२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रदेश राजधानी जोड्ने वैकल्पिक सडक

पर्वतको फलेवास र बागलुङको जैमिनि नगरपालिकाले पोखरा–बागलुङ भूपि शेरचन राजमार्गको वैकल्पिक सडक निर्माण अघि बढाए
दिप्ती सिलवाल

पर्वत — पर्वत र बागलुङका दुई नगरपालिकाले प्रदेश राजधानी पोखरासँग सहज आउजाउका लागि वैकल्पिक सडक निर्माण योजना बनाएका छन् । पर्वतको फलेवास र बागलुङको जैमिनि नगरपालिकाले पोखरा–बागलुङ भूपि शेरचन राजमार्गको वैकल्पिक सडक निर्माण अघि बढाएका हुन् । 

प्रदेश राजधानी जोड्ने वैकल्पिक सडक

उक्त सडक बनेपछि स्थानीय तहलाई आत्मनिर्भर बनाउन र पोखरासम्मको घुमाउरो सडकको विकल्पको सडकले दुवै नगरपालिकाका मुख्य बस्ती जोड्नेछ । दुवै नगरपालिकाले आ–आफ्नो क्षेत्रभित्र योजना अघि बनाएका छन् ।


‘स्थानीय सरकारको स्रोतसाधनको प्रयोग गरेर आफ्नै लगानीमा प्रदेश राजधानी जोड्ने छरितो बाटो बनाउँदा चौतर्फी लाभ लिन सकिन्छ,’ फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले भने, ‘ट्रयाक खोल्ने काम थालिसक्यौं ।’ दुवै नगरको साझेदारीमा हाल सडक स्तरवृद्धि गर्ने क्रममा पर्वत खण्डमा पर्नेे देवीस्थान–खानीगाउँ–शंकरपोखरी–थापाठाना–कार्कीनेटा हँुदै स्याङ्जा जोड्ने काम सुरु भइसकेको छ । यो सडकलाई जुग्ले हुँदै नागडाँडा पुर्‍याएर पोखरा जोड्न लागिएको हो ।


‘केही पुरानै सडकलाई स्तरवृद्धि गरिन्छ,’ शर्माले भने, ‘आवश्यक परेका स्थानमा नयाँ ट्रयाक खुल्छ । एक वर्षभित्रै यो सडकलाई ‘अल वेदर रोड’ बनाउने योजना छ ।’ यो सडक बाहै्र महिना चल्दा बागलुङको जैमिनिदेखिका सर्वसाधारण र व्यापारिक चाप फलेवासमा बढ्ने र यसले फलेवासलाई छिट्टै सहरीकरणमा स्तरवृद्धि गर्ने नगरपालिकाको अपेक्षा छ । ‘यहाँका उत्पादन सीधै पोखरा र बाहिरका सीधै यहाँ भित्रिन्छन् । व्यावसायिक चाप बढेपछि बस्ती विस्तार हुन्छ,’ उनले भने ।


बागलुङको जैमिनि नगरपालिकाले पनि नगरको केन्द्र कुश्मिशेराबाट सडक स्तरोन्नति गर्ने कार्ययोजना तय गरेको छ । नगर प्रमुख इन्द्रराज पौडेलका अनुसार सडकका लागि बजेट विनियोजन भइसकेको छ । यो सडकलाई दुई जिल्लाका दक्षिणी क्षेत्रको आर्थिक समृद्धिसँग जोडेर हेरिएको छ । जैमिनि र फलेवासका बासिन्दा पोखरा पुग्नुपर्दा हाल कच्ची सडकबाट कुश्मा हुँदै जानुपर्ने बाध्यता हट्नेछ । नयाँ सडकको लम्बाइ ५७ किलोमिटर छ । जैमिनि–कुश्मा १४ किमि र कुश्मा–पोखरा ५८ किमि गरी ७२ किमिको यात्रा ५७ किमिमा छोट्टिने भएपछि यात्राको दूरी पनि घट्छ । फलेवास–पोखरा ५३ किमि हुने प्रमुख शर्माले बताए । ‘फलेवास–दोबिल्ला ११ र दोबिल्ला पोखरा ५४ गरी ६५ किमिको यात्रा अब ५३ किमिमै छोट्टिएपछि फलेवासवासी कुश्मा पुग्ने कष्ट गर्नुपरेन,’ उनले भने । यो सडकको ट्रयाक र स्तरवृद्धिका लागि फलेवासले यसै वर्ष ९० लाख रुपैयाँ बजेट विनियोजन गरी काम सुरु गरिसकेको छ ।


कुश्मा–पोखराको वैकल्पिक सडक हालसम्म छैन । सदरमुकामसम्म घुमेर जाँदा सर्वसाधारणलाई समय र आर्थिक भार बढी पर्ने गरेको छ । यो सडकले पर्यटकीय सहर पोखरा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई फलेवास र जैमिनिमा भित्र्याउन र स्थानीयलाई पोखरासम्म छरितो यात्रा गराउन सडक बढी प्रभावकारी हुने स्थानीयको अपेक्षा छ । ‘यो सडक खुले हामी छिट्टै आत्मनिर्भर हुन्छौं,’ फलेवास ४ का सुनील गौंडेलले भने, ‘सबै हिसाबले यो सडक बहुआयामिक हुने देखिन्छ । नगरपालिकाले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’


दुवै नगरपालिकाले सडकको न्यूनतम मापदण्ड पनि तोकिसकेका छन् । फलेवासका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाका अनुसार सडकको मापदण्ड २२ मिटर तोकिएको छ । ‘मुख्य सडक १६ मिटर र दायाँ–बायाँ ३/३ मिटर (सेटब्याक) रहनेछ,’ उनले भने, ‘डबल लेनको सडक भएपछि ५० वर्षसम्म कुनै समस्या आउँदैन ।’ सडकको स्तरवृद्धि र नयाँ ट्रयाक खोल्न उपभोक्ता समिति गठन गरी स्तरोन्नति गर्ने कार्य सुरु भइसकेको उनले बताए ।


जैमिनिघाटबाट सुरु भएको सडकले साबिकका एक दर्जन गाविसलाई समेट्छ । यसबाहेक स्याङ्जा र बागलुङका दुई स्थानीय तहलेसमेत लाभ लिनेछन् । सडक विस्तारपछि ग्राभेलिङ, दुवैतर्फ नाली र रिटेनिङ वाल लगायतका योजना रहेको नगरपालिकाले जनाएको छ ।


बागलुङको जैमिनि नगरपालिकासँगै पर्वतको फलेवास नगरपालिकाका बासिन्दालाई हाल पोखरा पुग्न ४ घण्टा लाग्छ । यो सडक बनेपछि २ घण्टामै पोखरा पुग्न सकिने सरोकारवालाको दाबी छ ।

प्रकाशित : फाल्गुन १८, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?