कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भाडाका घरमा स्थानीय तहका कार्यालय

कान्तिपुर संवाददाता

पर्वत — स्थानीय तहको नयाँ व्यवस्था कार्यान्वयन भएदेखि नै कुश्मा नगरपालिकाको कार्यालय मासिक ३० हजार रुपैयाँ तिरेर भाडाको घरमा छ । जिल्लाका अरू स्थानीय तहमध्ये सम्पन्न मानिने कुश्माको पाँच वर्षसम्म कार्यालय भवन बन्न सकेको छैन । 

नगरपालिकाका ४, ५, ६, ७, ९ र ११ का वडा कार्यालय पनि भाडाका घरमै सञ्चालित छन् । साबिकका केही गाविसले हालका वडाको सेवा पुरानै कार्यालयबाट दिँदै आएको भए पनि नगरका आधाभन्दा बढी वडा कार्यालय भाडाका घरमै सञ्चालित छन् । वडा कार्यालयले मासिक साढे ७ देखि १० हजार रुपैयाँसम्म भाडा तिर्छन् ।


२०७३ फागुनदेखि कार्यान्वयनमा आएको फलेवास नगरपालिका पनि भाडामै छ । स्थानीय मोती सामुदायिक पुस्तकालयको तीनवटा साँघुरा कोठा भाडामा लिएर फलेवास नगरपालिकाको कार्यसम्पादन भइरहेको छ । पैयुँ र मोदी गाउँपालिका पनि भाडाको घरमै छन् । महाशिला, विहादी र जलजलाले साबिकका दुई–तीनकोठे गाविस भवनबाट गाउँपालिका अन्तर्गतका सबै विषयगत कार्यालयको कार्यसम्पादन गर्दै आएका छन्  ।स्थानीय तह कार्यान्वयनपछि साबिक सदरमुकामबाट हुने ३६ भन्दा बढी विषयगत कार्यालयका कार्यसम्पादन गाउँपालिका र नगरपालिकाबाटै गर्नुपर्ने व्यवस्था छ ।


फलेवास नगरपालिकाका विषयगत आधा दर्जनजति कार्यालयले कृषि र पशु सेवाकेन्द्रको भवनका कोठाबाट कार्यसम्पादन गरिरहेका छन् । कतिपय कार्यालयका कर्मचारीलाई बस्ने कुर्सीसमेतको व्यवस्थापन नहुँदा कार्यसम्पादनमा समस्या छ । ‘बस्ने कुर्सीसमेत छैन,’ महिला तथा बालबालिका संयोजक तारादेवी सुनुवारले भनिन्, ‘व्यवस्थित कार्यालयको कुरा छाडौं ।’ व्यवस्थित कोठाको अभावमा शिक्षा र प्राविधिकलगायतका कार्यालयको कार्यसम्पादनमा समस्या छ ।


नगरपालिका र विषयगत कार्यालय एकै ठाउँमा नहुँदा सेवाग्राहीलाई नगरपालिकाको काम लिएर जाँदा धेरैतिर डुल्नुपर्दा झन्झट हुने गरेको छ । ‘स्थानीय तह कार्यान्वयनमा आएपछि एकै ठाउँमा काम होला भन्ने थियो,’ रानीपानीका दिलीप पौडेलले भने, ‘अहिले झनै दु:ख भएको छ । पहिले एक ठाउँबाट हुने काम गर्न अहिले चार–पाँच ठाउँमा पुग्नुपर्छ ।’


नगरपालिका र गाउँपालिकका कार्यालयहरू निकै साँघुरा हुँदा सेवा दिन समस्या रहेको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर रिमालले बताए । ‘सेवाग्राही आउँदा लाइनमा बसेर आउजाउ गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कार्यकक्ष र बसोबासको निकै समस्या छ । सेवाग्राहीको भीड हुँदा काम गर्नै सकिन्न ।’


पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार गाउँपालिकाले मासिक ४० हजार रुपैयाँ भाडा दिने गरी नौकोठे भवन भाडामा लिएको छ । पैयुँका ३, ५ र ७ वडा कार्यालय पनि भाडाकै घरमा छन् । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलका अनुसार गाउँपालिकाको कार्यालय हाल २० हजार रुपैयाँ भाडा तिरेर ८ कोठे घरबाट सञ्चालित छ । ‘छिट्टै गाउँपालिकाको आफ्नै भवन बनाउने योजना बनाएकै हो,’ उनले भने, ‘जग्गाको व्यवस्था भइसक्यो । अब पास गर्न बाँकी छ ।’ गाउँपालिकालाई वडावासीले नि:शुल्क दिएको जग्गामा भवन बनाउन कार्यपालिकाको बैठकमा कुरा चलेको उनले बताए । मोदीका कृषि र भेटेरिनरीलगायत विषयगत कार्यालय अन्यत्रैबाट सञ्चालित छन् ।


