दिनमा मिलोमतोमा एउटा मात्र फर्मले ९७ लाखमा खोला ठेक्का पाउन प्रकृया पुरा गरेर कागजात पेश गरेको थियो । तोकिएको मुल्य भन्दा २ हजार मात्र बढि मुल्य उल्लेख गरेर सकार्ने प्रयास भएको थियो ।


साढे ५ करोडमा दुइ वर्ष अघि नै ठेक्का गैसकेको खोलाको गिट्टी बालुवा, ढुंगा निकाल्ने ठेक्का दिने भएपछि नेपाली कांग्रेसबाट निर्वाचित ८ वटा वडाका अध्यक्षहरुले ठेक्का बदर गर्न माग गर्दै गत माघ ११ गते नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । उनिहरुले मिलोमतोमा साढे ४ करोड राजश्व हिनामिना गर्न खोजेका आरोप लगाउँदै ठेक्का बदर गर्न माग गरेका थिए । केहि वडाध्यक्ष स्थानीयको व्यापक विरोधपछि फागुन ३ गतेको कावासोती नगर कार्यपालिकाको बैठकले ९७ लाखमा दिन गरेको निर्णय बदर गरेर ठेक्का पुन: टेण्डरको आब्हान गरेको हो ।


नगरपालिकाले मंगलबार काठमाडौंबाट प्रकासन हुने एक दैनिक पत्रिका र बुधबार नवलपरासीबाटै प्रकासन हुने एक साप्ताहिक पत्रिकामा सूचना प्रकासन गरेर पुन: टेण्डर आह्वान गरेको छ । दुवै पत्रिकामा निकालिएको सूचनाको टेण्डरमा यसपटक पनि रकम भने ९७ लाख नै नघटाई भनेर किटान गरिएको छ ।


कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी रानाले वडा अध्यक्षहरुले व्यापक हंगामा गरेर विरोधका कारण यसअघिको टेण्डर रद्ध गरेर पुन: टेण्डर गरिएको बताइन् ।


यता कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद लम्सालले वडा अध्यक्षहरुको चाहाना र व्यापक जनचासोका कारण नगरकार्यपालिकाले रद्ध गर्ने निर्णय गरे अनुसार काम भएको बताए ।


अधिकृत लम्सालले भने, ‘व्यापक जनचासोको विषय भएको र समाजिक वैधताकालागि पनि पुन: टेण्डर आह्वान गरिएको छ ।’


उनले ठेक्का लगाउने क्षेत्र (भूभागको सिमाना) र दर–रेट राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले तोके अनुसार घटबढ गर्न नपाइने भएकाले त्यसै अनुसार गरिएको दाबी गरे । विकास समितिले तोकेको परिमाण र मुल्य अनुसार हुने भएकाले त्यहाँबाट आएको निर्देशन र पत्राचारका आधारमा गरेको सुनाए ।

बुधवार पुन: प्रकासित सुचनामा आगामि १५ दिनभित्र बोलपत्र पेश गर्न आह्वान गरिएको छ । पछिल्लोपटक प्रकासन गरिएको सूचनामा ठेक्कामा दिने खोलामा खोलाजन्य पदार्थ उठाउन मेशिन (जेसिबि वा डोजर) लगाउन पाउने वा नपाउने भन्ने खुलाइएको छैन । मेशिनले नदिजन्य पदार्थ छोटो समयमा धेरै परिणामा उठाउन सकिने र मान्छे आफैंले उठाउँदा थोरै परिणाम उठाउन सकिने हुन्छ । त्यसबारे टेण्डरमा केहि खुलाइएको छैन । त्यो सम्झौता गर्ने बेलाको विषय रहेको प्रमुख प्रशासकिय अधिकृतको भनाई छ ।

२ वर्षअघि यस्तो थियो

२०७१/७२ मा केरुंगे खोलाको ठेक्का स्मृति निमार्ण सेवा कम्पनिले ५ करोड २९ लाख ९५ हजार ठेक्का लिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा खोलाको ठेक्का नै लागेन आर्थिक वर्ष २०७३/७४ मा खोलालाई ५ खण्डमा विभाजन गरी ठेक्का लगाउन राष्ट्रपति चुरे संरक्षणले अनुमति दियो तर खोलाको जम्मा ३ खण्ड मात्रै ठेक्का लागेको थियो ।


पहिलो खण्ड अन्र्तगत ८९ लाख ७० हजारमा मध्यबिन्दु कन्सट्रक्सनले ठेक्का पाएको थियो । भने द्रोस्रो खण्ड अन्र्तगत १ करोड १८ लाख २५ हजार नवप्रतिभा कन्सट्रक्सनले ठेक्का पाएको थियो । अर्को खण्ड अन्र्तगत २९ लाख १० हजारमा अनिसा कन्सट्रक्सनले ठेक्का पाएको थियो ।


२० वर्ष पछि भएको स्थानीय तहको निवार्चन पछि आर्थिक वर्ष २०७४/७५ को लागी लगाउन थालिएको केरुंगे खोला ठेक्का जम्मा ९७ लाखको हाराहारीमा सदर गर्ने तयारीमा कावासोती नगरपालिका रहेको छ ।


ठेक्का आह्वाननमा न्युनतम भोलुम (परिमाण) २४ लाख २१ हजार ९ सय ५० घनफिट रहेको छ भने प्रतिघन फिट कर बाहेक ४ रुपौया दर रहेको छ । यसपटक न्युनतम मुल्य ९६ लाख ८७ हजार ८ सय रुपैयामा ठेक्का आह्वान गरिएको छ ।


प्रकाशित : फाल्गुन १६, २०७४ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?