कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुरागाउँ तुर्लुङकोटमा होमस्टे

आश गुरुङ

लमजुङ — गुरुङ, घले, तामाङ, मगर गाउँपछि लमजुङको दुरा गाउँमा पनि होमस्टे सुरु भएको छ । सुन्दरबजारमा आयोजित आठौं सुन्दरबजार महोत्सवलाई अवसर बनाएर सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोट गाउँका दुरा समुदायले होमस्टे सञ्चालनमा ल्याएका हुन् । 

दुरागाउँ तुर्लुङकोटमा होमस्टे

महोत्सव सुरु भएयता तुर्लुङकोटमा दैनिक पर्यटक आउने गरेका छन् । सुरुमा ६ घरबाट होमस्टे सुरु गरिएको छ । केही दिनमै ४ वटामा थप गर्ने र पूर्वाधारका काम भइरहेको तुर्लुङकोट होमस्टे व्यवस्थापन समितिका सचिव कमला दुराले बताइन् । यो गाउँमा अधिकांश दुरा जातिको बसोबास रहेको छ । दुरा जाति नेपालको अल्पसंख्यक र लोपुन्मुख जातिभित्र पर्छ ।


होमस्टे सञ्चालनअघि सुन्दरबजार नगरपालिका, जनप्रतिनिधि, लमजुङ उद्योग वाणिज्य संघ, संघकै सुन्दरबजार इकाइ, व्यापारी–व्यवसायी र स्थानीयको अगुवाइमा तयारीबारे छलफल गरिएको संघका प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठले बताए । छलफलपछि तुर्लुङकोट होमस्टे व्यवस्थापन तथा पर्यटन विकास समिति गठन गरी सिजन दुरालाई संयोजकमा चयन गरिएको थियो । उनीहरूले स्वागत तथा अतिथि सत्कार, सांस्कृतिक र अनुगमन उपसमिति गठन गरेका छन् । होमस्टे अध्यक्ष दुराका अनुसार पर्यटकको स्वागत–सत्कार, गाउँमै अर्गानिक खाद्यको उत्पादन, आरामदायी कोठा, शौचालय, स्नानगृह तयार पारिएको छ । ‘तत्काल एकैरात २० पाहुनालाई राम्रोसँग राख्न सक्छौं । १० घरमै होमस्टे सञ्चालनपछि ३० देखि ४० जनासम्मलाई सुविधासहित बसाउन सक्छौं,’ उनले भने ।


गाउँमा आउने पाहुना तथा पर्यटकलाई दुरा जातिको रीति, संस्कृति अनुसार कन्याले दहीचामलको टीका, फूलमाला वा गाउँमै तयार पारिएको फूलको बुकी दिएर स्वागत गर्ने गरिएको स्वागत तथा अतिथि सत्कार उपसमितिकी संयोजक चीना दुराले बताइन् । ‘अहिले लालीगुराँस फुलेको छ । पाहुनालाई हामी फूलको थुंगा दिन्छौं । गाउँका जंगलमा बाह्रैमास कुनै न कुनै फूल फुलिरहेको हुन्छ । त्यसबाटै हामी पाहुनाको स्वागत गर्छौं,’ उनले भने ।


संस्कृति उपसमितिका संयोजक श्यामबहादुर दुराको अनुसार युवायुवती र प्रौढ महिला–पुरुष कलाकारले सोरठी, चुडा, घाँटु, ठाडोभाकालगायतका गीत र नृत्यले मनोरञ्जन गराउने गरिएको छ । अन्तिममा झ्याउरे तथा दोहोरी गीतमा रमाइलो गर्दै पाहुनालाई समेत सँगसँगै गाउने र नचाउने गरिएको छ ।


दुरा जातिको उद्गमस्थल मानिएको सिन्दुर तुर्लुङकोटमा सञ्चालन गरिएको होमस्टेले स्थानीयको ऐतिहासिक, सांस्कृतिक पक्ष पर्यटकका लागि विल्कुलै नयाँ स्वाद बन्न थालेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ४ का सदस्य रामकुमार श्रेष्ठले बताए । उनका अनुसार होमस्टेमा पर्यटकको गतिविधि बढदै जानुले स्थानीयको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य तथा रोजगारीको पाटो बलियो हुने र आत्मनिर्भर बन्ने उनले बताए । स्थानीय रामबहादुर दुराका अनुसार तुर्लुङकोटमै रहेको बाइसीचौबिसी राज्यकालका गढी तथा किल्ला, कालिका, भैरव, देवीस्थान मन्दिरका साथै शाहवंशीय राज्य प्रारम्भमा राजालाई सिन्दुरजात्रा गरिएको ऐतिहासिक स्थल सिन्दुरेढुंगाजस्ता ऐतिहासिक ठाउँ छन् । ‘ऐतिहासिक ठाउँको पर्यटकीय गतिविधिले यसको प्रचारप्रसार र महत्त्व बढदै जानेछ,’ उनले भने ।


लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइका अध्यक्ष सोमबहादुर न्यौपानेले ऐतिहासिक क्षेत्रलाई पर्यटनका माध्यमबाट जोडदै स्थानीय कला–संस्कृतिको संरक्षण र स्थानीयलाई आन्तनिर्भर बनाउन सुन्दरबजार महोत्सवको अवसर पारेर होमस्टे सञ्चालनमा ल्याउन मद्दत गरेको बताए । समुन्द्री सतहदेखि १ हजार ८ सय मिटरको तुर्लुङकोटमा ८४ घर दुराका छन् । कोटबाट पूर्व, उत्तर र पश्चिममा हिमश्रृंखला देखिन्छन् । उक्त ठाउँबाट लमजुङ, तनहुँ, कास्की, गोरखाका बस्तीसमेत नियाल्न सकिने स्थानीय बताउँछन् ।


तुर्लुङकोट ऐतिहासिक स्थल

प्राकृतिक तथा सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिएको तुर्लुङकोट ऐतिहासिक स्थल रहेको सुन्दरबजार नगरपालिका ११ का वडाध्यक्ष प्रेमबहादुर दुराले बताए ।


उनका अनुसार ऐतिहासिक स्थल बनाउन दुरा जातिको उत्तिकै भूमिका छ । चन्द्रेश्वर च्यानपाटास्थित खजे पार्कमा रहेको शिलालेखमा विसं १५५० असार १५ रविबार दशमी तिथि ५ घडी २५ पलको सिंह लगनमा खजे दुरा र उनका सहयोगीले जशमु शाहलाई गादी गराएको उल्लेख छ । ‘शाह वंशीय राज्यकालसँग दुरा जाति जोडिएको छ । आफ्नै भाषा, संस्कार–संस्कृति, वेशभूषा र परम्परा छ,’ उनले भने । उनका अनुसार बेंसीसहर–डुम्रे सडकको तनहुँ सीमा रहेको सुन्दरबजारबाट करिब १५ किलोमिटरको दूरीमा तुर्लुङकोट पर्छ । गाउँसम्मै ग्राभेल सडक भएकाले उक्त ठाउँ पुग्न गाह्रो छैन । सुन्दरबजारबाट सवा १ घण्टामा तुर्लुङकोट गाउँ पुग्न सकिन्छ ।

प्रकाशित : फाल्गुन १८, २०७४ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?