बिहादीका प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्माका अनुसार गाउँपालिकाले ७ कोठे भवनको भाडा मासिक ३० हजार रुपैयाँ तिर्छ । बिहादी ३ को वडा कार्यालय पनि भाडामै छ । ‘विषयगत कार्यालयका लागि पर्याप्त छैन,’ उनले भने, ‘बल्लतल्ल गाउँपालिकाले कामकाज गरेको छ । एउटै कोठामा विभाजन गरेर ३ वटासम्म कार्यालय सञ्चालन गरिएका छन् ।’


साबिकका गाविस भवन जीर्ण हुँदै गएपछि ०२३ सालदेखि कार्यान्वयनमा आएका अधिकांश साबिकका गाविस कार्यालयमै हाल वडा कार्यालय सञ्चालित छन् । केही वडा कार्यालयका भवन साबिकका गाविस भवनबाटै सञ्चालित भए पनि अधिकांश वडाका आफ्नै कार्यालय छैनन् । साबिकका गाविस भवन जीर्ण भएका र केही भवन तत्कालीन माओवादी युद्धका क्रममा भत्किाइएपछि पुनर्निर्माण भएका छैनन् । ‘एउटा साँघुरो कोठाबाट वडाभरिका काम गर्नुपरेको छ, अहिले वडा भन्नु मात्र साबिकका गाविस नै वडा भएका छन्,’ फलेवास २ का वडाध्यक्ष गंगानारायण श्रेष्ठले भने, ‘कागजपत्र बाकसमा पोको पारिएको छ । खोज्दा भेटिँदैनन् । व्यवस्थित कार्यालय भए किन समस्या हुन्थ्यो र ?’ वडा कार्यालय व्यवस्थापनका लागि नगरपालिकामा पटक–पटक कुरा राख्दा कार्यालय सञ्चालन खर्चसमेत पर्याप्त नपाइएको गुनासो उनको छ । फलेवासबाहेक अन्य स्थानीय तहका वडाहरूको यो साझा समस्या हो ।


सहयोगको खोजीमा वडा कार्यालय

पर्वत– तत्काल भवन बनेर समस्या समाधान हुने नदेखिएपछि फलेवास ७ लिमिठानाले वडा कार्यालय निर्माणमा दाताको खोजीमा छ । साबिकको गाविस भवनमा बसेर सेवा प्रवाह गर्न समस्या भएपछि वडाध्यक्ष, वडा सचिव, वडा सदस्यलगायतले सहयोगिको खोजिमा जुटेका हुन् । ‘पहिलेको भन्दा हाल कामको चाप अत्यधिक छ,’ वडाध्यक्ष हरिराम रेग्मीले भने, ‘गाविस सचिव हुँदा एउटै कोठाबाट सम्पादन हुने काम हाल विभाजन भएको छ । चार–पाँच कोठा नभई पुग्दैन ।’ वडाध्यक्ष र वडा सचिव बस्ने छुट्टाछुट्टै कोठा, बैठककक्ष, वडा सदस्यहरूको छुट्टै कोठासमेत गरी कम्तीमा ५ कोठा आवश्यक पर्ने उनले बताए ।


साबिक गाविस भवनको एक तले साँघुरो घरमा बसेर कार्यसम्पादन गर्न समस्या भएपछि वडा कार्यालयले चालु वर्ष थप ३ कोठा बनाउने प्रस्ताव गरेको थियो । नगरपालिकाले साढे २ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । ३ कोठा बनाउन कम्तीमा १० लाख रुपैयाँ रकम आवश्यक पर्ने भएकाले बाँकी रकमका लागि दाताको खोजी गर्नुपरेको वडाध्यक्ष रेग्मीले बताए । ‘बाँकी अपुग रकमका लागि सहयोगदाताको खोजीमा छौं । केहीले वचन दिनुभएको छ । रकम सीधै दिने अहिलेसम्म भेटिएका छैनन्,’ उनले भने ।


नगरपालिकाको बजेटबाट भवनको केही काम सकेर बाँकी कामका लागि दाताको पर्खाइमा बस्नुपरेको वडा सचिव रामबहादुर परियारले बताए । ‘अध्यक्षज्यूले सहयोगी खोजिन्छ भनेपछि काम स्थगित गरेका छौं,’ परियारले भने, ‘समस्यामा परेका व्यक्ति भए सजिलै सहयोग जुट्थ्यो । सरकारी कार्यालय निर्माणमा हत्तपत्त सहयोग गर्ने व्यक्ति भेट्न मुस्किल छ ।’ भवनको बाँकी काम पूरा गर्न कम्तीमा ८ लाख रुपैयाँ आवश्यक पर्ने उनले बताए । विगतमा सचिव एक्लैले काम गर्दा एउटै कोठाबाट पनि काम गर्न सहज भएकोमा हाल जनप्रतिनिधि आएपछि भवन र कोठाको अभाव चुलिएको हो ।

प्रकाशित : फाल्गुन १८, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?