कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

भूकम्पले दिलायो गाउँमै रोजगारी

हातमा सीप भएपछि गाउँघरमै रोजगार
दक्ष कामदारलाई स्वदेशमै काम अनुसारको दाम 
आश गुरुङ

सुन्दरबजार (लमजुङ) — राजन तामाङ २२ वर्षको उमेरमै कामको खोजीमा लमजुङ आएका थिए । चालीस नाघेका उनले आधा उमेर यहीं बिताए । ज्याला मजदुरी गरी परिवार पाल्दै आएका उनले अर्को 
पेसा रोजेनन् । 

भूकम्पले दिलायो गाउँमै रोजगारी

पछिल्ला केही वर्षयता घर बनाउने काम नपाउँदा खाली पनि बसे । भूकम्पपछिको पुनर्निर्माणका कार्यक्रम सुरु भएसँगै उनले खाली बस्नु परेको छैन । घर बनाउने कामले उनलाई व्यस्त बनाएको छ । ‘जानैकै यही हो । यही सिकियो, यही जानियो,’ सुन्दरबजार नगरपालिका ६ ऐंसेलुचौरमा काम गरिरहेको भेटिएका उनले भने, ‘हाल घर बनाउने कामको धमाधम छ । धेरैले बोलाउँछन् ।’ घर बनाउन मजदुरी गर्दागर्दै उनले साना घर निर्माणको ठेक्का आफैं लिन थालेका छन् । ‘पहिले त आँट आउने थिएन । अहिले त सानोसानो घर बनाउने आँट पलाएको छ,’ उनले भने, ‘साथीभाइ सबै काम गर्ने भएपछि सजिलो भएको छ ।’

श्रीमती, तीन छोरा र एक छोरीका साथ सुन्दरबजार बस्दै आएका उनी महिनाको ३० हजारसम्म कमाउने गरेको बताउँछन् । ‘भूकम्पपछि घर बनाउने कामको चटारो बढदा हामीजस्ता गरेर खानेलाई काम मिलेको छ,’ उनले भने । हातमा सीप र जाँगर भएकालाई यतिबेला कामको कमी नभएको उनले बताए । भूकम्पपछि गाउँघरमै रोजगार मिलेको तामाङ जसरी नै खटिएका मकरबहादुर तामाङले बताउँछन् । ‘पहिले काम खोज्दैमा हैरानी थियो, नपाएर कुटोकोदालो लिएर खन्ने काममा पनि हिन्नियो,’ उनले भने, ‘सडकका नाला बनाउन पनि गइयो । अहिले घर बनाउने काम पाउन थालेपछि भ्याइनभ्याइ छ ।’ उनले मासिक २५ हजार रुपैयाँसम्म कमाउने गरेको बताए ।

ऐंसेलुचौरका ३३ वर्षीय कुमार विश्वकर्मा विदेश जाने सोंच बनाएका युवा हुन् । उनी पनि ज्याला मजदुरी गरी सुन्दरबजार क्षेत्रमा घर निर्माणका काममा खटिएका छन् । पुनर्निर्माणका कार्यक्रम सुरु भएसँगै उनले गाउँघरमै रोजगारी पाएका छन् । ‘हातमा सीप भएपछि गाउँघरमै रोजगार मिल्दो रहेछ, के विदेश जानु,’ उनले भने, ‘झन् अहिले नयाँ घर बनाउन थालेपछि कता पो दौडिने, कुन घर पो बनाउने जाने भएको छु ।’ उनले सुरुमा आफ्नै सुरले सिकेको कामले अहिले रोजगार मिलेको बताए । उनले कामका लागि सुन्दरबजारमात्रै नभएर बेंसीसहर, सोतीपसल, कुन्छा र दुईपीप्लेलगायतका ठाउँमा पुगेको बताए ।

ऐंसेलुचौरका रामचन्द्र बुढाप्रीथिले घर पुनर्निर्माणको काममा ढिलाइ भएको बताए । ‘भूकम्पको साढे २ वर्षसम्म सरकारले घर बनाउन पैसा दिएन । अहिले बल्ल दियो,’ उनले भने, ‘अहिले सबैका घर बनाउन थाले, कामदार खोज्दाखोज्दैमा हैरान छ ।’ उनले गाउँघरमा कामदारको अभावले बाहिरी जिल्लाबाट आएर घर निर्माण गर्दै आएकाको सम्पर्कमा पुगेको बताए ।


भूकम्पको तीन वर्ष पुग्नै लाग्दा लमजुङमा बल्ल पुनर्निर्माण कार्यले गति लिन थालेको छ । कतिपय ठाउँमा दक्ष कामदारको अभावमा घर बनाउने काम अझै सुरु हुन सकेको छैन । दक्षलाई स्वदेशमै काम अनुसारको दाम रहेको कामदार बताउँछन् । घर निर्माणको लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले गाउँगाउँमा भूकम्पप्रतिरोधी घर निर्माणका लागि सीप, तालिम तथा अभिमुखीकरण गराउँदै आएका छन् । भूकम्पीय आवास पुनर्निर्माण कार्यक्रमका फोकल पर्सन शिव रेग्मीका अनुसार हाल सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विभिन्न गाउँमा सिकर्मी, डकर्मी तालिम दिएका छन् । तालिमबाट सिकेको सीपलाई उपयोग गर्दै गाउँठाउँमै बसेर राम्रो आम्दानी गरिरहेका छन् । जिल्लामा पुनर्निर्माणले बल्ल गति लिन थालेको उनले बताए ।

उनका अनुसार जिल्लामा कामदारको खासै अभाव छैन । निर्माण सामाग्रीको अभाव पनि छैन । कतिपय कामदार पहिल्यैदेखि लमजुङमै बसेर काम गर्दै आएका छन् भने कतिपय तालिम दिएका नयाँ कामदार पनि खटिएका छन् । जिल्लामा कूल लाभग्राही संख्या १३ हजार ९ सय ५९ जना छन् । यीमध्ये १३ हजार १ सय ३९ जनाले अनुदान सम्झौता गरिसकेका छन् । अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ताको ५० हजार रुपैयाँ १२ हजार ९ सय १० जना पीडितले लगिसकेका छन् । २ सय ३४ जनाले दोस्रो किस्ता पाएका छन् ।

पुन:निर्माणको लागि सिफारिसमा नपरेको भन्दै ६ हजार ८ सय ५५ जनाले गुनासो फारम भरेका रेग्मीले बताए ।

प्रकाशित : फाल्गुन २२, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?